काठमाडौं । नेपाल पर्यटन बोर्डको बजेटमा मन्दिर बनाउने नाममा करोडौं रकम बजेट विनियोजन गरिएपछि बोर्ड सदस्यहरुमाथि प्रश्न उठाउन थालिएको छ । बजेट निर्माणका लागि गठन भएको समितिका संयोजक मदन आचार्यसहित अन्य बोर्ड सदस्यले आफ्नो गाउँका मन्दिरहरु बनाउनका लागिमात्रै करोडौं बजेट लगेको खबर छ ।
आचार्यबाहेक उपाध्यक्ष चन्द्र रिजाल र सदस्य कृष्ण शाहले आफ्नो गाउँमा मन्दिर बनाउने नाममा करिब २ करोड रुपैयाँ विनियोजन गराएका हुन् । नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा बजार खोज्नुपर्नेमा बोर्डको उद्देश्यविपरीत मन्दिर बनाउने बाटो बनाउने नाममा बजेट खर्च गर्न खोजिएको भन्दै बोर्डभित्र विरोध पनि भइरहेको खबर छ ।
पहिला पनि यसरी नै अनावश्यक क्षेत्रमा बजेट लैजान त्यसमा पनि पूर्वाधारको क्षेत्रमा जोड दिने र कमिशन खाने बोर्ड सदस्यहरुको रोग थियो । त्यही रोगलाई अहिले पनि निरन्तरता दिन खोजिएको भन्दै विरोध भएको स्रोत बताउछ । अध्ययन, अनुुसन्धान र पर्यटन प्रवद्र्धनका काममा जोड दिनुपर्ने बोर्डले आफ्नो उद्देश्यबाट च्यूत भएर पूर्वाधार बनाउन लाग्नु गम्भीर कमजोरी भएको बताइएको छ ।



