काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वागडोर कसको हातमा पुग्ला भन्ने अहिले निकै चर्चाको विषय भएको छ । सहकुलपति गिरिराजमणि पोखरेलको नेतृत्वको सिफारिश समितिले अहिलेसम्म नाम सिफारिश गर्ने भन्दा पनि समय गुजार्ने काम गरिरहेको छ । त्रिविको उपकुलपतिको कार्यकाल सकिएको एक महिना भन्दा बढी समय वित्दा पनि नाम सिफारिश गर्न सकेको छैन । विगतको इतिहास हेर्ने हो भने उपकलुपतिको पद यसरी रिक्त रहने गरेको थिएन । कार्यकाल सकिएलगत्तै नियुक्त हुन सक्ने अवस्था थियो । तर, अहिले रेक्टर सुधा त्रिपाठीलाई जिम्मा दिइएको छ । त्यसले गर्दा गिरिराजमणि पोखरेलको नियतमै प्रश्न उठेको प्राध्यापकहरूले चर्चा गर्दैछन् ।
शिक्षामन्त्रीको यो असफलतामाथि प्रश्न पनि उठेको छैन । वाम बुद्धिजीवीहरू पनि उपकुलपति नियुक्तिमा भएको ढिलाईप्रति मौन देखिएका छन् । अहिले उपकुलपतिका लागि दुईजनाको नाम निकै चर्चामा रहेको छ । दुई डाक्टरको यो भीडन्तमा कसले वाजी मार्ने भन्ने जिज्ञासा पनि उठेको छ । त्रिवि स्रोतका अनुसार, अहिले उपकुलपतिका लागि डाक्टर भगवान कोइराला र डाक्टर धर्मकान्त बास्कोटाको नाम चर्चामा रहेको छ । त्रिवि शिक्ष्ँण अस्पतालका यी दुई डाक्टरको नाममा प्रधानमन्त्री केपी ओलीकै चासो रहेको स्रोत बताउछ ।
नाक, कान, घाँटीका डाक्टर बास्कोटा प्रधानमन्त्री ओलीकै रुची र प्रयासमा नेपाल मेडिकल काउन्सिलको अध्यक्ष्ँमा नियुक्त भएका थिए । काउन्सिलबाट म्याद सकिएलगत्तै त्रिवि हान्निने योजनामा बास्कोटा देखिन्छ । बास्कोटाको इतिहासमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको ४ दिने डीन पनि जोडिन्छ । गोविन्द केसीको अनसनकै कारण बास्कोटालाई ४ दिनमै ३ बर्ष पहिला हटाइएको थियो । त्यसैको प्रतिफलमा काउन्सिलको अध्यक्ष्ँ पाएको बताइन्छ ।
अहिले झापाली सम्बन्धका कारण प्रधानमन्त्री ओलीको रुची बास्कोटामा देखिन थालेको त्रिविमा चर्चा छ । त्यसैमा डाक्टर अरुण सायमीको नाम पनि थपिएको छ । नेकपाका उच्च नेताहरूसँग निकै राम्रो सम्बन्ध भएका सायमी पनि त्रिवि शिक्ष्ँण अस्पतालका मुटु रोग विशेषज्ञ डाक्टर हुन् । त्यससँगै सायमी चिकित्साशास्त्र अध्ययन संस्थानको डीन पनि भइसकेका व्यक्ति हुन् । आश्चर्य चाहिं यी तीनैजना डाक्टर गोविन्द केसीका विपक्षी हुन् ।
तीनै जनाको नियुक्तिविरुद्ध केसी अनशन बसेको इतिहास छ । भगवान कोइरालालाई शिक्षण अस्पतालको कार्यकारी निर्देशकबाट राजीनामा दिन वाध्य पार्ने केसीको सन्दर्भमा कोइराला कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा केही बर्ष पहिला भनेका थिए–‘केसी र भिसीको चेपुवामा परेर छोड्नुपरेको थियो ।’
कोइरालाले ६ महिनामा शिक्षण अस्पताललाई नाफामा मात्रै लगेनन, शिक्ष्ँण अस्पतालाई विरामी संकलन केन्द्र बनाउनबाट रोकेका थिए । त्यही सुधारको काम सहन नसकेकोहरू अँन्दोलनमा आए र त्यसलाई केसीले समर्थन गरे । अहिले भगवान कोइरालाले खासमा रेक्टर र रजिस्टारसहितको टीम आपूmले सिफारिश गरेका व्यक्ति स्वीकार गर्ने हो भने उपकुलपति हुन सकिने सर्त राखेपछि बाक्कोटाको नाम बजारमा चर्चामा आएको हो ।
तर, अहिले बास्कोटा र कोइरालाको नामभन्दा बढी माफियाहरू त्रिविको उपकुलपति कसलाई बनाउने भन्ने लविङमा लागेको चर्चा छ । विभिन्न मेडिकल कलेज र अन्य कलेज सम्बन्धनको व्यापारसँग जोडिएका व्यक्तिहरू नै अहिले उपकुलपतिको लविङमा लागेका छन् ।



