खलङ्गा, २५ माघ : पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेका छन् ।
पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उनले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताए । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैले उत्तिकै भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
नेपालभरि क्यान्सरसम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख, घाँटी, पाठेघर र स्तनको क्यान्सर बढिरहेको जानकारी दिँदै रोकायाले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए । नेपालमा फोक्सो, पेट, आमाशय, मुख, पाठेघरको मुख, स्तनको क्यान्सर बढी हुने गरेको छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
नेपालमा वर्षेनी ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकको अनुमान छ । तर तीमध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । रोकायाले क्यान्सरलाई रोक्न जनचेतना बढाउनुपर्नेमा जोड दिए ।
नेपालमा हाल जनसङ्ख्याको आधारमा करीब ६५ हजार क्यान्सर रोगी छन् । नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मिर्गौला रोग, मधुमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ ।
चिकित्सकले धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् । सुर्तीजन्य पदार्थको सेवनबाट टाढा रहेमा क्यान्सरबाट हुने एक तिहाइ मृत्युलाई रोक्न सकिने रोकायाले बताए ।
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सुर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । दश प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, व्यवसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, वंशाणुगत कारण, शारीरिक दुर्बलतालाई पनि क्यान्सरका कारकका रूपमा लिइएको छ ।
क्यान्सरका लक्षणमा स्वर परिवर्तन हुनु, दुब्लाउँदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, थकाइ बढी लाग्नु, लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँुदा रगत बढी जानु जस्ता हुन् । (रासस)



