एक्कासी मोबाइलमा आँखा जान्छ आज "प्रधानसेनापतिको बिदाई" गर्व गरेर पल्टाउन थाल्छु मन मरेर आउँछ । सकारात्मक प्रतिक्रिया भन्दा नकारात्मक प्रतिक्रिया ज्यादा देशको लागि सिन्को नभाँच्नेदेखि बसेर खाने केही नगर्ने सम्मका कयौं । पुन: मोबाइलमा अमेरिकी सेनाको समाचार देखिन्छ त्यहाँ भने यति गर्व छ मानौं ऊ त्यो देशको भगवान हो ।
सोचें नहोस् पनि कसरी, शक्तिशाली देशमा आफ्नो व्यावसायिक प्रदर्शन गर्ने उ विश्वलाई लुट्छ र आफ्नो जनतालाई भएजति सुबिधा प्रदान गर्छ । राष्ट्रपतिको सम्मान गर्छ तर राष्ट्रियता माथि कुनै पद किन नहोस् गायब गरिदिने क्षमता राख्छ। यी सबै कुरा मनन गर्दा नेपाली सेना र नागरिक बीचको सम्बन्ध किन यति कलुषित हुदैछ ? यो बारे भने गम्भीर सोच्ने बेला आएको छ।
आउने जागिर खाने परिवार पाल्ने यो सामान्य नागरिकमा पनि लागू हुने कुरा हो तर सेना परिवार मात्रै होइन अरु नागरिकको पनि जिम्मेवारी लिन सक्ने क्षमता राख्ने संस्था भित्र पर्दछ । स्पष्ट रुपमा हेर्दा गणतन्त्र पछिको सेना यति निरीह बनिसक्यो कि म सेना हुँ भन्न पनि लाजमर्दो स्थिति आइसक्यो र नाक खुम्च्याउने परिस्थिति पनि आइसक्यो यो परिस्थिति किन आयो त ?
३०० वर्षको इतिहास बोकेको सेना आज घाणो बन्दै गैरहेको जस्तो ठानिदैछ किनभने सामान्य खोपको जिम्मेवारी लिन नसक्ने र सरकार भन्दै गुलाम गर्ने नेतृत्वतह रहेसम्म यहाँ कमाउने खाने र भरपुर किनुवा सामान प्रयोग गर्दै टुँडिखेलमा उफ्रिनु भन्दा अरु उपलब्धि देखिदैन ।
अझै कुनै विकास निर्माणको जिम्मेवारी लिनासाथ विवादमा तानिनु सेनाको छवि माथिको धमिलो प्रश्न हो । यदि आरोप झुट हो भने आरोपीलाई मृत्युको सजाय र यदि साचो हो भने दोषीलाई टुँडिखेलमा नझुन्डाएसम्म यो सेनाको नाम मात्रै रहनेछ ।
प्रत्येक नागरिक भन्दा सेनाले दुःख गरिरहेको नै हुन्छ तर बाहिरबाट सुतेको मात्रै देखिन्छ । प्राकृतिक विपत्, बाढी पहिराे, उद्धार, लाश दाहसंस्कार, बिहान ४ बजेदेखि बेलुका लगभग १२ बजेसम्म सेना शायदै सुतेको हुन्छ । तर सर्वसाधारण नागरिकको कमेन्ट हेर्दा सरकारले ज्वाईं पालेको जस्तोसम्म आरोप लगाइरहेका हुन्छन् किनभने त्यो दुःख उनीहरुले न भोगेका हुन्छन् न देखेका हुन्छन् । उनीहरुले आफ्नो देशको सैन्य तुलना अरु शक्ति देशको सेनासङ्ग गरिरहेका हुन्छन् र त्यसको १% पनि पाउँदैनन् अनि गाली गर्न थाल्छन्।
जबसम्म आफू संबिधान भन्दा केही माथि उठ्न सक्दैन जुनसुकै सेना यस्तै निरीह नै रहन्छ बाढीबाट बचायो फलानोबाट बचायो भन्ने घमण्ड मात्रै अहिलेको माथिल्लो नेतृत्वको मुख लुकाउने तर्क हो । तर, राष्ट्र र जनताकाे हितका लागि जबसम्म सरकारी नेतृत्वमाथि धावा बोल्ने क्षमता नेपाली सेनाले राख्दैन भने त्यो असक्षम सेना हो जहाँ स्वाभिमान र राष्ट्रियता यसरी धमिलिएको हुन्छ कि स्वच्छताको प्रत्याभूत त्यहाँको जनताले गर्न पाएकै हुदैन।
सेनाको काम के त प्रश्न आउँछ जुनसुकै देशको सेनाले आफ्नो भूगोलमा प्राप्त वस्तुबाट आफ्नो जीविकोपार्जन गर्दै त्यो देशको नागरिकलाई पनि त्यहीँको वस्तु को उपयोगिता दर्शाउन सक्नुपर्छ । तर यहाँ बुट पाकिस्तानबाट त्यो पनि हाकिम र अन्य दर्जालाई छुट्टै स्केल चुस्ता कता कता तेस्रो मुलुकबाट आयातित हुन्छ र त्यसको टेन्डर प्रक्रियाको महङ्गो भार देशमाथि नै परिरहेको हुन्छ।
परको कुरा गर्नै पर्दैन अहिले कोरोना भनेर सिपाहीलाई हर्कत गर्न नदिने आफू घरमा सुतेर भोलिपल्ट दङ्ग पर्दै ब्यारेक प्रस्थान गर्ने महामहिम हाकिम र महामहिम हाकिमलाई सलाम गर्दै अरुलाई त बाहिर कोरोनाको गुँड जस्तो मान्ने र अरुलाई रोकेर ठूलो काम गरेको सोच्ने गेटमा बस्ने बफादार सैनिक उस्तै प्रकृतिका हुन् । अझै सिपाही हेर्न राखिएका सिसि क्यामेराले झन् यत्ति गिज्याउछ कि मानौ नेतृत्व तह कसैको जिम्मेवारी लिन सक्दैन !
अन्त्यमा जबसम्म ब्यारेकमा खाने चामलदेखि सर्वसाधारणले खाने चामल र लत्ताकपडासम्म पनि आफूमा निर्भर हुँदै सरकारलाई बेलाबखत ढाडस दिन सक्ने सेना नबन्दासम्म जर्नेल, कर्णेलले जति चिल्लो गाडीमा मोजमस्ती गरेपनि यहाँ जनताले सरापिरहनेछन् ।
कुनै फेसबुक सामाजिक संजाल प्रयोग गर्न सेनालाई नदिइएला तर हामीले देखेको सेना गाली खाइरहन्छ अनि लाज लुकाएर हिंड्न बाध्य हुन्छ कुनै ब्यबधानमा मृत्युसङ्ग जुध्न सक्ने क्षमता अहिले परिवर्तित उच्च तहले क्षमता राख्छ कि राख्दैन हेर्न भने बाँकी नै छ।



