काठमाडाैं । श्रम विभागमा दर्ता भएको भनिएको एक युनियनले श्रमिकको समस्या सामाधान गर्ने नाममा अवैध क्रियाकलाप गर्ने गरेको खुलेको छ ।
श्रम विभागमा दर्ता नम्बर १० रहेको भनिएको ‘नेपाल बिजुली, पेन्टर, पलम्बर तथा निर्माण मजदुर युनियन’ नामको संस्था दर्ता गरेर केही स्वार्थी समूहले श्रमिकलाई सहयोग गर्ने नाममा पत्र काटेर विभिन्न व्यक्ति तथा उद्योगी-व्यवसायीलाई आतंकित पार्ने गरेको गुनासाे पाइएको छ ।
श्रम कार्यालयमा दर्ता हुँदैमा श्रम कार्यालयकै अधिकार प्रयोग गर्दै समस्या सामाधानका नाममा पत्र काटेर नपाएको अधिकार प्रयोग गर्न थालेपछि सम्वन्धित थुप्रै व्यवसायीले गुनासो गर्न थालेका छन् ।
त्यसरी काटिएको पत्रमा ७ दिन भित्र सम्पर्कमा नआएमा युनियनले कारवाही अघि बढाएर निवेदकलाई सहयोग गर्ने व्यवहोरा उल्लेख छ ।
श्रम कार्यालयका अधिकारीका अनुसार त्यसरी पत्र काट्ने अधिकार श्रम कार्यालयले कसैलाई दिएको छैन । ‘त्यस्ता पत्र अवैधानिक हुन्, पत्र काटेर डाक्यो भन्दैमा उपस्थित हुनु पर्दैन,’ श्रम अधिकारीको प्रतिक्रिया थियो ।



