काठमाडौँ, १९ असार (रासस) : नेकपा (एमाले) केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीका विषयमा केन्द्रित भएको प्रचारप्रसार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गर्नुभएको थियो । बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ ।
साेअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने, केन्द्रीय कमिटीको यसअघिको बैठकले तय गरेको आगामी साउन २५ देखि २७ गतेसम्म विधान अधिवेशन काठमाडौँमा गर्ने, त्यसका निम्ति पार्टीका अध्यक्षकाे संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवका संयोजकत्वमा संगठनात्मक प्रस्ताव, सङ्गठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र नेता रामबहादुर थापाका संयोजकत्वमा व्यवस्थापन समिति गठन गर्ने प्रस्ताव पेश भएको थियो ।
१) २०७८ असार मसान्तभित्र पार्टीको सदस्यता नविकरण गरि सक्नुपर्ने। साउन ५ गतेभित्र त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाइ सक्नुपर्ने।
२) आगामी साउन २५र २६ गते पार्टीको विधान अधिवेशन काठमाडौंमा गर्ने। त्यसका निम्ति पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिव ईश्वरको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुख विण्णुको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र बादलको संयोजकत्वमा व्यवस्थापन समिति गर्ने प्रस्ताव।
३) पार्टीका तल्लो तहका कमिटीहरूको अधिवेशन आगामी भदौ ५ गते वडास्तर र १५ गते पालिका स्तरका अधिवेशन गर्ने प्रस्ताव प्रस्तुत।
४) पार्टीका केन्द्रीय तहका ३२ विभागमा रहने सदस्यको नाम प्रस्ताव गरे पनि अहिलेसम्म सिफारिस नआएकोले अविलम्ब पठाउन अनुरोध।
५)अब सिंगो मुलुक निर्वाचनमा जुट्नुपर्ने भएकोले त्यसका लागि जुट्न नेता/कार्यकर्तालाई अनुरोध।
पार्टीको तल्ला तहका अधिवेशनअन्तर्गत आगामी २०७८ भदौ ५ गते वडास्तर र १५ गते पालिकास्तरका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव पेश भएको थियो । केन्द्रीय तहका ३२ विभागमा रहने व्यक्तिको नाम प्रस्ताव गर्न यसअघि नै जारी अन्तरपार्टी निर्देशनअनुसार मागिएको सिफारिश अविलम्ब पठाउन आग्रह गरिएको छ ।
स्थायी कमिटीको आगामी बैठकले विभागमा रहने सदस्यको नामावाली टुङ्ग्याउने गरी प्रस्ताव गरिएको थापाले जानकारी दिनुभयो । सिङ्गो मुलुक निर्वाचनको तयारीमा जुट्न अनुरोध गरिएको छ । पेश भएको प्रस्तावमा घनीभूत छलफल भएको उहाँले जानकारी दिनुभयो ।



