काठमाडौँ, २०७४ चैत्र २५ गते आइतवार । प्रधानमन्त्री केपी ओली मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केका छन् ।
भारतको राजकीय भ्रमण बारेमा प्रधानमन्त्री केपी ओलीले भने ''निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमातथाहालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो ।''
प्रधानमन्त्री केपी ओलीले ''भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयनमार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सोवारेमा तीनवटा अलग अलग संयुक्त घोषणासमेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ'' बताए।
प्रधानमन्त्री केपी ओलीले ''विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमा दुवै पक्षबीच सहमति भयो। महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइलगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ । नेपाल र भारतका बीच Energy banking को अवधारणामा आधारित विद्युत व्यापारको प्रस्ताव गरेको'' पनि बताए।
''दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको'' पनि प्रधानमन्त्री केपी ओलीले बताए।
''नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको'' बताउदै ''यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।''
प्रधानमन्त्री केपी ओलीले भने ''साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ । साथै, भारतले नेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामोसमयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।''
''यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको'' प्रधानमन्त्री केपी ओलीले बताए।
'' भारतीय प्रधानमन्त्रीले नेपाली जनताले लोकतन्त्र तथा संघीय व्यवस्थाप्रति देखाएको विश्वास र नेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै योसन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो'' प्रधानमन्त्री केपी ओलीले उल्लेख गरे।
''India Foundation ले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ'' प्रधानमन्त्री केपी ओलीले बताए।



