केही कुरा ‘भएन वा गरिएन’ भनेर लेख्यो, ‘खाली नकारात्मक भएको’ टिप्पणी पाइन्छ; सुधारको कुरो त कता हो कता ।
अबदेखि प्लेनको टिकट किन्दा पनि औंसी/पूर्णिमा हेरेर किन्नु पर्ने भएछ; पहिले थाहा थिएन ।
देशको एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कने टिकट शिवरात्रीको दिनको परेछ; जसको कारणले झन्डै १ घन्टा दिमाग रन्थनियो ।
पहिले त, प्लेन काठमाडौंको आकाशमा पुगेपछि ४५ मिनेट भन्दा बढि घुमिरह्यो; कारण, Air Traffic ले गर्दा ल्यान्ड गर्ने अनुमति पाएन रे !
करिब २६/२७ घन्टाको उडान र उत्तिकै Layover बाट थकित बनेको शरीर र मनस्थितिलाई कति दिक्क बनाउँदो हो !
यो मेरोमात्रै कुरा गरेको होइन; पर्यटनलाई प्रमुख आर्थिक स्रोत बनाउन चाहने व्यबस्थालाई प्रश्न गरेको !
बल्लबल्ल सामान संकलन गरी विमानस्थल भित्रैको ‘प्रि -पेड ट्याक्सी’को काउन्टरमा गएर ट्याक्सीलाई पैसा तिर्न जॉदा त्यहॉको मानिसबाट जवाफ पाइयो,’आज मित्रपार्क, चाबहिलतिर ट्याक्सी जॉदैन । ( हातले संकेत गर्दै ) उ त्यो बाहिरको काउन्टरमा जानोस् ! उनीहरुले लग्छन् कि !’
विमानस्थलकै भवनको बाहिरको काउन्टरमा गएर सोध्दा जवाफ पाइयो,’आज उतातिर सबै बाटो बन्द छ, ट्याक्सी जॉदैन !’
मेरो जवाफ, ‘मित्रपार्क त पछाडिको बाटोबाट पनि जान मिल्छ नि !’
काउन्टरमा बस्ने व्यक्ति, ‘त्यस्तो जाममा कसरी मान्छ ट्याक्सी ? हामी गर्न सक्तैनौँ !’
म: ‘अब म के गरौं त ? कसरी घर जाउँ ?’
ती व्यक्ति, ‘बरु यसो गर्नूस्! घरबाट मान्छे बोलाउनूस्, अनि बोकाएर लग्नूस् !’
म: ‘कुन घरमा लगेज बोक्ने मान्छे पालेर राखेको हुन्छ ? त्यो पनि एउटा होइन दुई दुइटा ? गौशालातिर बाट नगए पनि भित्रको बाटोबाट त जान मिल्छ नि !’
ती व्यक्ति झर्किंदै, ‘ बाहिरको ट्याक्सीलाई गएर भन्नूस्, उनीहरुले मान्लान् कि !’
विवश भएर निस्किएँ; बाहिर ४ वटा ट्याक्सीहरुलाई अनुनय/विनय गरें; कोहि टसकामस भएनन् ।
अब कसको घरमा गएर वास बसुं भनेर सोच्दै, दिमागी ऐनामा थूप्रै अनुहारको फोटो खिचें ।
जहॉबाट फर्किएकी थिएँ, उताको एयरपोर्टको सुव्यबस्थाको लोभ गरें।
छोराको घरमा अरु स्टेटबाट आएका पाहुनाले प्लेनबाट ओर्लने बित्तिकै विमानस्थलकै गाडी भाडामा दिने काउन्टरहरुबाट आफैंले गाडी लिएर आएको सम्झिएँ।
छोराकै घरमा आएकामध्ये कसैलाई अर्को स्टेट जान, बुक गरिसकेको बसको टिकट क्यान्सिल गरेर, एयरपोर्ट गएर कार रेन्ट गरेर लिएर गएको सम्झिएँ । एयरपोर्टमा गाडी भाडामा लिंदा ‘अन्त भन्दा सस्तो पाइने र फर्किंदा एयरपोर्टमै गाडी छाडेर गन्तव्यतिर उड्न सजिलो हुन्छ; त्यसैले त्यहिं लिने’ भनेर निर्णय गरेको ताजा स्थितिलाई मनैमन गुनें र अलपत्र मनस्थितिमा, ट्रलीमा ( त्यो पनि बल्लबल्ल पाएको, माथी पट्टीको क्यारियर भॉच्चिसकेको ) सामान राखेर उभिइरहें ।
सोच्न त सोचिसकेकी थिएँ, आजको रात नातेदारको घरमा काट्नुपर्ला !
तर पनि मानिसलाई दुनियॉको सबै सुख सयल छाडेर आफ्नै गुँड प्यारो लाग्छ नि !
पर… २/३ वटा कालो प्लेटको ट्याक्सी रोकेको देखेर ‘ट्राई मार्न’ मन लाग्यो । गएर एउटा २०/२५ वर्षको अलि मनले खाएको जस्तो ड्राइभरलाई सोधें, ‘भाइ, मित्रपार्क जान्छ ?’
उसले परबाट, म अरु ट्याक्सीसंग गिडगिडाइरहेको देखेको थियो; उल्टै प्रतिप्रश्न गऱ्यो, किन ? त्यो ट्याक्सीहरु नजाने रे ?’
‘नजाने रे! अगाडि बाटो बन्द छ रे; भित्रको बाटो जाम हुन्छ रे !’
‘त्यो त हो नि दिदी !’ उसको जवाफ ।
‘म, जाम नहुने बाटो देखाउँछु, लगिदिनूस् न प्लिज !’ मेरो गिडगिडाहट ।
उ बल्ल १ हजारमा राजी भयो; म २ हजार नै दिन परे पनि तयार थिएँ ।
उसले मलाई ट्याक्सीको अगाडि सिटमा बस्ने आदेश दियो र भन्यो, ‘म अर्को दुई जनालाई पनि लग्दिन्छु है !’ त्यो अनुरोध जस्तो देखिए पनि निर्णय थियो ।
आफ्नो त हालत, ‘मर्ता? क्या न कर्ता ?’ नै थियो।
उ गएर मानिसहरु बोलाएर ल्यायो, २ होइन ३ थिए; दुई हट्टाकट्टा पुरुष र १ महिला, भारतीय मूलका ।
हामी, एयरपोर्ट अगाडिको बाटोबाट खोलाको बाटो हुंदै झऱ्यौं, त्यहॉ नजिकैको होटेलमा उनीहरुलाई ओराल्यो। उनीहरुलाई पनि कति पैसाले ढाड सेकायो होला ? मनैमन गमिरहेँ ।
त्यसपछि सिनामंगल, पुरानो बानेस्वर भएर सेतो पूलको छेउबाट खोलाको बाटोबाट रातो पूल, कालो पूल, सिफल हुंदै मित्रपार्क पुग्यौं। पुरानो बानेस्वरमा एकैछिन बाहेक बाटो कतै जाम भएन ।
धन्न घर आइपुगियो ।
पर्यटनबाट पैसा कमाउने लक्ष राख्ने तर स-साना कुराको विकल्पसमेत सोच्न नसक्ने व्यवस्थापन; ‘कस्टमर सर्भिस’को बोर्ड झुन्ड्याउने तर कस्टमरलाई नै Guilty महसुस गराउने व्यबस्था; देशप्रति पहिलो IMPRESSION पर्ने विमानस्थलको स्थितिलगायतका कुरा उठायो भने ‘खॉटी राष्ट्रवादी’का ‘पवनपुत्र’हरु अरिंगालको गोलो खनिए झैं खनिइ हाल्छन् ।
तर मेरो ठाउँमा, पहिलो पटक नेपाल पसेको विदेशी रहेछ भने कस्तो छाप बोकेर जाला ? सम्बन्धित क्षेत्रले विचार गर्नुपर्ने होइन ?
२०७४ फागुन १ गते



