काठमाडाैं । मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दीपक सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी विभिन्न बहानामा घुस/रिसवत माग गरिरहेको भन्ने व्यहोराको उजुरी तथा प्राप्त सूचना समेतका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज दीपक सुवेदीलाई रु.३,०००/-(तीन हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियाे ।
अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, लेखनाथ कास्कीमा रजिश्ट्रेशन फाँटमा कार्यरत नायब सुब्बा दीपक सुवेदीले सेवाग्राहीसँग बैंकबाट कर्जा निकाल्ने प्रयोजनार्थ जग्गा रोक्का गर्ने कार्य सहजीकरण गरिदिने भनी रु. ३,०००।– (तीन हजार) घुस/रिसवत लिएको तथ्य पुष्टि हुन आई राष्ट्रसेवक कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निज दीपक सुवेदीलाई बिगो रु. ३,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई २०७७ जेठ ३२ गते विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।



