काठमाडौँ, २८ फागुन : गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग फागुन २७ गते मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले देशमा अशान्ति कायम गर्ने अपराधी र अर्थतन्त्रलाई तहसनहस पार्ने तस्करविरुद्ध मन्त्रालयले कडा नीति अख्तियार गर्न शुरु गरेको भन्दै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रह गरे ।
गृहमन्त्री थापाले भने, “त्यस्ता अपराधी र तस्करविरुद्ध तपाईंहरुले सञ्चार माध्यमबाट समेत सूचना दिनुहोस्, मन्त्रालयले प्रशासनिक ढंगबाट तिनीहरुविरुद्ध कारबाही गर्छ ।”
थापाले सुरक्षा निकायदेखि उद्योगी, व्यवसायी, प्रशासन हरेक क्षेत्रमा केही गलत गतिविधिमा संलग्न केही व्यक्तिका कारण ती निकाय नै बदनाम भएको भन्दै त्यस्ता व्यक्तिको पहिचानमा मन्त्रालय लागेको बताए ।
तस्करका कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई सुधार गर्न भन्सार छली गर्ने र हुण्डीको कारोबार गर्नेविरुद्ध निर्ममतापूर्वक मन्त्रालयले अभियान चलाउने गृहमन्त्री थापाको भनाइ छ ।गृहमन्त्री थापाले भने, “एउटा कम्पनीले रु ४७ अर्ब सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन, केही कम्पनीले कर नतिरी मिनाहाका लागि नेताको घर चहार्दैछन् । त्यो पैसाले जलविद्युत्मा लगानी गरेको भए सयौँ मेगावाट विद्युत् उत्पादन हुन्थ्यो ।”
गृहमन्त्री थापाले भने ''सुरक्षा संयन्त्रको संंरचनामा व्यापक परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि काम शुरु गरिने जानकारी दिए । गृहमन्त्रीका रुपमा जनताले राहत महशुस गर्ने गरी आफूले काम गर्ने उनको भनाइ छ । प्रहरीको आवासगृहदेखि वृत्ति विकाससम्मका कामलाई प्राथमिकतामा राखेर आफूले काम गर्ने उनले बताए ।
गृहमन्त्री थापाले ''केही समूहले जातीयता, केहीले जनसत्ताको नाममा तथा केहीले धर्म र राजतन्त्रको नाममा अस्थिरता निम्त्याउन खोजेको भन्दै त्यस्ता गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिने'' प्रतिबद्धता पनि व्यक्त गरे । त्यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार राजनीतिक र प्रशासनिक दुवै कदम सरकारले चाल्ने उनको भनाइ छ ।
गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएकाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री थापाले भने ''प्रधानमन्त्री कार्यालयका साथै गृह मन्त्रालय मातहत पनि जासुसी संगठनको आवश्यकता'' रहेको बताए ।
गृहमन्त्री थापाले मुलुकको शान्ति, सुशासन, स्थिरता र विकासका लागि पत्रकारसँग हातेमालो गरेर जान मन्त्रालय तयार रहेको भन्दै त्यसका लागि सहयोग गर्न आग्रहसमेत गरे ।
(रासस)
–––



