(०६४ सालको पहिलो संबिधान सभामा समानुपातिक प्रणालीबाट पहिलो पटक निर्वाचित उनी संसद प्रवेश गरेकी थिइन । २०७० सालमा भएको दोश्रो संविधान सभामा उनी महोत्तरी जिल्लाबाट प्रत्यक्ष रुपमा चुनाव जितेर पुन संबिधान सभा सदस्य हुन पुगिन । तर, २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी पराजित हुन पुगिन । २०७८ मंसिरमा सम्पन्न नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनमा यादव केन्द्रीय सदस्यको उम्मेदवार बने पनि चुनाव जित्न भने सकिनन् । महाधिवेशनमा पराजित भएपनि भर्खरै पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । मुलुकको समसामयिक राजनीति, नागरिकता विधेयक, आगामी निर्वाचनलगायत विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौलागाई र बोधराज पौडेलले यादवसँग गरेको कुराकानीको सम्पादित अंशः सम्पादक)
० तपाईं भर्खरै नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ, गत २०७८ मंसिरमा भएको १४ औं अधिवेशनमा पराजीत भएपनि तपाईलाई पार्टीले मनोनयन गर्नुको पछाडि कारण के हो नि ?
–म तेह्रौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिएँ । २०७८ मंसिरमा सम्पन्न १४ औँ केन्द्रीय महाधिवेशनमा म पराजय भएँ । भरखरै पार्टी सभापतिज्यूले मलाई मनोनयन गर्नुभएको छ । यसमा पार्टीले मेरो आवश्यकता महसुस गरेर नै मलाई मनोनयन गरेको होला भन्ने मलाई लागेको छ । म पार्र्टी नेतृत्व र विशेषगरी सभापति शेरबहादुरज्यूलाई यसका लागि धन्यवाद व्यक्त गर्दछु ।
० तपाईं पूर्व राष्ट्रपति डा.रामवरण यादवको भतिजी भएको कारणले मनोनयन गरिएको हल्ला बाहिर आएका छन, वास्तबिकता के हो ?
–मैले माथि नै भनि सकें म १३ औँ महाधिवेशनमा नै केन्द्रीय सदस्य थिएँ । अहिले भएको के हो भने पार्टीले भूगोल मिलाउँदा र कामको अनुभवको आधारमा मलाई चयन गरेको हो भन्ने मलाई लाग्छ । म प्रतिको पार्टीको विश्वास र मैले गरिरहेको योगदानको आधारमा मूल्याङ्कन गरेर जिम्मेवारी दिएको हो । पूर्व राष्ट्रपतिसँग यो कुराको कुनै सम्बन्ध छैन ।
० तपाईं दुई पटक सांसद भइसक्नु भएको छ, अनि निर्वाचित केन्द्रीय सदस्य भइसकेको व्यक्ति किन मनोनितमा लालसा राख्नु भएको त ?
–हो, मैले पहिलो र दोस्रो संविधान सभा सदस्यको रुपमा दुई कार्यकाल बिताएँ । पहिलो पटक म समानुपातिक कोटामा संबिधान सभामा पुगेकी थिएँ । दोस्रो पटक प्रत्यक्ष निर्वाचन जितेर संसद पुगेकी हुँ । मलाई केन्द्रीय सदस्य मनोनयनको कुनै लालसा छैन । २०७० को निर्वाचनमा धेरै जना समानुपातिकमा बस्दा म प्रत्यक्षमा लड्छु भनेर आँट गरेकी हुँ । पार्टीसँग मलाई टिकट दिनुहोस् भनेर नै म चुनावमा गएकी थिएँ । धेरै साथीहरु पहिला जस्तै दोहोरिएर समानुपातिकमा नै बस्नु भयो । ०७४ मा पनि म समानुपातिकमा नबसेर प्रत्यक्षमा गएँ । त्यो बेलाको माहोल हेरेर म समानुपातिकमा बस्न पनि सक्थेँ । तर, मैले त्यसो गरिन् । चुनावमा म पारजित भएँ । त्यो बेग्लै र स्वभाविक कुरा हो । यसले म मनोनयनको पक्षमा नरहेको देखाउँदैन र ?
० मधेशका अन्य राजनीतिक शक्तिकै कारण २०७४ को चुनाव हार्नु भयो, यसले मधेशमा नेपाली काँग्रेस कमजोर छ भन्ने कुरा देखायो होइन ?
–मधेश आन्दोलनको रापताप अहिले पनि देखिन्छ । २०७४ सालको आम निर्वाचनमा मधेशबादी दल, बामपन्थी पार्टी एकातिर र नेपाली काँग्रेस अर्कोतर्फ थियो । त्यसमा पनि काँग्रेसभित्र घात अन्तरघातको कुरा छँदै थियो । जसले टिकट पाउछ, अरु साथीहरु रिसाएर बस्ने र नसघाउने प्रवृत्ति छ । मुख्यतया चुनाव हार्नुको कारण यही हो । अब मधेशको शक्तिको कुरा गर्दा त्यहाँ एउटा लहर हुन्छ । लहरको फैलावटको नियन्त्रण निकै कठिन छ । मधेशको यो समस्या आजको होइन, धेरै पुरानो रोग हो । यो कहाँबाट र कसरी हुन्छ भन्ने कुरा भन्न कठिन छ ।
० सरकारले आगामी मंसिर ४ गतेका लागि आम निर्वाचन घोषणा गरेको छ, यो चुनावमा भाग लिने माहोल र तपाईंको आफ्नो तयारी के छ ?
–म यो चुनावमा भाग लिने तयारीमा छु । पार्टी पङ्तिमा पनि यो बारेमा मैले छलफल गरिरहेकी छु । नेतृत्वतहमा पनि यो विषयमा छलफल भएको छ । र, पार्टीले पनि मेरो कुरालाई सकारात्मक तरिकाले लिएको छ । प्रत्यक्षतर्फको चुनाव लड्ने महिलाहरुको संख्या कम पनि छ । चुनावमा भाग लिने मात्र होइन, जित्ने पर्ने दवाव पनि मलाई छ । अर्को कुरा मेरो हकमा परिस्थिति पनि त्यस्तै अनुकूल बनेको छ । विगतमा मैले सुरु गरेका कामबाट धेरै जनताले आशा र विश्वास गरेको देखिन्छ । व्यक्तिका समस्यादेखि अन्य आधारभूत विषयका कुरा छन् । महोत्तरी क्षेत्र नं २ का अहिलेको माननीयबाट त्यो परिपूर्ति हुन नसकेको गुनासो आइरहेका छन । यही कारणले मेरो पक्षमा माहोल बन्दै गएको छ । मेरो पक्षमा यसै राम्रो त छँदै छ, अर्कोतर्फ सत्तारुढ पाँचदलीय गठबन्धन भएका कारण पनि चुनाव जित्न थप बल पुग्ने भएको छ ।
० तपाईंसँग २०७४ को आम चुनावमा प्रतिस्पर्धी दल फेरि सरकारमा जाने र काँग्रेससँग गठबन्धन गर्ने कुरा बाहिर आएको छ, यसले तपाईंलाई चुनाव जित्न समस्या पार्दैन ?
–नेपाली काँग्रेसका नेताहरुसँग मैले यी सबै विषयमा छलफल गरेकी छु । शीर्ष नेताहरुले बर्तमान पाँचदलीय गठबन्धन सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी आउन सक्ने संभावना छ भन्नु भएको छ । मैले के भनेकी छु भने गठबन्धन बलियो बनाउन ल्याउनु ठिक छ तर, पकड भएको क्षेत्र र उदाउँदो नेतृत्वमा आउन सक्ने व्यक्तिको ख्याल गरेर गठबन्धन गर्नुपर्छ । मैले यी मान्यतालाई प्रष्ट रुपमा राखिसकेको अवस्था छ । पार्टीले पनि यी कुरालाई मनन गरेको छ । यसको अर्को आधार के हो भने पार्टीभित्र ३३ प्रतिशत महिला भएको प्रमाण निर्वाचन आयोगमा पेश गर्नुपर्छ । समानुपातिकले मात्र त्यो कोटा पूरा हुन सक्दैन । त्यसका लागि पत्यक्ष निर्वाचनमा जानु आवश्यक छ । यो बारेमा पार्टीले बुझेको छ भन्ने मलाई लाग्दछ ।
० तपाईंले आफूबाहेक महोत्तरी क्षेत्र नं २ बाट वर्तमान सांसद शरतसिंह भण्डारीसँग अरुले प्रतिस्पर्धा गर्न सक्दैनन् र ? तपाई नै नभइ नहुने कारण के हो, चुनाव जित्ने आधारहरु के छन् ?
–यो क्षेत्रमा म नै आवश्यक हुन्छ भन्ने मेरो दावी पटक्कै होइन । महोत्तरीको २ नम्वर निर्वाचन क्षेत्रमा काँग्रेस बलियो छ । आगामी निर्वाचनमा सरकारमा रहेका पाँच दल पनि गठबन्धनकै पक्षमा छन । अर्को कुरा मेरो निर्वाचन क्षेत्रमा धेरै समय नेपाली काँग्रेसले नै जित हासिल गर्दै आएको क्षेत्र पनि हो । यहाँ संगठन पनि राम्रो छ । नेपाली काँग्रेस आफै भित्र अन्तरघात नहुने हो भने हामीलाई कसैले हराउन सक्दैन । यो क्षेत्रमा पार्टीमा धेरै योगदान गरेको र जनताले चिनेको उपयुक्त उमेद्वार म नै हो ।
० तपाईंले महोत्तरीबासी जनतालाई राहत हुने के त्यस्तो कस्ता काम गर्नु भयो र उनीहरुले तपाईको आवश्यकता छ भन्ने महसुस गरका हुन ?
–म दुई पटक संविधान सभाको सदस्य हुँदा विकास निर्माण र जनताको आवश्यकताको पहिचानका काम गरेँ । मैले जुन प्रकारले टोल, वस्तीसम्म पुगेर साधारण कुलो, पैनी, नहरदेखि आश्रमसम्मको अवधारणा बनाएर काम गरें, त्यसले जनतामा एक प्रकारको आशा जगाएको छ । सडक र अन्य पूर्वाधारमा काममा आवश्यकताको आधारमा काम गरेकी छु । त्यसमा सिंचाइको अलवा अन्य विकासका योजनाले गति पाएका छन । यही कारण हो त्यहाँका नेपाली काँग्रेसका मात्र होइन, आम जनताले केही समस्या प¥यो भने मलार्ई फोन गर्छन् । उनीहरुले मलाई विकासको सहयोगी ठानेका छन् । हो, गत निर्वाचनमा मैले हार्दा म भन्दा बढी यो क्षेत्रका मतदाता जनता चिन्तित छन् ।
० वर्तमान गठबन्धन सरकारले गरेको काम कारवाहीप्रति जनताले थोरै पनि राहत महसुस गर्न सकेका छैनन्, जसका कारण नेपाली काँग्रेस पार्टी नेतृत्वको सरकार बदनाम हुन पुगेको छ । यो विषयलाई तपाईले चाहिं कसरी हेर्नु भएको छ नि ?
–यो एक क्षेत्र वा पार्टीको कुरा नभएर समग्र देशको कुरा हो । यो सरकार बनेको परिस्थितिलाई हेर्ने हो भने काम गर्न नसक्नुको कारण प्रस्ट हुन्छ । यो सरकार विशेष समय र परिस्थितिमा बनेको हुनाले आशातित काम गर्न नसकेको सत्य हो । तर, त्यो समयको संंविधान सभाको विघटन र पुनर्गठन भएको अवस्था र नेकपा एमाले बाहिरएको सबै अवस्थाको विश्लेषण गर्र्ने हो भने यसको संकटको रहस्य खुल्छ । त्यो संकटको समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सबैले अनुरोध गरेका कारण यो सरकार बनेको हो । यो सरकारले अरु काम गर्न नसके पनि स्थानीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको छ । आगामी मंसिरमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको तयारी अगाडि बढाएको छ । चुनाव सम्पन्न भएपछि देशले एउटा गति पक्कै पनि लिनेछ ।
विगतका भएका कमिकमजोरीलाई मिलाउने काम यो सरकारले नै ग¥यो । यो सरकारको सवल पक्ष के हो भने राम्रो गर्न नसके पनि यो सरकारले नराम्रो पनि केही गरेको छैन भन्ने पक्षमा म ढुक्क छु । अगाडिको सरकारले बिगारेका धेरै काम सुधार गर्ने पक्षमा यो सरकार लागेको छ ।
० नागरिकता विधेयकका बारेमा विभिन्न किसिमका टिक्काटिप्पणीहरु भइरहेका छन । तपाईं मधेश प्रदेशको प्रतिनिधित्व पनि गर्नुहुन्छ । यो विधेयकका बारेमा केही कुरा बताईदिनुहोस् त ?
–मैले धेरै समय अगाडिदेखि यो कुरालाई उठाउँदै आइरहेकी छु । अहिलेको नागरिकता विधेयक व्यापक छलफल भएर नै आएको हो । तत्कालीन सरकारले ल्याएको पनि यही विधेयक हो । फरक के हो भने त्यो बेला अध्यादेशमार्फत पेश गर्न खोजिएको थियो । अहिले विधेयकमार्फत भयो । फरक यति हो । यो विधेयकमा बैवाहिक अंगिकृतको समस्या औँल्याइएको छ । यसमा के विकृति छ भन्ने कुरा मैले चाहिँ बुझ्न सकेको छैन । नागरिकताको कुरा सिधा तराइसँग ठोकिन्छ । र, राष्ट्रियतासँग जोडिन्छ ।
कुनै महिलाले बाहिरी मुलुकबाट यहाँ बिबाह गरेर आएपछि त्यहाँको नागरिकता त्यागेपछि नेपाली नागरिकता पाउनुपर्छ भन्ने मेरो राय छ । नागरिकताको विषयमा अपवाद बाहेक सबैको बैबाहिक अंगिकृतलाई पहिलाकै तरिकाले दिनुपर्छ भन्ने हो । बिबाह गरेर आएपछि त्यो महिला हाम्रो परिवारको सदस्य र बच्चाको आमा पक्कै हुनेछिन । यसो हुनाले ऊ माथि अविश्वास गर्नुपर्ने आवश्यकता रहँदैन र यो न्यायसंगत हुँदैन ।
० तपाईंको बिचारमा संसदको दुवै सदनले पास गरेको विधेयक महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता पठाउनु भयो, यो सही थिएन भन्ने हो ?
–होइन, संवैधानिक संस्थालाई केही कुरा सुधार गर्नुपर्ने छ भन्ने लाग्यो । यो स्वभाविक र प्रकृयागत काम हो । यसलाई गलत भन्न मिल्दैन । यो संवैधानिक निकायको अधिकार क्षेत्रभित्रको कुरा हो । अब फिर्ता आएपछि त्यो सदन र सरकारको कुरा भयो । यसमा सुधार गर्न खोज्नु दलहरुको जिम्मेवारीको कुरा हो । अब यो जस्ताको तस्तै सदनबाट पास भयो भने पनि विमति राख्नुपर्ने ठाउँ मेरो तर्फबाट देख्दिन । सायद प्रतिनिधि सभाले यही आधारमा पास गरेको हुनुपर्छ । अब राष्ट्रिय सभामा बाँकी छ । उसले के गर्छ त्यो हेर्न‘ र पर्खिनुपर्छ ।
० यदि राष्ट्रिय सभाले संशोधन नगरी पास गरेर पठायो भने राष्ट्रपतिले स्वीकृत गर्ने कि नगर्ने त ?
–मेरो विचारमा राष्ट्रपतिले स्वीकृत गर्नुहुन्छ । यो मैले किन भनेको भने यो देशको आवश्यकताको कुरा हो । यसमा राष्ट्रपतिले स्वीकृत गर्दा नै राम्रो हुन्छ भन्ने मलाई लागेको छ ।
० राष्ट्रपतिले बिधेयकमा औँल्याएका विषयलाई संसदले बहुमतको आधारमा त्यसलाई बेवास्ता गरेको हो कि बल मिचाइँ हो, यस बारेमा तपाईको धारणा के छ ?
–अब यो सरकारको विषय भयो । सरकारलाई परिमार्जन गर्न आवश्यक छ भन्ने नलागेर नै होला फेरि प्रतिनिधि सभाबाट जस्ताको तस्तै पास गरेको । कुरा के हो भने उसैले जन्माएको बच्चा नागरिक भएर नागरिकता पाए तर जो बच्चा जन्माउने आमा हो ऊ अनागरिक भएको अवस्था छ । यो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बाटो यो विधेयकले खोलेको मात्र हो । यसलाई बेवास्ता वा बल मिचाइँ भन्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।
० यसले राष्ट्रपति र सरकारबीच द्वन्द्व बढाउने संंकेत देखायो नि हैन र ?
–अहिले यो विषयमा शंका नगरौँ भन्ने मेरो आग्रह छ । हाम्रो संवैधानिक प्रकृया अनुसार यो अगाडि बढ्छ भन्ने कुरामा हामीले विश्वास राख्नुपर्छ ।
० नागरिकतामा विधेयकप्रति संसदमा प्रतिपक्ष दलको भूमिकामा रहेको नेकपा एमाले सकारात्मक नहुनुको कारण के ठान्नुहुन्छ ?
–यो निर्वाचनको कारणले फास्टट्रयाकमा गयो । प्रतिपक्ष दलको माग भनेको छलफल होस् भन्ने हो । यो फरक पाटो हो । अध्यादेशबाट भन्दा विधेयक बनेर आउँदा यो राम्रो भयो भन्ने मलाई लाग्छ ।
० अघिल्लो हप्ता प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्ष दलको नेता एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भयो, यसले केही निकास देला त ?
–काँग्रेस सधैं छलफल र सहकार्यमा विश्वास गर्ने पार्टी भएको हुनाले यो विषयले निकास पाउछ भन्ने कुरामा म आशावादी छु ।



