🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलीको उत्तराधिकारी खोजी : एमालेभित्र सुरु भयाे सत्तासंघर्ष

काठमाडौँ । नेकपा एमालेमा अहिले एउटा नयाँ तर निर्णायक बहस सुरु भएको छ-अध्यक्ष केपी शर्मा ओलीपछिको नेतृत्व कसले सम्हाल्ने ? जेन–जी आन्दोलनपछि मुलुकमै राजनीतिक संक्रमण बढ्दै गएको सन्दर्भमा एमाले नेतृत्वको भविष्य पनि असामान्य रूपमा विवादमा परेको छ।

ओलीले करिब तीन दशकभन्दा बढी समय पार्टीलाई आफ्नो नियन्त्रणमा राखे। तर, दीर्घकालीन अध्यक्षताले पार्टीलाई स्थायित्वभन्दा बढी उत्तराधिकारीविहीन अवस्थामा धकेलेको छ। यही कारण अहिले एमालेभित्र अध्यक्ष ओलीको विकल्पबारे बहस त चर्किँदै छ, तर त्यसलाई खुलेर उच्च नेतृत्व तहले स्वीकार गर्न हिचकिचाइरहेका छन्।

नेतृत्वको वैकल्पिक खोज : कार्यकर्ता बनाम शीर्ष नेताहरू

पार्टीको कार्यकर्ता तहमा ओलीपछिको विकल्पबारे खुला बहस सुरु भएको छ। विभिन्न नामहरू सार्वजनिकरूपमा उच्चारण भइरहेका छन्। तर, शीर्ष नेताहरू अझै पनि ओलीलाई प्रत्यक्ष चुनौती दिन नसक्ने अवस्थामा देखिन्छन्। बरु, उनीहरूले आफ्ना नजिकका नेताहरूलाई ‘माहोल बनाउन’ लगाइरहेका छन्। यसले देखाउँछ, एमाले नेतृत्व संक्रमणको बहस वास्तविकभन्दा बढी रणनीतिक खेलको रूप लिइरहेको छ।

अष्टलक्ष्मी शाक्य : वरिष्ठताको आधारमा दाबी

उपाध्यक्षमध्ये वरिष्ठ भएकाले अष्टलक्ष्मी शाक्यलाई कार्यबाहक बनाउने आवाज एकथरी नेताले उठाइरहेका छन्। उनीहरूको तर्क छ–शाक्यलाई अघि सार्दा पार्टीभित्र महिलाको नेतृत्वबारे नयाँ सन्देश जानेछ र विद्या भण्डारीप्रतिको आलोचनालाई जवाफ दिने अवसर मिल्नेछ। तर, शाक्यको संगठनात्मक पकड कमजोर भएकाले उनी दीर्घकालीन विकल्प बन्न सक्ने सम्भावना न्यून छ।

सुरेन्द्र पाण्डे र विष्णु पौडेल : आर्थिक नीति बनाम संगठनात्मक प्रभाव

सुरेन्द्र पाण्डेलाई संयोजक बनाउनुपर्ने आवाज अर्को समूहले उठाएको छ। उनको ‘साफ-सुथरा’ छविलाई उपयोग गर्न सकिने तर्क गरिएको छ। त्यस्तै, विष्णु पौडेल पनि उत्तराधिकारीको सूचीमा छन्। उनी आर्थिक र व्यवस्थापकीय दक्षताका कारण चर्चामा छन्, तर संगठनात्मक ‘नेटवर्क’मा अलिक कमजोर भएको आरोप पनि छ।

शंकर पोखरेल र प्रदीप ज्ञवाली : स्वाभाविक आकांक्षी

महासचिव शंकर पोखरेलले आफूलाई ओलीपछिको स्वाभाविक दावेदारका रूपमा स्थापित गर्न खोजिरहेका छन्। महासचिव भएको नाताले संगठनात्मक अधिकार उनको पक्षमा रहेकाे दावी छ। तर, नेतृत्व, सांगठनिक क्षमता र  कार्यकर्ताबीच उनको लोकप्रियता अझै ‘परीक्षणको घडी’मै छ।
उपमहासचिव प्रदीप ज्ञवाली पनि आफ्ना निकट कार्यकर्तामार्फत आफ्नो सम्भावनाकाे हल्ला चलाइरहेका छन्। उनी बौद्धिक क्षमता र वक्तृत्वकला भएका कारण चर्चित भए पनि, ‘ठोस संगठनात्मक शक्ति’ नभएकाले दीर्घकालीन विकल्प बन्न कठिन देखिन्छ।

ईश्वर पोखरेलको उपेक्षा : ओलीको स्पष्ट सन्देश

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ओलीले निरन्तर उपेक्षा गर्दै आएका हुन्। हालैको संविधान दिवस कार्यक्रमले त्यसलाई अझ प्रष्ट पार्‍यो-ओली उपस्थित नभएको अवस्थामा पनि वरिष्ठताको आधारमा अध्यक्षता गर्ने अवसर उनलाई दिइएन। बरु, अष्टलक्ष्मी शाक्यलाई अघि सारियो। यसले ओलीले ‘जसलाई म चाहन्न, ऊ जतिसुकै वरिष्ठ भए पनि उत्तराधिकारी बन्न पाउँदैन’ भन्ने सन्देश दिएका छन्।

निष्कर्ष : सत्तासंघर्ष अझै टड्कारो
२०८२ भदाै २३ र २४ गतेकाे जेन-जी आन्दाेलनबाट लखेटिएका र अहंकारी स्वभावका धनी अध्यक्ष केपी ओलीले आफ्नो उत्तराधिकारी स्पष्ट रूपमा तोकेका छैनन्। बरु, उनले सम्भावित प्रतिस्पर्धीहरूलाई एक-अर्काविरुद्ध प्रतिस्पर्धामा धकेलेर सत्तामा आफ्नो पकड अझै लामो बनाउने रणनीति अपनाइरहेकाे संकेत दिएका छन् भन्ने आभास हुन्छ।
तर, पार्टीभित्र देखिएको असन्तुष्टि र नेतृत्व संक्रमणको अनिवार्य आवश्यकता अब ओलीकै लागि पनि चुनौती बन्न सक्नेछ। प्रश्न यहीँनिर अडिएको छ-संक्रमणकालमा फसेकाे विद्यमान अवस्थामा  ओलीपछिको एमालेले के स्थिर नेतृत्व पाउला, वा पार्टीभित्र चर्किंदाे सत्तासंघर्षले पार्टीलाई थप कमजोर बनाउँदै त छैन ?