काठमाडौँ, ३० साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक २०७६ साउन ३१ गते शुक्रबार ३ बजे बस्ने गरी टुङ्गिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य प्रतिकूल रहेकाले आज अनौपचारिक रुपमा बैठक बसेको र शुक्रबार पुनः बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सहमति जुट्न नसकेको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै यसअघि दुई पटक स्थगित भएको थियो । नेकपाको स्कुल विभागमा टुङ्गो नलाग्दा बैठक पटकपटक सारिँदै आएको छ ।
उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी रहेको बताइएको छ । यसअघि साउन १३ गते बैठक बसेको थियो ।
(नेपाल कम्युनिष्ठ (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक नभएपछि सचिवालयको बैठक स्थगित भएको कुरा पत्रकारलाई जानकारी गराउँदै । तस्वीर ः चन्द्रकला क्षेत्री)



