🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यो वामपन्थी भन्ने पार्टीमा देखिएको रोग हो

(पाँचपटक मकवानपुरबासी जनताबाट निर्वाचित भएर खतिवडाले संसदमा पुग्ने अवसर प्राप्त गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकै बखत २०७९ मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा भने उनी जनताबाट अस्वीकृत हुन पुगे । पराजयसँगै नौ महिनामा नै उनी मन्त्री पदबाट हट्नु परेको थियो । भर्खरै भएको सत्ता समीकरणको फेरबदल, नयाँ सरकारको भविष्य, आगामी निर्वाचनमा वामपन्थी एकता र पार्टी एकतालगायत विषयमा केन्द्रित रहेर साँघु साप्ताहिकका लागि रामहरी चौंलागाईंले गरेको कुराकानीको मुख्य अंश : सम्पादक)

० २०८० फागुन २१ गते एकाएक राजनीति समीकरण फेरियो, तपाईंले यो विषयलाई कसरी लिनु भएको छ ? 

–आन्तरिक विषयहरू धेरै होलान र ती क्रमश खुल्दै जालान । समाजवादी मोर्चामा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले समीकरण परिर्वतनको विषयमा कुनै छलफल नै नगरी अप्रत्याशित रुपमा गरेका छन् । गठबन्धन सरकारका प्रधानमन्त्री जोसँग समाजवादी मोर्चामा पनि सँगै रहेको छ । कुनै परामर्श, खबर, सरसल्लाह नगरीकन यस्तो गर्नु भनेको राजनीति बेमानी नै हो । तर, गठबन्धन फेरेकै दिन २०८० फागुन २१ गते राति नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष एवं समाजवादी मोर्चाका संयोजक माधव नेपालसँग र भोलिपल्ट नेकपा एमालेका अध्यक्षकेपी ओलीसहित गएर प्रधानमन्त्री प्रचण्डले बाध्यता र असजिलोको कारण देखाएर क्षमा माग्नेदेखि गल्ती स्वीकार गर्ने काम गरेका छन् । साथै, यस्तो गल्ती अब हुँदैन पनि भनेका छन् । त्यसकारण मैले अप्रत्यासित नै भनेर मूल्यांकन र विश्लेषण गरेको छु । 

० २०५४ सालमा राप्रपा जसरी सत्ताका लागि उपयोग भएको थियो अहिले नेकपा माओवादी केन्द्र त्यसरी नै उपयोग भएको देखिन्छ, तपाईंलाई के लाग्छ ? 

–गठबन्धनको धर्म अनुसार सँगै हिड्नुपर्ने सहयात्री दलहरुले बिना परामर्श यस्तो निर्णय एक्लै कसरी गर्नुभयो ? यसकारण प्रकृति पनि ठ्याक्कै मिलेको छ । त्यतिबेला राप्रपालाई नेपाली काङ्ग्रेसले पनि बोक्ने, एमालेले पनि बोक्ने प्रतिस्पर्धा नै चल्यो । यतिसम्म भयो कि फुटेर आधा आधा भएको राप्रपालाई पनि बोक्ने काम भएकै हो । काङ्ग्रेसले एमालेलाई र एमालेले काङ्ग्रेसलाई सत्ताको नेतृत्व गर्न नदिने खेल चल्यो । एकले अर्कोलाई रोकेकोमा विजय सम्झिन्थे । अहिले पनि घटनाक्रम यस्तै देखिएको छ । तर, पात्र फरक छन् । हिजो पञ्चायतको खम्बालाई बनाउने दौडधुप चल्थ्यो भने अहिले बहुदल वा गणतन्त्रको लागि लडेकै शक्तिहरुको बिचमा नै द्वन्द्व चलिरहेको छ । 

० माओवादीले जनयुद्ध हाँकिरहँदा २०५४ सालको यी प्रकरणलाई संसदीय व्यवस्थालाई बद्नाम र अफापसिद्ध गर्ने काम तत्कालीन राजनीतिक दलहरुले गरेको आरोप लगाउँथे, अहिले झण्डै त्यस्तै किसिमको राजनीतिक खेलले गणतन्त्रको मर्यादा घटाएको जस्तो तपाईं लाग्छ कि लाग्दैन ? 

–संसदीय व्यवस्थाको हकमा संसदमा उपस्थिति नहुन्जेलसम्म विभिन्न पार्टीले बनाउने दृष्टिकोण यस्तै हो । खासगरी कम्युनिस्ट पार्टीहरुले संसदीय अभ्यासमा गएर चुनाव लडेर संसदमा पुगेपछि आफ्नो दृष्टिकोण स्पष्ट पार्न सक्नुपर्छ । नेपाल मजदुर किसान पार्टी जस्तो सरकारमा नजाने हुनुप¥यो । सरकारमा नजाँदा पनि जनतासँग जोडिएका माग र आन्दोलनलाई निरन्तर उठाउने काम मात्र गर्नुप¥यो । जसले गर्दा संसदीय भासमा पार्टी पुगि हाल्दैन । सरकारमा सहभागी हुने प्रक्रियामा सामेल भइन्छ भने त संसदीय खेलमा प्रवेश गरिहालियो नि । हिजोका दिनमा पढाइएको जे जे माक्र्सवादसंगत भनाइहरु छन, त्यसमा भन्ने एउटा, व्यवहारमा अर्को हुँदै गएको छ । यो सबै वामपन्थी भन्ने पार्टीमा देखिएको रोग हो । 

० एक्कासी गठबन्ध सरकारको समीकरण परिवर्तन भएसँगै तपाईंको पार्टी अध्यक्ष माधव नेपाललाई तारान्तार भेट गर्ने काम किन भयो जस्तो लाग्छ ?

–केपी ओली जसले माधव नेपालको नाम पनि सुन्न चाहँदैनथे । नाम लिनुप¥यो भने कुल्ला गर्छु र नेकपा एसलाई खरानी पार्टी भन्थे । हैसियत केही छैन, नाम पनि लिनुहुँदैन, बोलचाल र सहयात्रा पनि हुँदैन भन्थे । अहिले माधव नेपालको निवासमा दुई घण्टा निहुरिएर बस्नुपर्ने स्थिति किन सिर्जना भयो ? घमण्डको शिरोमणि, अहंकारीको पतन अन्तमा त्यति राम्रो हुँदैन । नेकपाको बहुमतको सरकार टिकाउन नसकेको, पार्टी फुटाएको, आफ्नै अहङ्कारले सातै प्रदेशको सरकार गुमेको हामी सवैले महसुस गरेकै विषय हो ।

० गत आमनिर्वाचनमा गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर हुँदा पनि खोई त कमजोर बनाउन किन सक्नु भएन  ?

–यसअघि १ सय २१ सिटको एमाले गत निर्वाचनम ७९ सिटमा सीमित हुन पग्यो । केन्द्रीय र प्रदेश सरकारबाट बाहिरिएर जनताको माझमा जाँदा जुन रेस्पोन्स पनि निकै कम भयो । विभिन्न अभियानको नाममा एमाले हिड्दा जनताबाट सम्मान नपाएको कुरा जगजाहेर नै छ । पार्टी बिभाजनको असर छताछुल्ल नै भयो । त्यसैले आउँदा चार वर्ष नेकपा एमालेको लागि झन जटिल हुने स्थिति देखिएकोले पनि सरकारको समीकरण बदल्न मरिहत्ते गरेर लागेकै हो । यिनै कारणले गर्दा एमाले अध्यक्ष केपी ओलीले १० वर्षपछि माधव नेपालको घरमा पाइला टेकेका हुन् । जसले गर्दा उनको अहङ्कारमा केही कमी आएको बुझ्न सकिन्छ ।

० समाजवादी मोर्चाको नेतृत्व गरिरहेका माधव नेपाललाई पत्तै नदिई सरकारको समीकरण फेरबदल गर्नुको प्रमुख कारण के रहेछ ?

–आम निर्वाचन ०७९ को निर्वाचनपछि गठित गठबन्धन सरकारमा हामी  थिएनौं । तरपनि हाम्रो गठबन्धन चुनावमा काङ्ग्रेस र माओवादीसँगै थियो । एमालेसँगको गठबन्धन टुटेपछि मात्र हामी नयाँ सरकारमा गएका हौं । यतिखेर गठबन्धन सरकारमा रहेको मुख्य घटक नेपाली काङ्ग्रेसलाई पत्तो नदिएर प्रधानमन्त्री अर्कै बाटोमा हिँडेका छन् । यतिसम्मकि समाजवादी मोर्चाको नेतृत्वमा रहेका माधव नेपाल समेतलाई पनि थाहा दिइएन । यसरी हिँड्नुमा प्रधानमन्त्री प्रचण्डको ठूलो गल्ती छ । तर, उनले गल्ती स्वीकार गरेका पनि छन् । अब त्यस्तो हुँदैन, सँगै साझा कार्यक्रम बनाएर जाउँ भनेका छन् । केपी ओलीले पनि प्रचण्डकै भाषा मिलाएर अगाडिको कुरालाई बिर्सिएर सरकारको हकमा सँगै जाने उद्घोष गरेका छन् । 

० नेकपा एमालेका अध्यक्ष ओली माधव नेपाल निवासमा पुग्नुलाई पार्टी एकतासम्मको सङ्केत हो त ?

–त्यो धेरै परको कुरा हो जस्तो मलाई लाग्छ । सरकारमा बसेर सँगै काम गर्दा उनमा रहेको अहंकार जुन नसा नसामा छ, त्यो कति अभिव्यक्त हुन्छ, त्यसमा नै सवै विषय निर्भर हुन्छ । दुई तिहाई निकटको नेकपा सरकार सञ्चालनको समयमा देखिएको अहंकारले अहिले कत्तिको काम गर्छ त्यो भने समयक्रममा देखिएला । यी सबै विषय दुई चार महिनामा देखिंदै जानेछन् । केपी ओलीको त्यो बानीमा केही परिर्वन र सुधार देखियो भने मात्र गठबन्धन अघि जाला, भएन भने ६ महिना भन्दा बढी जाने म देख्दिन । 

० एकवर्ष अघि बाहिरिएको एमाले के कारणले पुन प्रचण्ड नेतृत्वकै सरकारमा मिल्न गएकोमा तपाईंलाई के लाग्छ ? 

–एमाले सत्ता स्वादको कारणले नै मिल्न गएको हो । काङ्ग्रेसबाट माओवादीलाई अलि पर पार्न सकियो र आउँदो चुनावमा पार्टी एकता नभए पनि केही सिट बाँटफाँड गरेर चुवानमा जान सकिन्छ भन्ने उसको ध्येय रहेको छ । सरकार बनाउने बेलामा त्यो भोट लिएर प्रधानमन्त्री हुने उनको लालसा देखिन्छ । अर्को, दुई वर्षपछि प्रधानमन्त्री हुने लोभ केपी ओलीमा जागेको छ । त्यसैले उनी साम, दाम, दण्ड, भेद जे गरेर हुन्छ, हिजो आफूले बोलेका, आरोप लगाएका, प्रचण्ड र माधव नेपाललाई भनेका तुच्छ शब्द र यी सबै चिजलाई छोडेर गल्ती भयो माफी पाँउ भन्न तयार भएको प्रधानमन्त्रीको लोभले नै हो । 

० त्यसो भए वर्तमान सत्ता समीकरणलाई स्वच्छ मान्न सकिदैन त ?

–कुनै पनि गठबन्धन सरकार स्वच्छ हुँदैन् । सैद्धान्तिक रुपले वामपन्थी, वामपन्थी मिलेर प्रधानमन्त्री बन्यो भने एउटा तर्कसम्मत मान्न सकिएला । सरकारमा माओवादी, एमाले राष्ट्रि स्वतन्त्र पार्टी, जसपा, समाजवादी पनि सामेल भएको छ । अघिल्लो सरकारमा काँग्रेस र हामी पनि सामेल भएका थियौं । त्योभन्दा अघिल्लोमा राप्रपामा सामेल भएको थियो । भनेपछि गठबन्धन भन्ने बित्तिकै स्वच्छ सम्भव नै हुँदैन् । गणित पु¥याउनका लागि जो जसले साथ दिन्छ, ऊ नै राष्ट्रवादी र इमान्दार मानिन्छन् । जसले साथ दिँदैन् ती अराष्ट्रवादी र प्रतिक्रियावादी आरोपित हुन्छन् । त्यसकारण सैद्धान्तिक लेप चाहिं बेकारको कुरा हो । 

० तपाईंले यसो भनिरहँदा नेकपा एस सरकारमा नगएको भए के हुन्थ्यो होला ?

–यसमा पनि साइकोलोजिकल्ली केही समस्याहरु छन् । सरकार बाहिर काँग्रेस अनि वामपन्थीको हिसाबले हामी रहने भयौं । सामान्यता हामीले आकार ग्रहण गरिसकेका छैनौं । त्यो हिसाबले प्रारम्भमा नै छौं । सरकारमा सँगै बसेर सहकार्य गरौं, क्रमशः हाम्रो मन माझिँदै गयो भने वामपन्थी एकतासम्म पुग्न सकिन्छ भन्ने अपेक्षा पनि हुनसक्छ । सहकार्यबाट गठबन्धनसम्म पुग्दा मद्दत गर्छ नै । वामपन्थी एकताका लागि यो एउटा जग र अब बहुमत वामपन्थीको सरकारको अपेक्षा पनि हो । प्रचण्डको नेतृत्वको अघिल्लो बहुमत वामपन्थीको सरकार होइन् । नेपाली काँग्रेस बाहुल्य रहेता पनि नेतृत्व मात्र वामपन्थीले गरेको थियो ।

० अहिले सरकारको नेतृत्व वामपन्थी, बाहुल्यता पनि वामपन्थी दलको रहेको छ, एकता हुने संभावना कत्तिको देख्नुहुन्छ ?

 –वामपन्थी एक हुने चान्स छुट्यो । अर्को कुरा दुइवटै पार्टीका प्रमुख नेताहरुले अनुरोध गर्दा पनि सरकारमा नजादा जनमानस, बौद्धिक समाज, वामपन्थी आन्दोलन नरुचाउनेबाट कडा आलोचना आउनसक्ने सम्भावना रहन्छ । त्यसकारण हामी सरकारमा गएका हौं । हामी वामपन्थी एकताका विरोधी होइनौ भन्ने बाध्यता पनि छ । अब यस्ता फ्याक्टरले पनि कहिलेकाँही काम गर्छ । 

० यो सरकार विदेशी चलखेलबाट बनेको हो कि हाम्रो आन्तरिक आवश्यकताले, तपाईं के ठान्नु हुन्छ ?

–आन्तरिक र बाहिरी चलखेल जसले गरे पनि सानो मुलुकको सरकार गठनमा चासो रहन्छ नै । कमजोर राजनीतिक परिस्थिति, संसदमा सरकार गठनका लागि बहुमत संख्या कुनै पनि राजनीतिक दलको नहुनुको परिणाम हो । बहुमत नहुँदा संसदमा जोडघटाऊ, तोलमोल र सरकार परिवर्तनमा चलखेल हुने भएकोले तपाईंले सोधेको प्रश्न अगाडि आउँछ । त्यसकारण हो भन्न पनि नसकिने, होइन् भन्न गाह्रो छ । यस्तो अवस्थामा विदेशी शक्तिले स्वभावैले चासो राख्छन् नै ।

० वास्तविकता त्यस्तै हो र ?

–जस्तो, पाकिस्तानमा केही हप्ता अगाडि चुनाव भयो हामीलाई को सरकारमा पुग्ला भन्ने चासो थियो । त्यस्तै, अमेरिकामा चुनाव भयो भने को आउँला भन्ने चासो रहन्छ नै । भारतमा पनि अव छिटै चुनाव हुँदैछ । हामी नेपाली भएर किन चासो लिएको भने झैं उनीहरुमा पनि त चासो हुने नै भयो । अलिअलि दौडधुप विदेशी राजदूतले गरेको देखिन्छ पनि । त्यसैले मैले होइन् भनेपनि हो भन्ने आरोप लाग्छ ।

उदाहरणको लागि बलियो र समृद्ध मुलुक भइदिएको भए नेपालले अमेरिकालाई प्रभावित ग¥यो भन्दा पत्याउँन सकिन्थ्यो । अमेरिकाले नेपाललाई प्रभावित ग¥यो भन्दा अहिले जसले पनि पत्याउँछन् । कमजोर हुनुको दुर्भाग्य पनि यही हो । 

० तपार्इंले माथि उल्लेखित कुरा बताइरहँदा सत्तामा रहेका दलहरुले नै राजनीतिक समीकरण बदलिंदैछ भन्ने कुरा थाहा नपाउनु विडम्बना होइन र ?

–मैले शुरुमै यही बिषय उठान गरिसकेको छु । नेपाली काँग्रेसलाई प्रधानमन्त्री प्रचण्डले छोड्दै थिए । यो रहस्य खुल्यो भने धेरै चलखेल र विवाद धेरै बढ्ला भनेर गोप्य राखियो होला । जसलाई छोड्ने उसैलाई जानकारी दिएर नयाँ गठबन्धनको तयारी गर्न मिल्दैन पनि । समाजवादी मोर्चा बनाएर, भोलिका दिनसम्म वामपन्थी एकता, एमाले बेगर पनि प्रयास गर्ने भनेर तयार भएका पार्टीहरुलाई बेवास्ता गरेर चोरबाटोबाट छिर्ने प्रयत्न गरियो, यो प्रचण्डको कमजोरी नै थियो । 

० त्यसो भए सरकार गठनपश्चात मात्र नेकपा एससँग परामर्श गर्नुलाई किनाराका साक्षी बनाइएको भन्ने तपार्इंको आशय हो ?

–मैले भनिहाले नि, छापामार शैलीबाट गरियो । बेलुकी ५–७ बजेबाट शुरु र बिहान ७–८ बजे खेल सम्पन्न भइसक्यो । त्यसैले समाजवादी मोर्चामा छलफल हुने कुरै आएन । सिनियर नेताहरुले माधव नेपाललाईसमेत थाहा नदिनु भनेपछि छलफल हुने कुरै आएन । उपेन्द्र यादवले पनि थाहा पाउने भन्ने कुरै भएन् नि !

० सम्मानित नेता झलनाथ खनालाई इलामबाट उप निर्वाचनमा टिकट दिने र पार्टीभित्र अध्यक्ष नेपाललाई कमजोर बनाएर नेता, कार्यकर्ता एमालेमा फर्काउने रणनीति एमालेले अख्तियार गरेको चर्चा चलिरहेको छ नि ?

–त्यस्तो होइन् । सरकारको समीकरण, इलामको एउटा जाबो निर्वाचन क्षेत्रसँग तुलना गर्न मिल्दैन । देशकै पोलिटिक्सको धुव्रीकरण, त्यति सानो कुरामा जोड्नु पर्दैन् । गठबन्धनले मान्यो भने हाम्रो पार्टीको सम्मानित नेता झलनाथ खनाल उम्मेदवार बन्नु कुनै ठूलो कुरा भएन् । गठबन्धन मान्छ कि मान्दैन् भन्ने कुरा हो । मान्दाखेरि हामीलाई पनि कुनै आपत्ति छैन् । 

० अब वामपन्थी एकताको आधार रहिरह्यो भने नेकपा एमाले र नेकपा एसमा चाहिं २०८४ सम्म एकता हुने संभावना के छ ?

–एमालेसँग एकता † यो दूरदराजको कुरा छ, म सम्भव देख्दिन् । किनभने सहकार्य कस्तो हुन्छ पहिले त्यो हेर्नुप¥यो । हिजो जे जे मुद्दामा हामी विभाजन भएर सडकसम्म र पार्टी फुट्ने स्थितिसम्म पुग्यौं । हामी यहाँ पुग्यौं, उनीहरु कहाँ पुगे ? यी चीजको समीक्षा नभईकन पार्टी एकता भन्ने कुरै छैन् । सरकार गठनमा यो एजेण्डा पनि छैन् ।

अब सरकारमा सँगै भएपछि भेटघाट बाक्लो हुन्छ । गठबन्धन सरकारको नीति कार्यक्रममा आउँछ । अनेकौं एजेण्डामा छलफल होला नै । सरकारमा पनि सँगै पनि भइयो । त्यसकारण यी विषयमा पनि छलफल हुँदै जालान् । राजनीतिक, नीतिगत एजेण्डा नटुंग्याइकन ल सरकारमा आउनुभयो वाम एकता, पार्टी एकीकरणका लागि हतारमा वक्तव्य जारी गर्ने भन्ने कुरा अब हुँदैन् । 

० एमालेको रणनीति सकेसम्म नेकपा एसलाई एक्ल्याउने, नेता, कार्यकर्ता एमालेमा भित्र्याउने र पार्टीलाई धुँलो बनाउने रहेको छ भन्ने सुनिन्छ, त्यो  सम्भव होला ?

–दुई वर्षदेखि धुलो बनाउन थालेको देखिहाल्नु भयो । एउटा जिल्लाको दुई जना मान्छे प्रवेश गर्नसाथ सिद्धियो भनेको डंका पिटेको छ । फेरि दुई महिनापछि केही संख्या प्रवेश गर्छ, फेरि सिद्धियो भनेर हल्ला पिटाएर उदुम मच्चाइएको छ । दुई वर्षमा पाँच जना केन्द्रीय सदस्य उनीहरुले लगेका छन । पाँच जना केन्द्रीय सदस्यलाई दुई वर्षमा लगेझै गर्दा पनि ३ सय केन्द्रीय सदस्यलाई फर्काउन १ सय ५० वर्षमा लाग्छ । यस्ता हावादारी गफले केही पनि हुनेवाला छैन । दुई जना गयो भने महान् नेताहरु प्रवेश गर्नुभयो, त्यागी, समर्पण भनेर प्रचार गरिन्छ । त्यसपछि माला लगाएर फोटो खिच्ने सामाजिक संजालमा पोष्ट गरिन्छ । उता उभिने बित्तिकै त्यागी र महान, यता छउञ्जेल नहुने यो भाष्य नै गलत छ ।

० सरकारको समीकरण फेरबदलले तपाईंहरुको आगामी २०८१ जेठमा हुुन गइरहेको राष्ट्रिय महाधिवेशन पनि असर गर्छ भनिदैछ नि ?

–खासै असर गर्दैन । हाम्रो दुई जना सांसद मन्त्री बनेका छन् । बरु अघिल्लो सरकारमा हाम्रो बार्गेनिङ पावर अलि बढी थियो । किन भने त्यो गठबन्धनको सिर्जनाकर्ता हामी नै थियौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान विपरीत गरेका गतिविधिबाट जुन मोर्चा बन्यो, मोर्चाको निर्माण, चुनावी गठबन्धन सबैमा हाम्रो निर्णायक भूमिका थियो । अब अहिले यो गठबन्धन निर्माणको हामी स्ट्राईकर होइनौं । हामी त लगभग सहभागी मात्र भएका हौं । भोलिका दिनम आफ्नो भूमिका बलियो बनाउनु बेग्लै कुरा हो । निर्माणकर्ता र योजनाकार केपी ओली र प्रचण्ड बनेका छन् । एकदुई जना सरकारमा जाने कुराले महाधिवेशनलाई असर पार्दैन् । 

० तपाई पूर्व स्वास्थ्य मन्त्री पनि हुनुहुन्छ, तपाईंले विगतमा र त्यसपछिका मन्त्रीले गरेको काममा कति भिन्नता देख्नु भएको छ ?

–भिन्नता भन्नाले मैले विवादरहित र शान्तिपूर्ण ढंगले काम गरेको जगजाहेर नै छ । म मिडियामा छाइन । दुर्घटना नहुने गरी आफ्नो हिसाबले काम गरेको थिएँ । कोरोनाकाल अन्त्य भएको जम्मा ६ महिना मात्र भएको थियो । म जाँदाखेरि जम्मा ४५ लाख मात्र खोप आएको थियो । मैले छोड्ने बेलामा तीन करोड भन्दा बढी डोज खोप ल्याई सकेको थिएँ । ४० लाख भण्डारणमा थियो, जुन पछि जलाइयो । 

ओम्नी जस्ता माफियाहरुको जालमा म परिनँ । शान्तिपूर्ण रुपमा काम गररे निस्किएँ । सातै प्रदेशमा किड्नी र मुटुको अप्ररेशन गर्न सकिने व्यवस्था मेरै कार्यकालमा गरिएको हो । दुईवटा प्रदेशमा शुरुवात गरिसकेको अवस्था थियो । यी लगायतको फन्डामेन्टल कामहरुमा मैले हात अगाडि बढाएँ ।

० स्थानीय तहमा १५ बेडको अस्पताल स्थापना गर्ने कार्य त अघिल्लो केपी ओलीको सरकारले नै गरेको होइन ?

–विभिन्न ठाउँमा अस्पताल बनाउने योजना पहिले नै थियो । बजेट बढाएर द्रुतगतिले यो काम अगाडि मैले नै बढाएको हुँ । ७२ प्रकृतिको औषधि फ्रि थियो, यसमा ९७ मैलै नै पु¥याएको हो । महिलाको पाठेघर क्यान्सरविरुद्ध  निःशुल्क इन्जेक्सन र अप्रेशन गर्ने भनेर नीतिगत रुपले मैले नै पास गराएको होे । गेटा मेडिकल कलेज त्यत्तिकै थियो । त्यो निर्माण सम्पन्न गर्ने भनेर क्याबिनेट निर्णय गरेर प्रमुख पनि पठाइयो । अहिले आएर प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालय बनाउने भनेर निर्णय गर्नुभएको छ । मैले स्वास्थ्य मन्त्री भएको बखत दूरगामी काम गरेर देखाएँ  । 

भ्रष्टाचार गरेर, धन कमाउने ध्याउन्नमा म लागिन् । जसका कारण विवादरहित तरिकाले म मन्त्रालयबाट बाहिरिए । म भन्दा पछिका स्वास्थ्य मन्त्री त सँधै पत्रपत्रिकाको हेडलाइन समाचारमा छाएको देख्दैछु ।

(साँघु साप्ताहिक, २०८० फागुन २८)