काठमाडौं । २ वर्षदेखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्षदेखि बन्दी जीवन विताईरहेका छन् ।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख १९ गते बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसंग कुरा गर्ने बताएका छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको पनि बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्रीओलीले भने,–‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउ“छौं ।’
नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले वताएका छन् ।
‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अव हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहीं रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो,’ प्रधानमन्त्रीओलीले बताए ।
विदेशमा बन्दी जीवन विताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्रीओलीले प्रशंसासहित धन्यवाद दिएका छन् ।
‘हरेकलाई सुखमा होइन दुःखमा साथ चाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ,’–प्रधानमन्त्रीओलीले भने ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म७१ लाख रुपैयाँ संकलन भइसकेको वताए ।



