काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा दोस्रो पटक नियुक्त भएका नन्दकिशोर बस्नेत र महाप्रबन्धक सुवास सिटौलाबीचको झगडा विभागीय मन्त्रीको अग्रसरतामा साम्य भएको खबर छ । तर, अध्यक्ष बस्नेत भने प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा ‘बा’ उच्चारण गर्दै कमाउधन्दामा लागिपरेको समाचार छ ।
स्रोतका अनुसार, योग्यता, क्षमता नभएपनि महेश बस्नेत उद्योगमन्त्री भएका बेला सोर्सफोर्स र चाकडीको बलमा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यकारी अधिकार लिएर नियुक्ति पाउन सफल नन्दकिशोर बस्नेत दोस्रो कार्यकालका लागि २०७५ पुस ६ गते अध्यक्षमा पुन नियुक्त भए नन्दकिशोर । यसअघि पहिलो कार्यकाल अध्यक्ष र महाप्रबन्धक दुवैको जिम्मेवारी उनले पूरा गरेका थिए । कुनै शैक्षिक योग्यता, क्षमता नभएका तर, बा’को नाम लिंदै यिनी आफ्नो कमाउधन्दाको योजना साकार पार्न कम्मर कसेर लागिपरेको कर्मचारी स्रोत बताउछ ।
पहिलो कार्यकालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीप बस्नेतको आडमा अनियमित काम गरेर आफ्नो स्वार्थसिद्धी गर्न लागिपरेका थिए उनी । औद्योगिक क्षेत्रको विकास र व्यवस्थापनसम्बन्धी कुनै नीतिगत र सैद्धान्तिक ज्ञान नभएका बस्नेतले स्वच्छ, स्वस्थ र सबल औद्योगिक वातावरणको निर्माणमा सामान्य योगदान पनि पु¥याउन नसकेको बताइन्छ ।
१० वर्षे सशस्त्र द्वन्द्वताका औद्योगिक क्षेत्रमा युद्धको प्रत्यक्ष प्रभाव परेको पृष्ठभूमिमा त्यसलाई उकास्न, जीर्ण तथा रुग्ण उद्योगलाई सञ्चालन गर्न पनि यिनले कुनै प्रभावकारी नीति र योजना सार्न नसकेको बताइन्छ । खालि बहालवाला उद्योगमन्त्री र उद्योग सचिव यामकुमारी खतिवडाको चाकडी र चाप्लुसीमा मात्र ध्यान दिई आफ्नो दुनो सोझ्याउन लागिपरेका सशस्त्र प्रहरीका पूर्व सई समेत हुन्, अध्यक्ष बस्नेत ।
असल, सक्षम र क्षमतावान्लाई पाखा लगाउ“दै दोस्रो कार्यकालका लागि नियुक्ति पाएका बस्नेत आफूलाई अख्तियार प्रमुख नवीन घिमिरे, सचिव महेश्वर नेउपाने, सांसद महेश बस्नेत, युवा संघका पूर्व उपाध्यक्ष गोविन्दवहादुर थापा, सचिव यमकुमार खतिवडा र अन्नपूर्ण पोस्ट दैनिकका मालिक क्याप्टेन रामेश्वर थापाको मान्छे भएको भन्दै धाक लगाउने गर्छन् । यसका साथै अन्नपूर्ण पोस्टमा आफ्नो समेत लगानी रहेको बताउने अध्यक्ष बस्नेतलाई गोविन्द थापाको जोडबलमा पुनर्नियुक्ति भएको स्रोत बताउछ ।
त्यसो त अध्यक्ष बस्नेतको खेलोफड्को पैसा कमाउने र शक्तिवालहरूको चाकरीमा तल्लीन हुने ध्याउनमा रहने गरे पनि उनले नेतृत्व गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जिम्मेवारी र कामको दायरा भने बृहत् र फराकिलो छ । पाटन, विराटनगर, वीरगन्ज, पोखरा, भैरहवा, नेपालगन्ज जस्ता औद्योगिक क्षेत्रको व्यवस्थापनको जिम्मेवारी यसै संस्थाको अन्तर्गत रहेको हुन्छ । यस्तो महत्वपूर्ण संस्थामा असक्ष, पथभ्रष्ट र नालायक प्रवृत्तिको व्यक्तिलाई जिम्मेवारी दिंदा कस्तो परिणाम आउँछ, सहजै अनुमान गर्न सकिने सम्बन्धित क्षेत्रका सरोकारवालाहरूको भनाइ रहेको छ ।
बालाजु औद्योगिक क्षेत्रभित्र प्रायः जग्गा रित्तो अवस्थामा रहेको छ । त्यहाँ खालि कोकोकोला, नेबिको बिस्कुट र मैदा मिल मात्र सञ्चालन रहेका छन् । त्यसो त्यहाँ सयौं उद्योगहरू सञ्चालन गरेर हजारौंहजार मान्छेहरूलाई रोजगारी दिनुपर्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्दथ्यो । तर, यस दिशामा अध्यक्ष बस्नेतको कुनै ध्यान र प्रयत्न नगएको बताइन्छ ।
औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालनमा उनले कुनै प्रभावकारी कदम नचालेको मात्र नभई करौडौं मूल्यका जग्गाहरूमा अवैधानिक रूपमा पसल र अन्य व्यापारिक प्रयोजनमा सञ्चालन गर्न दिई अवैध रूपमा असुलीधन्दामा यिनी लागिपरेको स्रोतको दाबी छ । त्यसो अहिले महाप्रबन्धक सिटौलासंग भइरहेको द्वन्द्व पनि व्यक्तिगत स्वार्थ र कमाउधन्दाको परिणति भएको स्रोत बताउछ । लिमिटेडलाई एकलौटी रूपमा दोहन गर्ने नियतका साथ महाप्रबन्धक सिटौलालाई बस्नेतले खेद्न खोजेको रूपमा यस घटनालाई लिने गरिएको छ । जुन अन्ततः मन्त्रीको पहलकदमीमा साम्य भएको छ ।
उद्योगको प्रवद्र्धन र विकासमा कुनै स्थान नभएका र भूमिका नखेलेका यिनी अध्यक्ष बनाउनै नहुने पात्र भएको स्रोत बताउँछ । नन्दकिशोर बस्नेत बालाजु औद्योगिक क्षेत्रमै दीप बस्नेतका छोरासंग मिलेर पेट्रोल खोल्न सफल भए । यसैगरी कतिपय औद्योगिक मोटर, मोटर साइकल वर्कसप, पसल सञ्चालन गर्न दिएर अवैध असुलीलाई यिनले उच्च प्राथमिकतामा राखेको स्रोतको भनाइ छ । यसका साथै वर्षौंवर्षदेखि जग्गाहरू ओगटेर राखिएको छ, जसबाट असूली गर्न यिनले भ्याएकै छन् ।
उद्योग व्यवसाय सञ्चालनका लागि प्रयोग हुनुपर्ने जग्गा व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम यिनै अध्यक्ष बस्नेतको एकल चाहना बमोजिम (Sub-Leaze सब लिज)मा दिइएको छ । ८ करोड रुपैयाँसम्म प्रतिरोपनी पर्ने जग्गाको भाडा १ हजार ३ सय २६ रूपैयाँ प्रतिमहिना कायम गरी भाडामा दिइएको छ ।
कसलै त्यहा“ उद्योग राख्छु भनी अध्यक्ष नन्दकिशोर कहाँ भेट्न गएमा गोप्य रूपमा घूसबापत प्रतिआना १५ लाख रुपैयाँ घुस खुवाएपछि मात्र अनुमति पाउने गरेको बताइन्छ । घुस वापत प्रति रोपनी १ करोड ६० लाखका दरले दुई रोपनीको ३ करोड २० लाख रुपैययाँ सम्म तिर्नुपर्ने हुन्छ । जग्गालाई घूसका आधारमा ज्यादै न्यून कबोल गरी भाडामा लगाउने गरिएको उदाहरणसमेत छ ।
यसरी औद्योगिक क्षेत्र व्यवस्थापन ऐनविपरीत त्यहा“को व्यवस्थापन सक्रिय रहेको छ । यता सुशासन तथा समृद्धि दिने र सुखी नेपाली बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धतालाई बद्नाम गर्दै ‘बा’ उच्चारण गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका यी बस्नेतले बालुवाटार र प्रधानमन्त्रीको समेत बद्नाम गर्दै आएको अध्यक्ष बस्नेतका हर्कतले देखाइरहेको कर्मचारी स्रोत बताउछ । यसतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरोकारवाला निकायको ध्यान कहिले जाने हो कुन्नि ?



