काठमाडौं । वाम गठबन्धन नेतृत्वको सरकारमा एमाले सचिव योगेश भट्टराई, माओवादी नेता जनार्दन शर्मा, अग्नि सापकोटा, पम्फा भुसाललगायतको नाम खुब चर्चामा थियो । उनीहरुलाई निर्वाचन अवधिमै पार्टीभित्र पनि संभावित मन्त्रीका रुपमा हेरिएको थियो । त्यसैले होला एमाले अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर भट्टराईको पक्षमा भाषण गर्दा ‘तपाईहरु जिताएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाउछु’ भनेर प्रतिबद्धता जनाएका थिए ।
तर, २२ जना मन्त्री बन्दा पनि कार्यकर्ता र जनताले पत्याएका एमालेका सचिव भट्टराई भने अटेनन् । अनि जनार्दन शर्माको सन्दर्भमा पनि खुबै रुचाइएका थिए । त्यसमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीले शर्मालाई मन्त्री बनाउन आग्रह गरेको चर्चा पनि चल्यो । प्रचण्ड यसपटक शर्मालाई रोक्ने दबाबमा थिए । वास्तवमा के कारणले शर्मा र भट्टराई मन्त्री हुन सकेनन् त ?
भट्टराईको सन्दर्भमा भन्ने हो भने निर्वाचन परिणाम सार्वजनिकपछि काठमाडौको एक कार्यक्रमको अभिव्यक्ति गलपासोका रुपमा देखा परेको चर्चा छ । उक्त कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी थिए । त्यस कार्यक्रममा भनेका थिए ‘प्रचण्ड, ओली र नेपालहरुले पार्टीबाट अवकाश लिएर सर्वम़ान्य नेता भइदिनोस्’ पार्टी एकताको कुरासंग जोडेर भट्टराईले युवालाई नेतृत्वको जिम्मा दिन आग्रह गरेका थिए । त्यही अभिव्यक्तिपछि ओली निकटका नेताले फेसबुक, ट्वीटरदेखि अन्य मिडियामा समेत भट्टराईविरुद्ध विषवमन गर्न थाले । त्यसपछि निरन्तर भट्टराई रक्षात्मक अवस्थामा पुगे । ओलीको नजरमा नकारात्मक छवि बन्न पुग्यो । त्यसपछि भट्टराई केपी ओलीको मन्त्री बन्ने सूचीमा पर्न सकेनन् । त्योभन्दा पहिला सञ्चार मन्त्रीमा भट्टराईको नाम खुबै चर्चा गरिएको थियो ।
त्यसमाथि पछिल्ला दिनमा विद्यादेवी भण्डारीलाई पुनः राष्ट्रपति बनाउन नहुने तर्क पनि भट्टराईको थियो । राष्ट्रपति भएर पनि भण्डारी पार्टीभित्र गुटवन्दी र दबाब दिने काम गरिरहेकी छिन् । शेरधन राईलाई मुख्य मन्त्री बनाउन ओलीलाई निरन्तर दबाब दिइन भन्दै मुख्यमन्त्रीकी दावेदार अष्टलक्ष्मी शाक्यलाई हराउन खुलेर लागिन् भन्ने दावी पनि भट्टराईको रह्यो । यसरी ओली गुटको गतिविधिको विपक्षमा देखिएका भट्टराईलाई प्रधान मन्त्री ओलीले कर्नरमा पार्ने नै भए ।
यता, शर्माको विषय पनि कम रोचक छैन । शर्मालाई जसरी पनि मन्त्री बनाउनुपर्ने तर्क थियो ओलीको । पार्टीभित्र शर्माविरुद्ध निरन्तर खेलिरहेका थिए बर्षमान पुन र शक्तिबहादुर बस्नेत । पहिला गृह मन्त्रालय ताकेका वर्षमानलाइ रोक्न जनार्दन लागे अनि साथ दिए रामबहादुर थापा बादललाई । अनि बर्षमान पनि शर्मालाई मन्त्री हुनबाट रोक्नतिर लागे । त्यसो त, कर्णाली प्रदेशका इच्चार्ज शक्ति बस्नेत पनि शर्मालाई नरोकी आफू मन्त्री हुन पाउने अवस्थामा थिएनन् । प्रदेशमा बस्नेत कमजोर थिए । शर्माले मुख्यमन्त्री, उपसभामुख, एक मन्त्रीसहित बलियो उपस्थिति जनाए भने वादलको निकट एकजना मन्त्री भए । तर, इन्चार्ज वस्नेतका एकजनाले पनि अवसर पाएनन् ।
हुन त त्यतिबेला पनि मुख्यमन्त्रीमा शर्माको प्रस्तावलाई स्वीकार गर्ने र संघको मन्त्रीमा वस्नेतलाई समर्थन गर्ने सहमति पछि बस्नेतले नरेश भण्डारीको प्रस्ताव छाडेर महेन्द्रबहादुर शाहीको समर्थनमा लागेको चर्चा थियो । तर, पुन र बस्नेतको दौडधुप कम थिएन काठमाडौंमा पनि ।
यता, ललितपुरबाट निर्वाचित पम्फा भुसाल पनि मन्त्रीको चर्चामा रहेकी पात्र हुन् । तर, त्यत्ति धेरै चर्चामा नआएकी र फुलमन्त्री भइहाल्छिन् भन्ने अनुमानमा नपरेकी, अनुभवहीन, बुहारी विना मगरलाई मन्त्री बनाएर प्रचण्डले भूसाललाई पाखा पारेका छन् । भूसाललाई पाखा पार्नेमा पुन र बस्नेतहरुको भूमिका रहेको चर्चा छ । पार्टी एकतामा आएका धेरै नेताहरुले अवसर पाएको भन्दै माओवादीभित्र व्यापक विरोध भएको छ ।
हुन पनि प्रदेशका अधिकांश सिनियर मन्त्रीहरु वादलसंग आएका नेताहरुले अवसर पाएका छन् । त्यही मुद्दाले गर्दा देव गुरुङलाई सभामुखबाट रोक्न पुन सफल भए भने भूसाल पनि त्यही मुद्दामा परिन् । सिन्धुपाल्चोकका जब्बर रैथाने मोहनबाहदुर बस्नेतलाई निर्वाचनमा हराउन सफल भएका माओवादी केन्द्रका निष्कलंक नेता अग्नि सापकोटा गुटगत राजनीतिमा विश्वास नगर्ने नेता भएकै कारण सक्षम हुँदाहुँदै पनि मन्त्री बन्न सकेनन् ।
(२०७४ चैत ५ गते साँघु साप्ताहिकबाट)



