काठमाडाैं । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप “AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्ने मूल नाराका साथ संचालित "सफा हिमाल अभियान २०२२" को २०७९ जेठ २२ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जङ्गी अड्डास्थित सभामण्डप हलमा Flag In Ceremony सम्पन्न भई अभियान औपचारिक रुपमा समापन भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरु (ल्होत्से, कञ्चनजंघा र मनास्लु) को सफाई गर्ने उद्देश्यका साथ २०७८ चैत २२ गतेबाट मिति २०७९ जेठ २२ गतेसम्म संचालित उक्त अभियानबाट ३३,८७७ के.जी. फोहोर संकलन गर्न सफल भएकोमा कुहिने ७,२२७ के.जी. फोहोर स्थानीय गाउँपालिका तथा नकुहिने फोहोर २६,६५० के.जी. Recycling Agency लाई विभिन्न मितिहरुमा हस्तान्तरण गरिएको छ ।
साथै, उक्त अभियानको दौरान कञ्चनजंघा आधार शिविरमा पहिचान खुल्न नसकेका २ (दुई) वटा मानव अस्थिरपञ्जर फेला परेकोमा उक्त अस्थिरपञ्जरहरु कानूनी प्रकृयाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा Campaign Leader बाट समग्र अभियान सम्बन्धी जानकारीमूलक प्रस्तुतिकरणसहित शुरु भएको उक्त कार्यक्रममा प्रमुख नापी अधिकृत एवं समगरमाथा आरोही खिमलाल गौतम, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले आ-आफ्नो मन्तव्य राख्दै सफा हिमाल अभियानका टोलीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो ।
रक्षा सचिव तथा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, नेपाली सेनाका रथीवृन्दहरु, स्थानीय निकायका प्रतिनिधिहरु, नेपाली सेनाका अधिकृतहरु, नेपालस्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, पर्वतारोहण र विविध क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, सफा हिमाल अभियान २०२२ का साझेदार संघसंस्थाहरुका पदाधिकारीहरु एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा Campaign Leader हरुले प्रमुख अतिथि प्रधान सेनापति महारथी प्रभुराम शर्मा समक्ष Flags in गरिएको थियो ।
उक्त कार्यक्रममा समापन मन्तव्य राख्दै प्रधान सेनापति महारथी शर्माबाट सफा हिमाल अभियान २०२२ सफल पार्न प्रत्यक्ष एवं परोक्ष रुपमा संलग्न नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, पर्यटन मन्त्रालय, सरकारी एवं गैह्र सरकारी संघसंस्थाहरु, विशेष व्यक्तित्वहरु तथा संचार जगत सबैलाई साथ तथा सहयोगको लागि हार्दिक धन्यवाद ज्ञापन गरिएकाे थियाे ।
यस हिमाल सफाई अभियान नेपाली सेनाको एक्लो प्रयासले मात्र नभई सम्बद्ध सबैको साथ, सहयोग एवं सामुहिक भावनाको कारण सफलतापूर्वक सम्पन्न भएको बताउदै महारथी शर्माले भविष्यमा पनि प्रकृति तथा वातावरण संरक्षणका यस प्रकारका प्रयासहरुमा नेपाली सेना निरन्तर संलग्न रहने र सबैबाट सहयोग सुभेच्छा एवं एक्यवद्धता नेपाली सेनाले प्राप्त गर्ने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रमको दौरान प्रधान सेनापति महारथी शर्माले उक्त अभियान सफलतापूर्वक सम्पन्न गर्न विभिन्न भूमिकाहरुबाट सहयोग गर्ने विभिन्न सरकारी तथा गैह्र सरकारी संघ/संस्था, सेवा प्रदायक कम्पनी र व्यक्तिहरुलाई प्रतिनिधिमूलक रुपमा प्रमाण-पत्र वितरण गरिएको थियो ।
सोही क्रममा, प्रधान सेनापति महारथी शर्माले हिमाल सफाईका क्रममा सगरमाथा, ल्होत्से तथा नेपाली सेनाका तर्फबाट प्रथम पटक कञ्चनजंघा हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपाली सेनाका ७ जना सकलदर्जाहरुलाई प्रोत्साहन स्वरुप प्रधान सेनापति प्रशंसा निशान प्रदान गरिएको थियो ।
यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा Global Warming को असरलाई कम गर्न धेरै हदसम्म सहयोग पुर्याउनुका साथै नेपालको पर्यटन व्यवसायमा सकारात्मक उर्जाको सञ्चार हुने विश्वास नेपाली सेनाले लिएको छ ।



