🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रासस समाचार प्रभाव : बेवारिस महिलाको उपचार शुरु

सप्तरी, २४ चैत : उपचारबाट वञ्चित बेवारिसे महिलाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्याहार र उपचार दुवै शुरु भएको छ । हात्तीको आक्रमणबाट घाइते महिला साढे एक महिनादेखि बेवारिस भई उपचार र स्याहार नपाएको समाचार राससमा प्रकाशित भएपछि उनको उपचार र स्याहार शुरु भएको हो ।

बिरामीको भाँचिएको हात जोड्न लगाउनुपर्ने स्टिलको खर्चवापत नगद रु १० हजार डिभिजन वन कार्यालय सप्तरीले उपलब्ध गराएपछि राजविराजस्थित अस्पतालमा उनको भाँचिएको दाहिने हातमा शल्यक्रिया गरी स्टिल लगाइएको अस्पतालले जनाएको छ ।

 
वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार आरक्ष बाहिर हात्तीको आक्रमणले घाइते हुनेहरुको उपचारको जिम्मेवारी वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षले गर्नुपर्ने समाचारमा उल्लेख थियो । अस्पतालका अनुसार डा ज्ञानेन्द्रकुमार झा नेतृत्वको टोलीले भाँचिएको हातको सफल शल्यक्रिया गरी हातमा स्टिल लगाएको छ ।

अस्पतालले हात, कम्मर, मेरुदण्डलगायतको एक्सरेसमेत निःशुल्क गरिदिएको छ । डा झाका अनुसार महिलाको कम्मरमुनि (पेल्भिक) को हड्डी भाँचिएको छ, उनको मानसिक स्थितिसमेत सामान्य छैन ।

 
उचित स्याहारका लागि सर्जिकल वार्डमा सारिएकी महिलाको सरसफाइ र उपचारमा समेत अस्पतालले चासो देखाएको छ । अस्पतालका कर्मचारी र नर्सहरुले सरसफाइमा ध्यान दिँदै उनलाई नुहाइदिने, नङ र कपाल काटिदिने, सफा कपडा फेरिदिने गर्न थालेका छन् ।

स्याहार र पोषणयुक्त खानाको कमीले कमजोर बनेकी बेवारिस महिलालाई अस्पतालले अण्डा, दूध, फलफूलसमेत दिन थालेको अहेव धनेश्वर साहले बताए  । त्यसअघि अन्य बिरामीका कुरुवाले दिने गरेको बिस्कुट पाए खाने नपाए भोकै सुत्ने गरेकी महिला अहिले उठेर बस्नेसम्मकी भएकी छिन् ।

हात्तीको आक्रमणमा परी घाइते महिला सप्तरीको अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ मा  बेवारिसे अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उद्धार गरी गत फागुन ९ गते राजविराजस्थित अस्पताल भर्ना गराइएकी महिलाको रेखदेख गर्ने आफन्त कोही फेला नपरेपछि उपचार र स्याहार नपाएर उनी जीवनमरणको सङ्घर्षमा तडपिएकी थिइन् ।

समाचार प्रभावले उपचार खर्च जुटेकामा खुशी भएकी अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडाले थप उपचार र पुनः स्थापनाको खाँचो रहेको बताइन्  ।
–––