काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपले पहिलो पटक राखेप च्याम्पियनसिप प्रतियोगिता आयोजना ग¥यो । राखेपले राम्रै नियतले गरेको यो च्याम्पियनसिप दोषमुक्त हुन सकेन । राखेपले खेलकुद संघहरूलाई रकम विनियोजन गरेर दिएपछि उनीहरूले नै व्यवस्थापन गर्नुपर्नेमा राखेपको जोड रहे पनि संघहरूले अव्यवस्थित तरिकाले प्रतियोगिता आयोजना गर्दा रकममात्र खेर गएको र त्यसबाट उत्पादन राम्रो नभएको राखेपले नै विष्लेषण गरेको छ । राखेपका एक उच्च अधिकारी नै राखेप च्याम्पियनसिप झारा टार्ने खेल भएको बताउँछन् । उनले भने,–‘सबैजसो खेलका क्षेत्रीय प्रतियोगितासमेत आयोजना नगरी राष्ट्रिय प्रतियोगिता गरिएको छ यसको आधार के त ?’ त्यसका लागि राखेपले रकम दिएको थिएन ।
त्यसबारे उनी भन्छन्, ‘खेलकुद संघहरूले पहिलेदेखि नै आफ्नो स्रोत खर्चेर स्थानीय प्रतियोगिताहरू गर्नुपर्दछ, यहाँ त सबै केन्द्रबाटै रकम लिएर त्यसमा पनि रकम बचाएर भ्रष्टाचार गर्ने परिपाटी छ त्यो गलत हो ।’ यसको छानबिन भने हुन नसकेकामा उनले दुःख व्यक्त गरे । उनी भन्छन्, ‘पहिलेदेखि नै भ्रष्टाचार भइरहेको छ तर छानबिन गर्न कोही अगाडि तम्सेन ।’
किन त ? उनी भन्छन्, ‘पदाधिकारीका पनि आफ्ना खेलकुद संघ छन् त्यसबाट खाइहाल्छन् । चोखा भए पो छानबिन हुन्थ्यो होला ।’ उनले आफू पनि त्यसबाट अछुतो हुन नसकेको स्वीकारे । तर उनले राखेपले दिने रकममा समानता नभएको स्पष्ट पारेका छन् ।
राखेपले यसपटक प्रतियोगिता गर्नका लागि कुन खेललाई कति रकम दियो त ? अनि कहाँ कति रकम खर्च गरेको देखायो त ? साँघु साप्ताहिकलाई प्राप्त कागजअनुसार सबैभन्दा बढी रकम अखिल नेपाल फुटबल संघ एन्फाले २२ लाख रुपैयाँ पाएको छ । एन्फाले क्षेत्रीय प्रतियोगिता बिना नै सीधै आयोजना गरेको ८÷८ टिम सहभागी प्रतियोगिता आयोजनामात्र गर्नका लागि एन्फाले २२ लाख पाएको हो । एन्फाले हरेक प्रतियोगिता गर्न उसलाई फिफाले नै थुप्रै रकम दिएको हुन्छ । त्यसको दुरुपयोग भएको आशंका छ ।
अपारदर्शी तरिकाले भलिबल संघले २० लाख, नेपाल कराँते संघले १८ लाख, नेपाल तेक्वान्दो संघले १८ लाख, नेपाल एथलेटिक्स संघले १८ लाख पाएका छन् । त्यसैगरी उसु संघले १५ लाख, नेपाल बास्केटबल संघले १७ लाख, कबड्डी संघले १६ लाख, ह्याण्डबल संघले १३ लाख, ब्याडमिन्टन संघले १३ लाख, खोखो संघले १३ लाख, भारत्तोलन संघले १२ लाख, हक्की संघले १२ लाख, बक्सिङ संघले ११ लाख, अखिल नेपाल लनटेनिस संघले १० लाख पाएका छन् ।
सबैभन्दा कम सफ्ट टेनिस संघले तीन लाख रुपैयाँ पाएको छ ।
बास्केट फण्डमा १८ लाख रहँदा सबैभन्दा बढी ४८ लाख रुपैयाँ सहभागी खेलाडीहरूको ट्र्याकसुटमा रकम विनियोजन भएको छ । यसरी रकम विनियोजन गरिएको तीन करोड ७६ लाखको उपलब्धी के होला त ? त्यो त भविष्यले देखाउने नै छ । सबैभन्दा ठूलो त खेलकुद संघहरू किन जिम्मेवार बन्न सकेनन् भन्ने नै हो ।
यसै प्रतियोगिताबाट १३ औं दक्षिण एसियाली खेलकुद साग र एसियाली खेलकुद एसियाडका लागि खेलाडी छनोट हुँदैछन् । अब यो झारा टार्ने प्रतियोगिताबाट खेलाडीहरू कसरी उत्कृष्ट छनोट भए होलान् ? बिना डाइट फाइट गरेका खेलाडीले के नै प्रदर्शन गरे होलान् ? के खेलकुद संघहरूले धोका दिंदा राखेपको नेतृत्व चुप लागेर बस्ला वा कार्वाही गर्ला ?



