हेलम्बु, सिन्धुपाल्चोक, १६ पुस : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको सुरङ २०७४ पुस १५ गते छिचोलिएको (ब्रेकथ्रु भएको) छ ।
मेलम्ची नदीको मुहान हेलम्बु गाउँपालिकाको अम्बाथानदेखि ग्याल्थुमसम्मको ८.२ किमी सुरुङ पुस १५ मा छिचोलिएको हो । यसअघि गतवर्ष पुस २४ गते सिन्धु–सुन्दरीजल खण्डको नौ किमीको सुरुङ छिचोलिएको थियो ।
ग्याल्थुम–सिन्धु खण्डको करीब १० किमी सुरुङ मध्ये अब ४४३ मिटर मात्र खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । अब साढे दुई महिनामा यो सुरुङ खण्ड पनि छिचोलिने उनको प्रतिबद्धता छ ।
ग्याल्थुम–अम्बाथान सुरुङको बीचमा खानेपानी तथा सरसरफाइ राज्यमन्त्री अब्दुल रज्जाक गद्दीले पुस १५ मा रिवन काटेर यो खण्डको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका छन् ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ सचिव गजेन्द्रकुमार ठाकुरले २०७५ वैशाखभित्र मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसाल्ने गरी काम भइरहेको बताए ।
सुरुङ निर्माण भइसकेको स्थानमा भूँइ ढलानको काम शुरु गरिनेछ । सुरङ सम्पन्न भएपछि त्यहाँबाट दैनिक १७ करोड लिटर पानी राजधानी लगिनेछ । सरकारले मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी पनि उपत्यकामा लैजाने योजनाअनुसार सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ ।
यी दुई खोलाको पानी राजधानी लैजान थप १० किमी सुरुङ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ । याङ्री र लार्केबाट पनि दैनिक १७/१७ करोड लिटर पानी लगिनेछ ।
दोस्रो चरणमा दुई खोलाको पानी राजधानी लैजान एसियाली विकास बैंकसँग सम्झौताको तयारी भएको कार्यकारी निर्देशक देवकोटाले बताए । (रासस)
–––



