नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्दीय सदस्यहरूको बैठक आज बस्दैछ । पार्टी विभाजन वा एकतामध्ये कुनै एक बाटो रोज्नुपर्ने बाध्यतामा रहेको यो समूहले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको हो ।
सो समूहका एक नेताले अहिले बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको जानकारी दिए । बैठकमा अनिवार्य उपस्थिति हुन भनिएकाले उपत्यकाबाहिर पुगेका नेता पनि काठमाडौं फर्किएका छन् ।
बैठकमा आफ्नो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने जनाइएको छ । नेपाल समूहमा एक पक्ष पार्टी एकता र अर्को पक्ष विभाजनको मनस्थितिमा छ । आजको बैठकमा यसबारे ठोस छलफल हुने बताइएको छ ।
एमालेको नाममा अलग समूहको बैठक बोलाइएकोमा ओली समूहले भने आपत्ति जनाएको छ । उसले यस्ता अनधिकृत बैठकमा उपस्थित नहुन सबैमा आग्रह गरेको छ ।



