बेलायतमा कति जना नेपाली पत्रकारहरू होलान् ? तपाईंको अनुमानले के भन्छ ?
यही मे १९ का दिन बेलायतबासी नेपाली पत्रकारहरूको चुनाव हुँदै छ र निर्वाचन समितिले ९७ जना पत्रकारको नामावली प्रकाशन गरेको छ । एक दर्जन जति अन्यले आफ्नो नाम नियतवश काटिएको भनेर रुष्ट छन् र नसच्याए चुनाव हुन नदिने भनेर गर्जिरहेका छन् । केही साँच्चिकै पत्रकारितामा निरन्तर छन् तिनले सदस्यताका निम्ति आवेदन नै दिएनछन् । अझ जनजाति पत्रकार भनेर बेग्लै सङ्गठन छ । बन्दा-बन्दै तुहिएका अन्य सङ्गठन पनि छन् । यसरी सय जनाभन्दा धेरै पत्रकार छन् र तीमध्ये म पनि एक हुँ ।
एक घर दुई नेता भएको बेलायतको नेपाली समाजमा एक घर एक पत्रकारको अवस्था विकास हुँदै छ । पचास जना बल्लबल्ल बोलाएर गरिने च्यारिटी डिनरमा सय जना पत्रकार निम्त्याउनुपरेपछि यहाँका आयोजकलाई पनि सजिलो त छैन । एउटै मिडिया हाउस या पत्रिकाको भए त ठीकै हुन्थ्यो, प्रतिनिधि बोलाए हुन्थ्यो । सबै सय जनाले नै आफूलाइ एकसेएक वरिष्ठ पत्रकार दाबी गरेको स्थिति छ । हामी सबैको आ-आफ्नै खतरा मिडिया छ । हामीले एकअर्कालाई गन्ने कुरो भएन । अब आयोजकले कसलाई बोलाउनु, कसलाई छुटाउनु ? पत्रकार नै नबोलाई च्यारिटी पनि कसरी गर्नु ?
आखिर नाम त सबैलाई प्यारै छ । पत्रकार भनेर, त्यत्रोविधि लडेर सदस्यता लिएपछि पैसो तिरेर कार्यक्रममा जाने कुरो पनि भएन । रमाइलो के छ भने पत्रकार जति भएपनि र जति बोलाइए पनि अन्तिममा समाचार लेख्ने एउटाले हो र अरूले साभार गर्ने हो । यसमा भने हामी सबै पत्रकारबीच मिलोमतो छ । आयोजकले पनि समाचार हेर्ने होइन, आफ्नो नाम हेर्ने हो । त्यसैले कपि-पेस्टमा जसले एकदुई नाम थप्छ त्यही सच्चा पत्रकार हुन्छ ।
अब यतिविधि पत्रकार भएपछि हाम्रा गतिविधि र नेपालविषयक खोजपूर्ण समाचारहरू बिबिसी, सिएनएन, आरटी, एएफ़पी, अलजजीरा, फक्स न्यूज, टाइम्स, गार्जियनजस्ता विश्वभरका मिडियामा जताततै आउँदा हुन् भनेर नझुक्किनुहोला ! अपवाद होलान्, तर हामी त देशभक्त हौं हेर्नुस् । जीना यहाँ..मरना यहाँ..भनेझैँ हामी त नेपालकै बारेमा नेपाली मिडियामैं लेख्छौं । पत्रकारमात्र होइन यहाँ सबै देशभक्त छन् । राजनीति गर्नेले काङ्ग्रेस-एमालेकै गर्छ, डायस्पोरिक साहित्य लेख्छु भन्नेले सगरमाथाकै कविता लेख्छ !
यति वरिष्ठ पत्रकार भएपछि चुनावमा नउठ्ने कुरो भएन ! चुनाव भनेपछि हेर्नुस्, नशानशामा रगत उम्लेर आउँछ। त्यसै-त्यसै रोमाञ्च हुन्छ क्या ! सायद मुटुमा आएर कोही बस्छ र हरेक धड्कनसँगै 'उठ् उठ्' भन्छ ! काम त अब पाँच वर्षमा सिङ्गापुर र दुई वर्षमा रेल भन्नेको समाचार लेख्ने हो, गर्नपर्ने केही होइन ।
भोट त दिमागमा जुन पार्टी र सिद्धान्तको डम्पिङ् छ त्यसै अनुरूप दिने हो। जहाँबाट मिल्दो गन्ध आउँछ त्यहीं ठोक्ने हो । अब उठेछु र जितेछु भने बधाई भन्न र हारेछु भने सहानुभूति प्रकट गर्न पाइन्छ, आउनुहोला !
– Narayan Gaunle



