काठमाडौं । पूर्व आईजीपी तथा एमाले नेता सर्वेन्द्र खनालले, राजनीतिक संरक्षणकै कारण आपराधिक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् ।
राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको ठोकुवा उनले गरेका छन् ।
असाेज २० गते शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा गैरहेको बताए ।
उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अङ्क मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि ।
प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमा समेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दिंदै जाने ? के का आधारमा भन्दा जतिखेर उहाँहरुलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ?’
उनले सरकारले अपराधीलाई कैद मिनाह गरी आममाफी गरेको विषयले अपराधीले सरकार र राजनीति चलाइरहेको सन्देश गएको टिप्पणी गरे ।
‘अपराधीलाई राजनीतिकरण जुन किसिमले गरिएको छ र अपराधले राजनीतिलाई चलाउने, अब म आए आत्तिनु पदर्नै भन्ने खालको सन्देश सरकारले दिंदै जान्छ । निमुखालाई मात्रै कानून लाग्ने ?’
देशमा शान्ति सुरक्षा नै राम्रो नभएको परेकोले जनता देशमा बस्न नचाहेको भन्दै खनालले शान्ति सुरक्षाको अवस्था जर्जर भएको आरोप लगाए ।
‘देशलाई ऋणमा डुवाइदिएका छन् । आय आर्जनको कुनै क्षेत्र छैन । पढे लेखेका विद्यार्थी पनि बाहिर पलायन भएका छन् । राम्रा पढेकाहरु बाहिरबाट यहाँ आएर काम गर्ने वातावरण छैन ।
हुँदाहुँदै शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेपछि नेपालमा को बस्न खोज्छ र ? मानिसले सबैभन्दा पहिला सुरक्षा खोज्छन्, बाँचु भन्छन, त्यो अवस्था नै राख्न नदिने अब ?’, खनालले प्रश्न गरे ।
उनले प्रहरीले अनुसन्धान गरी दोषी ठहर भएका अपराधीलाई सरकारले छोड्दा सम्बन्धित निकाय चुप बस्ने प्रवृत्ति राम्रो नभएको धारण पनि राखे ।
खनालले भने, ‘प्रहरीले पनि अपराधीलाई छोड्ने कुरामा यो हुन्छ यो हुन्न भन्ने कुरा दह्रोसँग गर्नुपर्यो नि । प्रहरी संगठनका मान्छेले अपराधी समात्न सबैले खटेर, ज्यान हत्केलामा राखेर काम गरेका छन् नि ।
सबैलाई छोड्दिने हो भने किन प्रहरीले अपराधी समात्ने ? सबै सरकारलाई छोड्दिए भौगो नि, अपराधीको करार पनि उनीहरुले नै गरुन, अभियुक्तलाई ल्याउन परे पनि यसलाई ल्याइदे भनून, कसैको मान्छेलाई बोलाउँदै यसो गर त्यसो गर भन्न पाइन्छ ?
अनुसन्धान गरेको विषयमा आइजीपीले पनि यो वा त्यो गर भन्न पाउँदैन, अनुसन्धान गरेको कुरामा अनुसन्धान अधिकृत जिम्मेवार हुन्नुपर्छ ।
काम गर्नुपर्ने त्यसरी हो । त्यहाँ भएन भने अर्कोले सुपरभिजन गर्ने हो, नराम्रो काम गर्ने बद्मासहरु छुट्न हुँदैन भन्ने हो । त्यसकारण यसले संगठनप्रतिको नैतिक पक्षमा असर गर्छ ।’



