प्रधानमन्त्रीले २०७७ माघ २८ गतेको प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको काठमाडौंको सभामा भएको भाषणको शैलीलाई व्यङ्ग गर्नुभयो । उहाँले भन्नुभयो–‘एउटा पार्टीको एउटा विरोध सभामा बोल्न १६ जना चाहिन्छ ?’ ‘एउटै विषयमा एउटा आयो बोल्यो, अर्काे आयो बोल्यो गयो गर्दै १६ औं सम्मले बोल्ने कुरा एउटै !’‘अनि किन १६÷१६ जनाले बोल्नुपर्ने ?’‘पार्टीको विचार एउटैले भन्दा पनि हुन्छ, कि फरक–फरक विषय हुनुपर्यो †’ ‘जस्तो एउटाले कृषिको बारेमा बोले हुन्थ्यो, अर्काले पर्यटनको बारेका बोले हुन्थ्यो आदि आदि ।’ वास्तवमा एउटा व्यवस्थित सभा संचालनको वैज्ञानिक र उत्कृष्ट तरिका र विधिको दृष्टिबाट विश्लेषण गर्नुपर्दा त्यो भनाईमा महत्वपूर्ण आधार र अनुभव लुकेको छ ।
यो केवल त्यो आमसभाको मात्र कुरा र चर्चा होइन । खासमा हामी कस्ता आमसभा, सभा र औपचारिक राजनीतिक–सामाजिक कार्यक्रमहरू कसरी गर्दैछौं त्यो एउटा गम्भीर मूल्यांकन र खोजको विषय हो । किन मानिस, कार्यकता र जनतालाई औपचारिक कार्यक्रम वा प्रशिक्षण वा भाषण पट्यारलाग्दो र बोझिलो बन्दैछन् । यो एउटा विवेचना र विश्लेषण गर्नैपर्ने विषय भएको तर्फ सबैले सोच्नुपर्ने भएको छ । प्रधानमन्त्रीले जे जस्तो सोचले व्यङ्ग गर्नुभएको भएपनि त्यो कुरामा दम र सामाजिक यथार्थता भने लुकेकै छ ।
राजनीतिक, सामाजिक र साँगठानिक कार्यक्रमहरू, प्रशिक्षण तथा भाषण गर्ने विभिन्न कार्यक्रमहरूको ढाँचा र तरिकाहरू हेर्ने होे भने ती अत्यन्त लामा, पट्यारलाग्दा, परम्परागत, पूरातन (बिरालो बाँध्ने विधि) र कहिले सक्लान् भन्ने खाले हुने गरेका छन्, हुन्छन् । यस्तो किन गरिन्छन् र गरिँदैआएको छ ? यस्तो खाले मोडेललाई परिर्तन गर्न सकिन्न ? भन्ने सवाल फेरि एकपटक सतहमा आएको छ । प्रधानमन्त्रीको सो व्यङ्गलाई धेरै मानिसले युट्युबमा बढो चाखपूर्वक हेर्दैपनि आएको देखिन्छ । हामी कस्ता प्रकारका कार्यक्रमहरू गर्दैछांै र त्यसमा कसरी सुधार र परिवर्तन गर्न सकिन्छ भन्ने कुराको चिन्चन–मनन र विश्लेषण गर्नैपर्ने अवस्था छ ।
हाम्रा कार्यक्रम र सभाका नमुना
विशेषगरी राजनीतिक कार्यक्रम, सभा र प्रशिक्षणहरू अति नै भद्दा हुने गरेका छन् । एउटा क्षेत्रीय कार्यक्रम होस, वडाको कार्यक्रम होस, जिल्ला स्तरीय कार्यक्रम होस, प्रदेश स्तरीय होस वा भातृ संगठनको होस, केन्द्रीय स्तरका विभाग र केन्द्रीय कार्यक्रमहरू हेर्ने हो भने अत्यन्त थोरै स्थानमा मात्र सिर्जनात्मकता र छरितोपना देखिन्छन् । बाँकी जतिपनि त्यस्ता कार्यक्रमहरू स्रोत, कार्यकर्ता र सहभागीलाई पीडा दिने खालका लम्बालम्बा र एउटै कुरा पटक–पटक दोहोरिने गरेका देखिन्छन् । सहभागी, समय र कार्यक्रमको रूप जस्तो भएपनि दर्जनौं अतिथिहरूको अतिथि आसनग्रहणले धेरै समय खाएको देखिन्छ । त्यसपछि उही पूरानै विधि र तरिकाबाट लाइनका–लाइन ‘अगुवा, नेता र प्रशिक्षक’ भनि बोलाइएका व्यक्तिहरूको ‘ताइनतुइको (जहिल्यैको भाषणमा उही कुरा) र बनीबनाउ’ भाषण ‘सुगाले रटेको जस्तो’ ‘यो देश गम्भीर संकटबाट गुज्रिरहेको छ’, ‘हाम्रो समूह महान’, ‘लोकतन्त्रको लागि हामी लाग्यौं’ जस्ता ‘रेडिमेट’ भाषणबाटै सबैको भाषण–प्रशिक्षण सुरु हुन्छ र त्यसैमा गएर अन्त्य हुन्छ, हुनेगरेको छ र हुँदैआएको छ । यस्ता ‘परम्परागत’ कुनै तथ्य, प्रमाण, तर्क, उदाहरण र आधार नदिइएका ‘हुँकार’ सुन्दा–सुन्दा मानिस, जनता र स्रोताका कान बोझो र भित्र नछिर्ने भईसकेको देखिन्छ ।
अर्काे त्यसमा पनि प्रधानमन्त्रीले व्यङ्य गरेजस्तै जो आउँछ उही कुरा भन्छ । जो आउँछ अर्काे समूह, नेता र प्रवृत्तिलाई गाली गर्छ र भए–नभएको आरोप लगाउँछ । उसले र उनीहरूले सोच्दैनन् र बुझ्दैनन् त्यस्तरी एकोहोरो नचाँहिदो आरोपहरू गीत र भजन जस्तोगरी धाराबाहिक गाईएपछि के अवस्था हुन्छ ?त्यस्तो तरिकाले स्रोता र दर्शकको मनमा विपरित प्रतिक्रिया हुन्छ र उल्टो बुझ्ने र सोच्ने हुन्छ, हुनसक्दछ र भईआएको छ भन्ने कुरा बोल्नेले हेक्का राख्दै सकेनन् । यो पक्ष गम्भीर र सोचनिय पक्ष हो । बिना आधार, प्रमाण, तर्क सुनेको आधारमा र नाराको शैलीमा सबैले कुनै अर्काे समूह वा नेतालाई त्यसरी धुँवाधार गालीको पर्रा बर्साईरहेने कुराको सकारात्मक प्रभाव परेको देखिन्न ।
विगतमा पनि हेरौं न ! पंचायतले प्रजातन्त्रवादीहरूलाई सराप्यो र आरोपैआरोप लगायो । तर नागरिक त्यसको विपरित भईदिए । बहुदल आएपछि काँग्रेसले कम्युनिष्टलाई आरोपैआरोप लगायो । त्यो जनताले पत्याएनन् । चुनावमा काँग्रेस पछारियो । राजा र सत्ताले माओवादीलाई ‘आतंककारी’ भनि आलोचना मात्र गरिरहयो । तर पछि माओवादी ठूलो शक्ति भएर आयो । यद्यपि माओवादीमा घमण्ड जन्मियो र अरूलाई सराप्न थाल्यो, धारेहात मात्र लगायो । त्यसपछि ऊ पनि कमजोर भयो । निर्वाचनमा हार्यो । यस्ता घटना राजनीतिमा घटेका छन् । अब अहिले नेपाल कम्युनिष्ट पार्टी फुटेपछि (अनौपचारिक) गाँड कोराकोरको श्रृंखला चालू छ । त्यसले कसलाई नोक्सानी गर्ने हो त्यो हेर्नुपर्ने अवस्था छ । त्यसो भएकोले सामान्य सामाजिक मूल्य, नैतिकता र सामाजिक आचरणलाई पनि भुलेर गालीको बर्षा फुटाउँदा त्यो प्रतिउत्पादक बन्न सक्दछ ।
कसरी सिर्जनात्मकता दिने ?
भाषण, सभा र कार्यक्रमलाई सिर्जनात्मकता दिएर स्रोता र दर्शनलाई बोर नहुने गरी संचालन गर्न बिचबिचमा नयाँपन दिने, नयाँ शैलीको प्रयोग गर्ने, हास्यव्यङ्ग राख्ने, गीत गजल प्रस्तुत गर्ने गर्न सकिन्छ । अर्काे तर्फ अतिथिको आसन ग्रहण गर्ने कार्यक्रमलाई सकेसम्म कम गर्नु पर्दछ । कार्यक्रमको विषय, क्षेत्र, सरोकार, पदीय जिम्मेवारी, आवश्यकता आदि सबैको ख्याल गरी सीमितलाई अतिथि बनाउन सकिन्छ र त्यसो गर्नुपनि पर्दछ । बोल्ने क्रम पनि त्यसैगरी सीमित बनाउन सक्नुपर्दछ । अर्काेतर्फ बक्तालाई पदीय हैसियत, क्षमता, ज्ञान, क्षेत्र, आवश्यकता, प्रभावकारीता, सभाको अवस्था, उद्देश्य र बस्तुगत आवश्यकता आदिको आधारमा विषय र समय दिन सक्नु पर्दछ । विषय दिँदा सभामा उपस्थित दर्शक–स्रोताको सहभागिता, समय, आवश्यकता र अर्थ हेरेर सटीक, जानकारीमूलक र उद्देश्यमूलक विषय दिन सक्नुपर्दछ । ती विषय राजनीतिक नै हुनुपर्दछ भन्ने केही पनि छैन् ।
एउटा राजनीतिक कार्यकर्ता, नेता, सामाजिक अभियन्ता र सहभागी पनि यही समाजमा बाँच्ने र टिक्नुपर्ने भएकोले उसलाई राजनीतिक, सामाजिक, आर्थिक, राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रका अनेकौं ज्ञान र जानकारीको खाँचो हुन्छ र छ । त्यसो भएकोले अनेकौं विषयलाई विभाजन गरी विज्ञता, क्षमता, ज्ञान र आवश्यकताको आधारमा बोल्ने बक्तालाई विभाजन गर्न सकिन्छ र गर्नुपर्ने खाँचो पनि छ । अर्काे खुल्ला गर्दा लामो मात्र हुन्छ । विषय उही दोहोरिन्छ ।
केही नमुना विषय
अनेकथरि विषय छन् र हुन्छन् । राजनीतिक–साँगठानिक र सामाजिक कार्यक्रम गर्दा त्यस्ता विषयहरूलाई उठाउन सकिन्छ । स्रोता–दर्शक र सहभागीलाई जहिल्यै समाजमा चाहिने तर सामान्य ज्ञान पनि नभएका अनेकौं विषय हुन्छन् र छन् । त्यस्ता विषयमा छोटो जानकारी र सूचना दिन सकिन्छ । जस्तो राजनीतिक दर्शन, संघीयता र विश्व अनुभव, संविधान र यसको अर्थ, नेपालको शासन, प्रणाली, विधिको शासन, साइवर क्राइम र समाजमा असर, महिला हिंसा र रोकथाम, भूराजनीति र नेपाल, नेपालको राष्ट्रियता, नेपालको पर्यटन, रोजागारी, साना रोजगारका क्षेत्र, स्वरोजगार र प्रेरणा, राजनीतिमा युवा सहभागिताको अर्थ, जीवनको लागि नैतिक मूल्यको महत्व, मानवअधिकार र अर्थ, मानिसको जीवनमा सफलताको लागि आधारभूत तत्वहरू, सफल जीवनका आधारहरू, भूराजनीति र नेपालमा प्रभाव, मुलुकको सुरक्षा र स्वतन्त्रता आदि जस्ता अनेकौं अनेक विषय र सन्दर्भ हुन सक्दछन् र हुन्छन् ।
त्यो कुरा कार्यक्रमको स्वरूप, सहभागिता, समय र आवश्यकता आदिको आधारभा छनौट गर्न सकिन्छ । त्यसो गर्न सकेको खण्डमा मात्र कार्यक्रममा एउटै विषय सबैले बोल्नु पर्दैन र प्रधानमन्त्री ओलीले व्यङ्ग गर्नुभएको जस्तो अवस्था हुँदैन कि ? राम्रो र सिर्जनात्मक कुरा जसले भनेको भएपनि लिन र सिक्नु हुन्छ । त्यसमा पनि देशकै प्रधानमन्त्रीले भन्नुभएको कुरामा पक्कै आधार दम छँदैछ ।



