काठमाडौं । एनसेलको शेयर खरिदबिक्रीमा टेलियालाई ६२ अर्ब रुपैया“को कर निर्धारण गरेको सरकारले स्थानीय साझेदारको शेयर(२० प्रतिशत) खरिदबिक्रीमा पनि नौ अर्ब रुपैया“ कर निर्धारण गर्ने भएको छ । स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठको शेयर सतिशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको एकल स्वामित्वमा रहेको सुनिभेरा क्यापिटल भेञ्चर्सले खरिद गरेको थियो । एनसेलको शेयर खरिदबिक्रीमा लाग्ने करका विषयमा सुझाव दिन गठन गरेको तीन जनाको विज्ञ समूहले दिएको सुझावको आधारमा ठूला करदाता कार्यालयले स्थानीय शेयरका विक्रेता निरजगोविन्द श्रेष्ठ तथा शेयरमा आर्थिक हित राख्ने टेलियासोनेराबाट संयुक्त वा छुट्टाछुट्टै रुपमा कर दाखिला गर्ने गरी कर निर्धारणको तयारी गरेको हो ।
ठूला करदाता कार्यालयले २० प्रतिशत शेयरका लागि ३६ अर्ब १९ करोड ६७ लाख रुपैया“ इन्ट्रप्राइजेज भ्यालु तय गरेको छ । २० प्रतिशत शेयरका लागि श्रेष्ठले २५ करोड रुपैया“ लगानी गरेको र इन्ट्रप्राइजेज भ्यालुबाट लगानी मूल्य घटाएपछि स्थानीय शेयरमा ३५ अर्ब ९४ करोड ६७ लाख खुद लाभ भएको दाबी ठूला करदाता कार्यालयको छ ।
गैरबासिन्दा व्याक्तिले लाभ गरेका कारण २५ प्रतिशतका दरले करदाताबाट आठ अर्ब ९८ करोड ६६ लाख रुपैया“ लाभकर असुल गर्नुपर्ने सुझाव विज्ञ समूहको छ ।
यो कारोवारमा निरजगोविन्द श्रेष्ठले ११ अर्ब ५७ करोड ६० लाख रुपैया“ मात्रै लाभ भएको भन्दै दुई अर्ब ८३ करोड १५ लाख रुपैया“ लाभकर भुक्तानी गरेका छन् । नया“ कर निर्धारण भएपछि व्याज र जरिवानावाहेक मात्रै पनि यो कारोवारमा थप पा“च अर्ब रुपैया“ लाभकर भुक्तानी गर्नुपर्छ । व्याज र जरिवाना जोड्ने हो भने यो कारोवारमा अब दश अर्ब रुपैया“ हाराहारीमा कर आउ“छ, ठूला करदाता कार्यालय स्रोतले जानकारी दियो ।
२० प्रतिशत शेयर कसको हो ?
विज्ञ समूहले स्थानीय साझेदार सतिशलाल आचार्यको श्रीमती भावना सिंह श्रेष्ठको नाममा शेयर हस्तान्तरण भए पनि त्यो शेयरमा सतिशलाल आचार्यको नभएर एक्जियटाको हित रहेको निष्कर्ष निकालेको छ ।
शेयर खरिद गर्दा गरिएको एनसेलको मूल्यांकन, त्यो मूल्यांकन अन्तर्गत भएका भुक्तानी र त्यसपछि भएका कारोवारको अध्ययनपछि समिति २० प्रतिशत शेयरमा सतिशलालको नभएर एक्जियटाको हित रहेको निष्कर्षमा पुगेको हो ।
नेपालको कानून अनुसार दूरसञ्चार कम्पनीमा न्यूनतम २० प्रतिशत लगानी स्वदेशी लगानीकर्ताको हुनुपर्छ । समितिले दिएको रिपोर्टमा भनिएको छ, उपरोक्तका अतिरिक्त नेपालको दूरसञ्चार नीतिअनुसार एनसेलको न्यूनतम स्थानीय २० प्रतिशत शेयर लगानीमा स्थानीय लगानी हुनुपर्नेमा त्यसमा पनि वैदेशिक हित तथा नियन्त्रण रहेकोमा नेपालको दूरसञ्चार नीतिको पालना समेत भएको देखिएन् ।
एनसेलको खरिद प्रतिफल (पर्चेज कन्सिडिरेशन) निर्धारण गर्दा एनसेलको व्यवसायिक मूल्यका आधारमा गरिएको थियो । प्राप्त रिपोर्टअनुसार, डेढ वर्ष अघि खरिदबिक्री हु“दा एनसेलको व्यवसायिक मूल्यांकन एक अर्ब ७० करोड डलर गरिएको थियो । त्यसमा टेलियासंग स्वामित्व भएको ८० प्रतिशत सेयरको मूल्य एक खर्ब ४४ अर्व रुपैया“ र स्थानीय साझेदारसंग भएको सेयरको ३६ अर्ब १९ करोड रुपैया“ मूल्यांकन गरिएको थियो ।
२०१६ अप्रिल महिनामा एनसेल खरिद प्रक्रिया पूरा गरेको एक्जियटाले त्यसविषयमा जुन त्रैमासको एकीकृत वित्तीय विवरणमा केही जानकारी सार्वजनिक गरेको छ । आर्थिक विवरणको लेखा टिप्पणीमा ‘नन कन्ट्रोलिङ इन्ट्रेस्ट’का लागि २४ अर्ब रुपैया“को लेखांकन गराएको छ । यो लेखांकन गराएको रकम एनसेलको स्थानीय साझेदारको २० प्रतिशत शेयरमा अप्रत्यक्षरुपमा हित राख्नका लागि गरिएको विज्ञ समूहको राय छ ।
एक्जियटाले खरिद गर्नुअघि टेलियाले पनि निरजगोविन्द श्रेष्ठसंग भएको सेयरमा यसैगरी हित राखेको थियो । स्थानीय स्वेदेशी लगानीकर्तासंग हुनुपर्ने २० प्रतिशतको यो आर्थिक हित विक्री गर्दा टेलियाले सुनिभेरा भेञ्चर क्यापिटल सिंगापुरबाट चार करोड ८० लाख डलर भुक्तानी लिएको सार्वजनिक घोषणा गरेको थियो ।
यो रकम भुक्तानी दिन एक्जियटाले सतिशलाल आचार्यलाई आफ्नो कम्बोडियाको सब्सिडरी कम्पनी स्मार्ट टेलिकमबाट नौ करोड डलर फन्डिङ गरेको थियो ।
त्यसैगरी एक्जियटाले एनसेलको सेयर खरिदका लागि उसले घोषणा गरेभन्दा बढी ऋण समेत लिएको छ । एक्जियटाको २०१६ को वित्तीय विवरणअनुसार कम्पनीले एनसेल खरिदका लागि पा“च अर्व ९० करोड रिंगिट ऋण लिएको छ । जुन तत्कालीन अवस्थाको विनिमयदरअनुसार एक खर्व ५३ अर्व ४० करोड रुपैया“ हो ।
एक्जियटाले ८० प्रतिशत सेयर जम्मा एक खर्व ४४ अर्व रुपैया“मा खरिद गरेको घोषणा गरेको थियो । एक्जियटाले आवश्यकताभन्दा बढी आठ अर्ब ४३ करोड रुपैया“ ऋण स्थानीय सेयरमा आफ्नो आर्थिक हित राख्नका लागि लिएको हो, प्रतिवेदनमा भनिएको छ ।
यसबाहेक टेलियासंग शेयर खरिद गर्दा एक्जियटाले गरेको (सेयर खरिदबिक्री सम्झौता) एसपीएको सात वटा हिस्सामध्ये एक्जियटा र सतिशलाल आचार्यवीच छुट्टै सम्झौता समेत भएको छ । तर, कर कार्यालयले पटक पटक ताकेता गर्दा पनि एक्जियटा र टेलिया दुवैले एसपीए बुझाएका छैनन् ।
किन कम मूल्य देखाइयो ?
एनसेलको शेयर खरिदबिक्री हु“दा स्थानीय साझेदार निरजगोविन्द श्रेष्ठ तथा सतिशलाल आचार्यको कम्पनी सुनिभेरा भेञ्चर्स क्यापिटलवीच एउटा एसपीए भएको थियो । ८० प्रतिशत शेयरको खरिदबिक्री एक खर्व ४४ अर्ब रुपैया“मा हु“दै गर्दा उद्योग विभागले २० प्रतिशत सेयरका लागि तीन अर्ब ३१ करोड २४ लाख रुपैया“मा खरिद विक्रि गर्ने गरी एसपिए स्वीकृत गरेको थियो ।
उद्योग विभागका तत्कालीन महानिर्देशक महेश्वर न्यौपाने (हाल निमित्त सचिव निर्वाचन आयोग)ले कारोवार रकममा कुनै पनि प्रश्न नउठाइ यो एसपीए स्वीकृत गरेपछि एनसेलको कर विवाद बल्झिएको थियो ।
वार्षिक ५७ अर्ब रुपैय“को कारोवार गर्ने, ८० प्रतिशत शेयरको मूल्य एक खर्ब ४४ अर्ब रुपैया“को तुलनामा दश गुणा सस्तोमा स्थानीय साझेदारको शेयर खरिद गर्ने लागिएको लगायतका विवाद बढेपछि एसपीएलाई कुनै परिमार्जन नगरी कारोवार मूल्य तीन अर्बबाट बढाएर ११ अर्ब रुपैया“ पु¥याइएको थियो । यही ११ अर्ब ५७ करोड रुपैया“को मूल्यांकनको आधारमा निरजगोविन्द श्रेष्ठले ठूला करदाता कार्यालयमा दुई अर्ब ८३ करोड रुपैया“ लाभकर भुक्तानी गरेका थिए ।
जब कि यो कारोवार हु“दा एनसेलसंग ३० अर्ब १२ करोड रुपैया“ नगद मात्रै थियो । यो नगदमध्ये २० प्रतिशतका दरले निरजगोविन्दले पाउनुपर्ने नगद मात्रै छ अर्ब दुई करोड रुपैया“ थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार श्रेष्ठले पाउनुपर्ने यो नगद टेलियाले विदेशी मुद्रामा प्राप्त गरेको थियो । जुन जानकारी टेलियाले आफ्नो प्रतिवेदनमा दिइसकेको छ । यो रकम स्थानीय साझेदारको २० प्रतिशत शेयरको मूल्य बजार मूल्यभन्दा कम राख्नका लागि लिएको एक रणनीतिअन्तर्गत थियो ।
–प्रभात भट्टराई÷बिजमाण्डू



