काठमाडौं । कृषियोग्य जमीन संरक्षणका लागि गरिएको एउटा निर्णय भूमिसुधारका कर्मचारीलाई भने जग्गा प्लटिंग व्यवसायीलाई अँत्याएर गैरकानूनीरुपले करोडौं कमाउने माध्यम बनेको छ । अहिले ललितपुरको ले ले क्षेत्रमा ६० रोपनीभन्दा बढी जग्गामा सरकारी निर्णयको धज्जी उडाउँदै प्लटिंगको काम धमाधम भैरहेको छ । जग्गा प्लटिंग नापी र मालपोत कार्यालयका कर्मचारीको सहयोग बिना सम्भव नै छैन । तर, ललितपुरका नापी र मालपोतका कर्मचारीेले सरकारी निर्णयलाई देखाएर जग्गा प्लटिंगका काममा प्रति कित्ताकाट ७५ हजारसम्म लिएर काम गरिरहेका छन् । उनीहरूकै सहयोगमा त्यहाँका जग्गा व्यवसायीले धमाधम जग्गा प्लटिंग गरी बिक्री पनि गरिरहेका छन् ।
वर्षौंसम्म ललितपुर नापीका प्रमुख रहेका बुद्धिमान जैसीले घर जाने समयमा कित्ताकाट गरी प्रतिकित्ता ७५ हजार लिन थालेपछि त्यहाँ यही दर कायम भएको हो । जैसीले अवकाश पाएपछि नापीका प्रमुखका रुपमा काजमा सुरेश जोशीलाई खटाइएको छ । जोशी त्यहाँ नपुगुञ्जेलका लागि त्यहींकै नापी अधिकृत नबलकिशोर साहले निमित्त प्रमुख भएर चलाउँदा पनि कित्ताकाटकै काममा राम्रै कमाइ गरेको स्रोत बताउछ । मन्त्रालयले रोकेको भएपनि ललितपुर मालपोतका कर्मचारीहरूले पनि कित्ताकाटबाटै अनगिन्ती कमाई गरिरहेका छन् । लपुका मालपोत प्रमुख घनश्याम उपाध्याय मस्ती गरेर भर्खरै सरुवा भएपछि भीमप्रसाद गौतम मस्ती गर्न पुगेका छन् ।
नापीका अवकाशप्राप्त प्रमुख जैसी र गौतमले त अवैध प्लटिंग व्यवसायीसंग मिलेर उनीहरूका सबै काम गरिदिएवापत ३ आनाका एकोटा घडेरी नै माग गरेका समाचार स्र्रोतले उल्लेख गरेको छ । यसैगरी मनमैंजु नापी कार्यालयका प्रमुख ध्रुव थापाले धर्मस्थलीका जग्गा व्यवसायीसंग कित्ताकाट गरिदिएवापत ३ आनाको घडेरी माग गरेका एक प्लटिंग गरिरहेका व्यवसायीले साँघुलाई बताए । यस सम्बन्धमा थापासंग नापी विभागले प्रष्टिकरण पनि सोधिसकेको खबर छ ।



