काठमाडाैं । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७८ ज्येष्ठ १७ गते सुदूरपश्चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाबाट सुदूर पश्चिम पृतना अन्तर्गत बोराडाँडीमा नवनिर्मित फिल्ड अस्पताल, नेपाली सेना सुपथ मूल्य क्यान्टिनको धनगढी शाखा र तेघरी स्थित सैनिक शिविरको उद्घाटन गरिएको छ ।
नेपाली सेनाका हिताधिकारीहरुलाई क्षेत्रगत रुपमा नै विभिन्न सुविधाहरु प्रदान गर्ने लक्ष्यका साथ यी संरचनाहरु तयार भएकाे नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
साथै, प्रधान सेनापति थापाले मध्य पश्चिम पृतना अन्तर्गत नवलपरासीमा तैनाथ कालीध्वज गण र उत्तर पश्चिम पृतना अन्तर्गत बाँकेमा तैनाथ अर्जुनवाण गणको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्ष बारे जानकारी हासिल गर्नुका साथै सकलदर्जाहरुलाई सम्बोधन समेत गरेका थिए ।



