नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज २०७७ भदाै २४ गते बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।
कोइराला परिवार भारत निर्वासनमा बस्दा त्याे परिवारले के कस्ताे भुक्तमान व्यहाेर्नु परेकाे थियाे भन्ने कुरा वीपी कोइरालाले आफ्नाे 'आत्मवृत्तान्त'मा लेख्नु भएकाे छ । बिपीकाे जीवनका बारेमा लामाे लेख टिप्पणी भन्दा पनि राणाहरूले देश निकाला गरेपछि भारतकाे बेतिया भन्ने स्थानमा बस्दा काेइराला परिवार कुन हण्डर र कष्टकर जीवन गुजार्दै नेपालकाे प्रजातान्त्रिक आन्दााेलनमा हामिएकाे थियाे भन्ने प्रसंग महत्वपूर्ण लाग्याे। भाेकै प्यासै नेपालकाे प्रजातान्त्रिक आन्दााेलनमा हामिएकाे मात्र हाेइन महानायक बन्न सफल बिपी र उनकाे परिवारले बाँच्नका लागि केसम्म गर्नु परेकाे थिएन ।
विलासी जीवन बिताउन लालायित अहिलेका राजनीतिक नेता कार्यकर्ताले यहाँ उल्लेखित बिपीकाे मर्मस्पर्शी कथन मनन गरेर देश र जनताकाे सेवामा इमानदारीपूर्वक लाग्ने प्रेरणा मिलाेस् भन्ने कामनासहित बिपीकाे वाणीबाट एक प्रसंग यहाँ उल्लेख गर्ने धृष्टता गरिएकाे छ ।
''हाम्राे घरमा भाेकभाेकै बस्नु पर्थ्याे, खाना थिएन । त्यसताका हाम्राे परिवार बेतिया थियाे; काेही कहाँ काेही कहाँ थिए । अखबार बेच्थे हाम्रा मान्छेहरू । अखबार बेचेर आएकाे पैसाबाट किनमेल गरी कुँडाे बनाउँथे, धेरै पानी पीठाे तरकारी सबैथाक हालेर पकाएर खान्थे। मेराे भाइ थियाे हरिहर, ऊ हैजाले मर्याे । उसलाई घाट लैजान कात्राे किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियाे । घरमा आमा मात्रै हुनुहुन्छ । पिताजी पनि बाहिरै हुनुहुन्थ्याे । मैले पनि अखबार बेचेकाे छु । सुशिलकाे पिता बाेधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्याे। बेलुका अखबार बेच्न जानुहुन्थ्याे, म पनि जान्थें अखबार बेच्न । त्याे अवस्था थियाे हाम्राे ।''
''पिताजीलाई लागेछ, अब सहन सकिंदैन । अब लेख्छु चन्द्र सम्सेरलाई भनेर एउटा चिठी लेख्नुभयाे-अब त धेरै भयाे, म आउन पाऊँ भनेर । त्याे हुलाकमा खसाउन जाँदा उहाँकाे मन फिर्याे, चिठी नखसाएरै फर्कनु भयाे । भाेलिपल्टै खबर निस्क्याे अखबारमा-चन्द्र सम्सेर मरे, भीम सम्सेर प्रधानमन्त्री भए । अनि उनले खबर पठाएपछि पिताजी नेपाल फर्कनु भयाे ।'' विश्वेश्वरप्रसाद काेइराला 'आत्मवृत्तान्त' (पेज १७ बाट) ।
विश्वेश्वरप्रसाद काेइरालाप्रति हार्दिक श्रद्धासुमन ।



