क्वालालम्पुर । मलेसियामा जारी यु–१९ युथ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ लुइस प्रणाली अनुसार २ विकेटको जित हात हासिल गरेको हो ।
खराब बलिङ सुरुवात गरेको नेपालले अन्तिमतिर लय समाते पनि अन्तिम ओभर आक्रामक खेल्दै बंगलादेश विजयी भएको हो । नेपालका लागि कमल ऐरी र सन्दिप लामिछानेले २–२ विकेट लिएका थिए ।
यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले ४० बलमा ४४ रन जोड्न सफल भए । रोहितकुमार पौडेलले ४० रन बनाए भने ओपनर आसिफ सेखले ५२ बलमा ३० रन बटुलेका थिए ।
वर्षाले खेल प्रभाव भएपछि बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल आइतबार भारतसँग खेल्नेछ । भारतसंग पराजित भए नेपाल मलेसियासंग खेल्न बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने छ । भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो ।



