बैंकक, २५ माघ : आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो ।
थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नकी ठूली दिदी ६७ वर्षीया राजकुमारी उबोलरतनाले थाई रक्षा चार्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएको घोषणा गरेकी हुन् । थाई राजतन्त्रलाई परम्परागतरुपमा राजनीतिक प्रतिस्पर्धाभन्दा माथि पवित्र संस्थाका रुपमा हेर्ने गरिन्छ । थाइल्यान्डको कडा कानुनी व्यवस्थाका कारण राजतन्त्र विरुद्ध आलोचना गर्न पनि पाइन्न । राजतन्त्रले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएका बखत हस्तक्षेप गर्ने गरेको छ ।
“म शक्तिमा झुण्डिइरहन चाहन्न । यो निर्णय लिन मलाई निकै कठिन भइरहेको थियो, तर अहिले मुलुकका निम्ति गम्भीर अवस्था छ,” उनले भनिन् ।
आम सर्वसाधारणसँग घुलमिल हुन अभिरुचि राख्ने उबोलरतनाले सन् १९७२ मा अमेरिकी नागरिक पिटर जेन्सेनसँग विवाह गरेपछि राजपदवी त्यागेकी थिइन् । जेन्सेनसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ । त्यसपछि उनी थाइल्यान्ड फर्किएकी थिइन् । थाइल्यान्ड फर्किएपछि पनि उनलाई राजपरिवारकै सम्मानित सदस्यका रुपमा लिने गरिएको थियो ।
थाइल्यान्डमा सन् १९३२ मा संवैधानिक राजतन्त्रको व्यवस्था भएयता प्रधानमन्त्रीका रुपमा कुनैपनि राजसंस्थाका व्यक्ति प्रधानमन्त्रीमा नियुक्त भएका छैनन् ।
उनलाई रुसमा सम्पन्न सन् २०१८ को विश्वकपका समयमा थाक्सिन र यिङ्लकसँगै देखिएको थियो । (राससएजेन्सी)



