काठमाडौं । नेपाली खेलाडीहरू कम डाइटका कारण खेल मैदानमा उत्रिंदा ढलेका उदाहरण धेरै छन् । डाइटका नाममा एक प्लेट चना र एउटा अण्डा दिएर बन्द प्रशिक्षणमा राखेका घटना पनि नौला हैनन् । तर, समयसंगै नेपाली खेलकुदले कोल्टे फेरेको रटान गर्न थालेको धेरै भए पनि खुराक पीडित खेलाडीहरूको हालत अहिले पनि त्यस्तै पाइएको छ । अझ रोचक कुरो त के भने अहिले पहिलो पटक भएको राखेप च्याम्पियनसिपमा २९ खेल समावेश भए । प्रतियोगिता पनि भयो । खेलाडी छानिए ।
कतिले मेडल पनि जिते । कतिले जितेनन् । हारेकाले खेलाडीहरूले अर्कोपटक बदला लिन्छु भनेर खेल्ने हो कि हैन भन्ने टुङ्गो छैन ।
राष्ट्रिय खेलाडीहरू धेरैजसो रोजगारीका लागि खाडीदेखि अमेरिकासम्म भासिएका छन् । ‘देशको गौरव राष्ट्रिय झण्डा उठाउन छोडेर किन भासिन्छन् होला भनेर भन्ने गर्थें आज थाहा पाएँ कहिल्यै उँभो नलागिने भयो’, महेन्द्रनगरमा भएको ब्याडमिन्टन खेल्दै गरेका एक खेलाडीले गुनासो गरे । उनको भनाइमा नैराश्यता थियो ।
उनले भने, ‘विभागीय टोलीका खेलाडी बाह्रै महिना अभ्यासमा हुन्छन्, उनीहरूलाई सुविधा हुन्छ, हामीले नै तिरेको करबाट तलब खान्छन्, हामीलाई यहाँ प्रतियोगितामा भाग लिन पनि सकस, न प्रशिक्षण छ न कुनै प्रोत्साहन ।’
हुन पनि विभागीय टोलीका खेलाडीहरूले राम्रो सफलता हासिल गर्दैछन्÷गर्छन् । उनीहरूले पाइरहेको सेवा सुविधा अनुसार त यो एकदमै कम सफलता हो । गैर विभागीयका खेलाडीहरू मिहिनत गरेरै केही मेडल भित्र्याउने गरेका छन् ।
यसपटकको भिडन्तमा आयोजक खेलकुद संघको बेइमानीले धेरै नै दुःख पाउन पुगेको खेलाडीहरूले गुनासो गरेका छन् । उनीहरूलाई खानाकोसमेत राम्रो व्यवस्था भएन÷गरिएन । ब्याडमिन्टनका एक खेलाडीले निकै आक्रोशित हुँदै भने, ‘मासु बिनाको सादा भात र दाल खाएर कसरी कोर्टमा उत्रिनु ?’
अर्का एक खेलाडीले भने, ‘हामी बसिरहेको ठाउँमा त बिहान साँझ दाल भात मात्र दिने भन्ने आदेश पदाधिकारीले गरेका रै’छन् खाजा पनि खान दिएनन् ।’ अर्का एक खेलाडीले भने, ‘आफ्नै पैसा खर्च गरेर हामीले राष्ट्रिय प्रतियोगिता खेल्यौं यो भन्दा बेइज्जत के हुन्छ ?’ खेलाडीहरूले नेपाल ब्याडमिन्टन संघका पदाधिकारीलाई पनि यो कुराको गुनासो राखेका थिए । तर पदाधिकारीले मिलाएर आऊ भन्दै फर्काएका थिए ।
राष्ट्रिय खेलकुद परिषदले पहिलो राखेप च्याम्पियनसिप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । मोफसल र काठमाडौं उपत्यकामा गरी भएका २९ खेल सञ्चालन गर्न राखेपले तीन करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसपटक प्रतियोगिता गर्न राखेपले हरेक खेलका संघलाई रकम दियो ।
यो रकमको चरम दुरुपयोग भएको माथिको खेलाडीहरूको गुनासोले पुष्टि गर्छ । यो त उदाहरणमात्र हो । धेरैजसो खेलमा यही हालत रहेको छ । यसबारे राखेप मौन छ । एक पदाधिकारीले भने ‘यस्तो गुनासो मैले पनि सुनेको छु, छानबिन गर्ने सोच बनाएका छौं ।’
खेलकुदमा खेलाडीको डाइट मारेर खान पल्केकाहरू धेरै छन् । अब के छानबिन होला । खानेले कागजी प्रक्रिया पूरा गरेरै खान्छ । यस्तोमा परिषदले के गर्न सक्छ ? परिषदका पदाधिकारीहरूको पनि प्रोफाइल राम्रो छैन । राखेपका एक उच्च कर्मचारी भन्छन्, ‘मिडियाले सोद्धा दिने रेडिमेड जवाफ यही हो, जे भयो सकियो, अब केही हुनेवाला छैन ।’
१३ औं दक्षिण एसियाली खेलकुद साग र आगामी एसियाली खेलकुदका लागि खेलाडीहरूको प्रारम्भिक छनोट गर्न राखेप च्याम्पियनसिप भएको हो । यसकै आधारमा खेलाडीहरू अर्को चरणका लागि छानिन्छन् । तर ‘बिना डाइटको फाइट’ कस्तो भए होला ? के राखेपले अब यसबारे गम्भीर भएर सोच्ने बेला भएन ?



