काठमाडौं । सशस्त्र प्रहरी बल विभिन्न देवीदेवताका नाममा राखिएका बाहिनी र गणका नाम परिवर्तन गर्ने निर्णयबाट पछि हट्ने भएको छ । सशस्त्र प्रहरीको पुनर्संरचना गर्ने क्रममा देवीदेवताको नाम खारेज गरी बाहिनी र गणहरूको नाम नम्बरका आधारमा राख्ने निर्णय गरेको थियो । धर्म निरपेक्ष देशमा कुनै एक धर्मका देवीदेवताको नाममा सशस्त्रका संरचना नराख्ने निर्णयलाई अरु पार्टीहरूले बिरोध गरेका थिएनन् ।
तर, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले विज्ञप्तिमार्फत् बिरोध गरेको थियो । जुन राष्ट्रिय पनि पनि होइन । त्यही कमल थापा नेतृत्वको राप्रपाको बिरोधलाई आधार बनाएर सशस्त्रका आइजीपी शैलेन्द्र खनालले पुरानै नाम कायम राख्ने मौखिक आदेश बाहिनीपति र गणपतिहरूलाई दिइसकेका छन् । आइजीपी खनालले कसको दबाबमा पहिला देवीदेवताको नाम हटाउने टुंगोमा पुगे, अहिले कसको दबाबमा पुनः राख्ने निर्णय गरेका हुन् भनेर सशस्त्रमा अन्यौलता छाएको छ ।
पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपाबीच एकीकरण हुनु, हिन्दू राष्ट्रको वकालत गर्नु, पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाहले भीडभाड जम्मा पारेर नाच्नु र सशस्त्रमा हटाइसकेका नाम पुनः कायम राख्नु संयोगमात्र हो कि योजनाबद्ध रुपमा भइरहेको छ भन्ने आशंका उत्पन्न गराएको छ । कसैले आइजीपी खनालले भारतीय दबाबमा बाहिनी र गणको नाम परिवर्तन गर्ने निर्णय उल्टाएको आरोप पनि लगाएका छन् ।
भारतलाई नै फाइदा हुनेगरी खनालले सीमा सुरक्षा र तराईका राजमार्गका गणहरूबाट सशस्त्र प्रहरीको फोर्स हटाएर पहाड र हिमालमा आवश्यकै नभए पनि थुपारेको आरोप छ । सुरक्षा थ्रेट भएको र सुरक्षा संवेदनशीलता मानिएको तराईमा सशस्त्रको जनशक्ति घटाउने र अहिले देवीदेवताको नाम पुनः कायम राख्न मौखिक निर्देशक दिनुले आइजीपी खनालको झुकाव कता रहेछ भन्ने पुष्टि भएको छ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई नेपालका सूचना अन्तै दिएको आरोपमा सरकारले बर्खास्त गरिसकेको छ ।
सशस्त्र प्रहरीका आइजीपी खनालले सशस्त्र प्रहरी बलको पुनर्संरचना गर्दा सुरक्षा संवेदनशीलता भएको तराईमा किन र कसको फाइदाका लागि जनशक्ति घटाए ? तराईको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी स्थापना गरिएका १४ वटा गण खनालले खारेज गरेको खबर छ । ती गण भारतकै इशारामा खारेज गरेको आरोप उनीमाथि छ । भारतले नेपालको सीमा क्षेत्रमा एसएसबीको फौज थुपारेको छ । दशगजामा डोजर चलाएको छ, तर नेपालतर्फ भने भएको जनशक्ति पनि घटाएर मैदान खाली गराउने काम सशस्त्र प्रहरी बलका आइजीपी खनालले गरेका छन् ।
२ बर्षअघि तत्कालीन एमालेले मेची–महाकाली अभियान गर्दा सप्तरीको राजबिराजमा भएको झडपमा यदि सशस्त्र प्रहरीको रागमार्गमा गण नभएको भए ठूलो क्षति हुने थियो । जुन अभियानको नेतृत्व वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका थिए । कैलालीको टीकापुरमा सशस्त्र प्रहरी बलले भीषण नरसंहारबाट रोक्न सफल भएको थियो । तर अब राजबिराज र टीकापुर जस्ता काण्ड घटे भने तत्काल गएर रोक्नसक्ने सशस्त्रको जनशक्ति आइजीपी खनालले हटाइसकेका छन् ।
सशस्त्रका एआइजीसहितको नीतिगत निर्णय गर्ने प्रिन्सिपल स्टाफ कमिटी (पीएससी) र डीआइजीसमेत रहेको परामर्शको बैठक समेत नराखी उनले सशस्त्रमा खारेज भएका देवीदेवताका साविककै जस्तो बाहिनी र गुणको नाम राख्न निर्देशन दिएको स्रोतले बताएको छ । (साँघु साप्ताहिक, माघ २१)



