🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सवाल सत्ताको छ– त्यसैले षडयन्त्र हुनसक्छ

सुष्मा स्वराजमय बनेको छ नेपाली राजनीति । स्वराज आइन् भन्दै मिडिया रंगिए, उनी आइन्, समग्र मिडियाको ध्यान स्वराजमै केन्द्रित थियो । स्वराज गइन्, के गरेर गइन् भन्ने अड्कालवाजीमा मिडिया केन्द्रित छ । यो स्वाभाविक पनि हो । भारतजस्तो बलियो र नेपालको समग्र निर्भरता रहेको देशकी विदेश मन्त्री आउँदा चासो, उत्सुकता र के गरिन् भनेर सोधीखोजी हुनु अस्वाभाविक होइन । 

स्वराजको भ्रमणबाट एउटा तथ्य पुन स्थापित भयो, नेपाली राजनीतिमा भारत निकै बलियो शक्ति हो । नेपाली राजनीतिको रौं रौंमा भारतको पहुँच छ, उपस्थिति छ, चासो छ, रुची छ अनि हस्तक्षेप पनि छ । यो भ्रमणले संकेत के गरेको छ भने यहाँको सरकार आफू अनुकूल होस् भनेर भारत जुनसुकै कदम चाल्न तयार छ । पेल्न पनि तयार छ, झुक्न पनि तयार छ । सुष्माको भ्रमण एक ढंगको झुकाई पनि हो, झुकेरै आएकी हुन् । भारतजस्तो शक्तिशाली देशकी विदेशमन्त्री यसरी झुकेर ललाइफकाई गर्न आउनुपर्ने अवस्था किन आयो ? विचारणीय कुरा छ ।

सुष्मा आउनु भनेको एमाले झुक्नु हो, केपी ओलीले सबै अडान छाड्नु हो भन्ने अर्थमा पनि अनेक व्याख्या भइरहेको छ । नेपाली नेता भारत जा“दा पनि नेपाली झुके भन्ने, भारतीय नेता लुरुक्क परेर नेपाल आउ“दा पनि नेपाली नै झुके भन्ने, यो कस्तो तर्क हो ? यो कस्तो परिवन्द हो ? बुझ्न गाह्रो भएको छ । खासमा नेपाल र भारत या एमाले नेताहरु या भारतीय नेताहरु झुक्नुपर्ने ढंगको अवस्था होइन । स्वराज झुकेरै नेपाल आएकी हुन्, यसको अर्थ यो होइन कि भारतले आफ्ना सबै एजेण्डा र स्वार्थ त्यागेर झुक्ने काम गरेको छ । भारतले आफ्नो स्वार्थ छाड्दैन, त्यहा“का नेताहरुले आफ्नो देशको स्वार्थ र हित छाड्दैनन् । नेपाली नेताले पनि देशको हित नछाडुन्, नेपालको राष्ट्रिय स्वार्थलाई बाग्मतीमा नसेलाउन् । कुरा यही हो ।

सुष्मा स्वराज आउनु अघि नै केपी ओली प्रधानमन्त्री बन्ने टुंगो लगभग लागिसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अनेक खोंचे थापेर सिंहदरबार छाडेनन्, त्यसैले ओलीको सत्तारोहणमा विलम्ब भयो । देउवाले तगारो हालेका थिएनन् भने ओली प्रधानमन्त्री बनिसक्थे । त्यसैले स्वराज आएको कारणले ओली प्रधानमन्त्री बन्छन् भन्ने तर्क युक्तिसंगत देखिंदैन । बिर्सन नहुने अर्काे तथ्य के हो भने केपी ओलीको भारतीय नेताहरुसंग सम्बन्ध राम्रो छ कि नराम्रो छ भन्ने गौण विषय हो । अहिलेसम्म ओली एमालेका अध्यक्ष हुन्, उनी कुनै राजकीय पदमा छैनन् । राजकीय पद अर्थात् प्रधानमन्त्री पदमा पुगेपछि ओलीले विगतमा आफ्नो सम्बन्ध कोसंग राम्रो या नराम्रो थियो भन्ने बिर्सन पर्ने हुन्छ, उनले निजी सम्बन्ध सम्झन मिल्दैन । झन्, विदेशी या अन्य मुलुकसंग निजी धारणाका आधारमा ओलीले व्यवहार गर्न मिल्दैन । प्रधानमन्त्री बनेपछि ओलीले भारत या अन्य मुलुकसंग जे व्यवहार गर्छन्, त्यो व्यवहार नेपालको तर्फबाट हुन्छ ।

ओली यसै प्रधानमन्त्री बन्दैछन्, उसै प्रधानमन्त्री बन्दैछन्, उनलाई भारतीय समर्थनले प्रधानमन्त्री बन्नमा खासै फरक पर्ने देखिंदैन । ओलीलाई रोक्न मात्र होइन चुनाव जित्नमै पनि भारतले तगारो नहालेको होइन, वाम गठवन्धन बन्न नदिन पनि प्रयास गरेकै हो । तैपनि सकेन । अहिले प्रधानमन्त्री बन्दैछन्, अब भारतले ओलीसंग जोरी खोज्ने होइन फकाउने नीति लियो । 

ओली र भारत कुनै न कुनै विन्दूमा मिल्नु नै थियो । मिले, उनीहरुको मिलाप कस्तो हो भन्ने समयक्रमले बताउला । भारतसंग नेपालले या नेपालसंग भारतले सत्रुता गरेर बसिरहन मिल्दैन । सम्बन्ध नराम्रो थियो, सत्रुता पनि थिएन । ओलीको पनि सत्रुता थिएन । अब मिले, मित्र बने । भारतले ओलीलाई र ओलीले भारतलाई पूर्ण विश्वास गरिसकेका हुन् त ? यो महत्वपूर्ण प्रश्न छ । र, योभन्दा महत्वपूर्ण प्रश्न हो, ओली र सुष्मा स्वराजको सेरोफेरोमा चलिरहेको राजनीति–कूटनीतिको खेलमा नेपालले के पायो ? कि गुमायो ?
जबजब नेपाल र भारतबीच पेचिलो कूटनीतिक खेल चल्छ, केही न केही लेनदेन भइहाल्छ । र, यस्तो लेनदेनमा नेपालले घाटा व्यहोर्दै आएको छ ।

अब पनि त्यस्तै हुने हो कि ? शंका गरिनु अस्वाभाविक होइन । हुन त शंकाकै कुरा गर्दा नेपाली नेता भारतजा“दा पनि नेपाली नेतालाई नै शंका गरिन्छ, भारतीय नेता नेपाल आउ“दा पनि नेपाली नेतालाई नै शंका गरिन्छ । स्वराज नेपाल आइन्, उनले आफ्नो देशको हित विपरीत केही गर्लिन् भनेर भारतमा शंका गरिएन, प्रश्न उठाइएन । नेपाली नेताहरु भारत गएर त्यहा“का नेताहरुलाई भेट्छन्, त्यसरी भेट्दा आफ्नो देशको अहित र नेपालको हितमा नेताहरुले केही गर्लान् भनेर भारतमा शंका गरिंदैन । प्रश्न पनि उठाइ“दैन । तर, नेपालको फरक अवस्था छ । शायद, देश कमजोर भएकोले हामी विदेशीलाई भन्दा आफ्नै नेतालाई शंका गर्छाैं । नेपालले भारतसंगको व्यवहारमा जहिलेतहिले घाटा सहनुपरेको हुनाले यस्तो शंका नाजायज पनि होइन ।

नेपाल भारत सम्बन्ध अब पहिले जस्तो रहन सक्दैन । भारतले छिमेकी देशहरुलाई अधिनस्थ राष्ट्रजस्तो व्यवहार गर्ने, नियन्त्रण गर्न खोज्ने, हेपाहा व्यवहार गर्ने काम गर्दै आइरहेको थियो । नरेन्द्र मोदीले बहुमतको सरकार बनाएपछि छिमेकीसंग मितेरीको व्यवहार गर्ने नीति घोषणा गरे । मोदीले आफ्नो सपथ ग्रहण समारोहमा नेपालसहित सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई बोलाए ।

भारतीय नीति पुरै फेरियो, अब मित्रता र सहकार्यको युग सुरु हुने भयो भन्ने ठानियो । तर, नाकावन्दी लगाएर भारतले अतितको भन्दा हेपाहा रुप प्रदर्शन ग¥यो । यसैकारण नेपालसंग सम्बन्ध बिग्रियो । भारतको पाकिस्तानसंग सत्रुतापूर्ण सम्बन्ध छ भने चीनसंग पनि सम्बन्ध बिग“दै गएको छ । अन्य छिमेकी देशहरुसंग पनि सम्बन्ध विश्वासपूर्ण छैन । यो अवस्थामा नेपाललाई विश्वासमा लिन सुष्मा स्वराज आएकी हुन् भने त्यसमा अन्यथा ठान्नु भएन । तर, भारतको बोली र व्यवहारमा आकाशपाताल फरक छ भन्ने नेपालीले भोगिसकेका छन् । 

भारत र नेपाल सीमा जोडिएका छन्, त्यसैले मिल्नुको विकल्प छैन । नमिली सुखै छैन । तर, मिल्ने कसरी ? स्वराजको भ्रमणका बेला यो प्रश्नको जवाफ खोजियो कि सरकार टिकाउने र गिराउने, कसैलाई जुटाउने र फुटाउने जस्ता प्रश्नको जवाफ खोजियो ? प्रश्न उठेको छ । स्वराजको भ्रमणले नेपालमा भारतीय हस्तक्षेपको नियत प्रष्ट भएको छ । नत्र, सरकार बन्ने बेला राजनीतिक भेटघाट गर्न किन आउनुप¥यो ? उपयुक्त मौसममा भ्रमण भयो त ? निश्चय पनि भएन । नेपाल देशसंग सम्बन्ध सुधार्न भ्रमण भएको हो भनेर मान्न सकिने आधारहरु कमजोर छन् । राजनीतिक चलखेलकै लागि यो भ्रमण हो भन्न सकिने आधार धेरै नै देखिन्छ । यदि यसै हो भने दुई देशको सम्बन्ध सहज र सामान्य हुन गाह्रो छ । 

केपी ओली प्रधानमन्त्री हुन अझै केही दिन बा“की छ । राजनीतिका कुटिल दाउपेच भित्रभित्रै चलिरहेका हुनसक्छन् जो अस्वाभाविक होइन । अहिले देखिए जसरी नै राजनीति अगाडि बढ्ला भनेर निश्चयसाथ भन्न सकिन्न । अब खेल अनेक हुनसक्छ, षडयन्त्र अनेक हुनसक्छ । किनभने नेपाल भनेको षडयन्त्र नै षडयन्त्रको देश हो, अनेक षडयन्त्र हुनसक्छ । किनभने सवाल सत्ताको छ । सत्ताका लागि जति षडयन्त्र अन्य कुनै क्षेत्रमा हुन्छ र ?

(हेर्नुस २०७४ माघ २२ को साँघु साप्ताहिक)