• शनिबार-बैशाख-६-२०८२

सशस्त्र : एआईजी बन्न चर्को प्रतिस्पर्धा ?  

काठमाडौं । सशस्त्र प्रहरी बलमा २०८२ बैशाख २ गते मंगलबारबाट एक एआईजी पद रिक्त हुँदैछ । एआइजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकासमा गएर विदा भएसँगै सिनियर तीन डीआईजीहरूको बीचमा बढुवाको लागि तीव्ररुपमा प्रतिस्पर्धा हुने देखिएको छ । गत २०८२ वैशाख २ गते प्रधान कार्यालय हलचोकमा आयोजित विशेष कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अनिवार्य अवकाशमा जान लागेका गौतमलाई सम्मानपूर्वक विदाई गरेका थिए । 

 

संगठनमा एकेडमी र प्रशासन विभागमा दुई एआईजीको दरबन्दी थप गर्ने जोडबोल चलिरहेको छ । तर, अर्थ मन्त्रालयले सहमति नदिंदा चाहरे पनि गृह मन्त्रालयले दरबन्दी थप गर्न नसकिरहेको स्रोत बताउछ । रिक्त एआइजीमा पदमा बढुवा हुन सिनियर डीआईजीहरु कमल गिरी, गणेश ठाडा मगर र कुलबहादुर नेम्वाङबीच प्रतिस्पर्धा रहेको संगठन स्रोतले जानकारी दिएको छ । 


तीनजनाको नाम चर्चामा रहेपनि खासगरी गिरी र ठाडा मगरबीच नै मुख्य प्रतिस्पर्धा रहेको बताइन्छ । गिरी नेपाली कांग्रेस निकट र त्यसमा पनि सभापति शेरबहादुर देउवाको उनलाई आशीर्वाद रहेको स्रोतको दावी छ ।

 

ठाडा मगर प्रोफेसनल डीआईजीपी मानिन्छ । नेम्बाङ भने नेकपा एमाले निकट मानिन्छन् । ०८१ पुस २३ गते एक वर्ष म्याद थप भएका यी तीन डीआईजीहरूले आफूहरू नै संगठनको भावी एआईजीपीको दावेदार रहेको बताउँदै आएका छन् ।


यी तीनैजना डीआईजीपीहरूको सेवा अवधि २५ वर्ष पूरा नहुँदै चार वर्षे पदावधि पूरा भएको कारण अवकाशको मुखमा पुगेका थिए । तर, २०८१ पुस २३ गते उनीहरुको म्याद कानून बमोजिम एक वर्ष थपिएको थियो । त्यसपछि उनीहरुमध्ये एकजना वैशाख २ गते मंगलवारबाट रिक्त हुने एआईजीमा बढुवाको दावेदार बनेका हुन् ।

 

सशस्त्र प्रहरी नियमावली २०७१ सरकारले २०८१ पुस २३ गते एक वर्ष पदावधि थप गरेको थियो । सशस्त्र प्रहरी नियमावली २०७१ अनुसार डीआईजीपीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान रहेको छ । सोही व्यवस्थाअनुसार उनीहरूको एक वर्ष म्याद थप भएको थियो । 


गौतमको अवकासपछि रिक्त हुने पदमा २०५६ असार ३ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर एक प्रमोशन बढुवा खाँदै सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका टोलीकै प्रतिस्पर्धा रहेको छ । उनीहरुमध्येबाट एआईजीमा बढुवा हुन डीआईजीपी गिरी, ठाडा मगर, नेम्वाङले लबिङ गरिरहेका छन् ।

 

यी तीनमध्ये डीआईजीपी शम्भु सुवेदी चाहिं केही समय अगाडि नै प्रहरी संठनमा प्रवेश गरेका थिए । माथि उल्लेखित सवैजना २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएकाले ककसले बाजीमार्लान् अहिले नै अनुमान गर्न नसकिने स्रोत बताउँछ ।


स्रोत भन्छ–‘मुलुक दसवर्ष माओवादी द्वन्द्वकालको चपेटामा रहँदा उनीहरूकै टोलीले फिल्डमा डटेर मुकाबिला गरेको थियो ।’ यसअघि डीआईजीपी गिरी एक वर्ष म्याद थपसँगै उनी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानबाट सीमा सुरक्षा विभागमा सरुवा भएका थिए ।

 

ठाडा मगर भने हाल नम्बर ३ बाहिनी बागमती प्रदेशका प्रमुख रहेका छन् । नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रदेशका प्रमुख रहेको संगठनले जनाएको छ । सुवेदी भने हाल नम्बर १ बाहिनी कोशी प्रदेशका प्रमुख रहेका छन् ।


सुवेदी तीस वर्षे सेवा अवधिको कारण अनिवार्य अवकासको मुखमा रहेकोले उनी बढुवाको लाइनमा चौथो नम्बरमा रहेको स्रोतको भनाई रहेको छ । त्यही भएर उनी राजनीतिक चलखेल र दौडधुपमा खासै नलागेको उनी निकट स्रोतले बताएको छ ।

 

कांग्रेस सभापति देउवा र गृह मन्त्री लेखक एआइजी बढुवामा गिरीप्रति नरम रहेकाे चर्चा छ । कलेजमा अध्ययन गर्दा उनी नेपाल विद्यार्थी संघ निकट रहेका गिरी तत्कालीन कांग्रेस सरकारको पालामा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।


वर्तमान सरकारले एआईजी गौतमका लागि मात्रै नियमावली संशोधन गर्ने संभावना न्यून रहेको बताइन्छ । सोही कारण उक्त पदमा बढुवा हुन डीआईजीहरू गिरी, ठाडा मगर र नेम्बाङले आफ्नो दावी पेश गर्न सुरु गरिसकेको छन् । उनीहरुमध्ये कार्यक्षमता, दक्षता, अनुभवका आधारमा कसले बाजीमार्ला भन्ने उत्सुकता संगठनभित्र बढेको छ । गृह मन्त्रालय हाल नेपाली कांग्रेसका नेता लेखकले सम्हालेको कारण पनि गिरी एआईजीमा बढुवा हुनसक्ने चर्चा संगठनभित्र चल्ने गरेको छ ।


मगर पनि उत्तिकै सक्षम रहेकोले उनी पनि बढुवा हुनेमा ढुक्क जस्तै रहेको संगठननिकट स्रोत बताउछ । सशस्त्र प्रहरी बललाई अर्ध सैन्य संरचनाको बल बनाउने भएपछि एआईजी गौतम २०५८ सालमा नेपाली सेनाबाट प्रशिक्षकका रूपमा ३७ जना अधिकृतहरूसँगै स्थानान्तरण भएका थिए । ती मध्ये यतिखेर एआईजी गौतम मात्रै सेवारत रहेका छन् । अरू प्राय सबै अवकासमा गइसकेको स्रोत बताउँछ ।


प्रहरी कितावखानाले भने गौतमलाई एक महिना अघि नै अवकाश पत्रको जानकारी दिइसकेको स्रोत बताउँछ । २०७९ जेठ १० गते गौतम एआईजीमा बढुवा सिफारिस भएका थिए । गौतमले मानव स्रोत र  सीमा सुरक्षा विभागको प्रमुख भएर काम गरिरहेका छन् । सशस्त्र प्रहरीमा एआईजीको उमेर हद ५७ र सेवा अवधि ३० वर्षको सीमा हटाउने गरी सशस्त्र प्रहरी विधेयक संसदमा पेश भएर समितिमा छलफलका क्रममा रहेको छ ।


वरिष्ठ एआइजी गौतमको अवकासपछि नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एकजना आईजीपीको प्रतिस्पर्धामा रहने छन । तर, एआईजी दाहाल भन्दा पौडेल तीन महिना सिनियर अधिकृत मानिन्छन् । संसदमा पेश भएको सशस्त्र प्रहरी बल सम्वन्धी विधेयकमा आईजीपीको पदावधि चार वर्षबाट घटाएर तीन वर्ष कायम गर्न प्रस्ताव गरिएको छ ।


सो विधेयक संसदको आगामी बजेट अधिवेशनमा पारित भयो भने प्रमाणित भएकै दिन आईजीपी अर्याल तीन वर्षे प्रावधान लागू भएर अनिवार्य अवकासमा जानेछन् । त्यसपछि व्यवसायिक र निष्कलंक छवि बनाएका एआईजी पौडेल संगठनको भावी आईजीपीमा बढुवा हुनेछन् । दाहाल भन्दा पौडेल तीन महिना सिनियर रहेकाले पनि पौडेल नै स्वभाविक आईजीपीका दावेदार मानिएका हुन् । तरपनि, यसअघि नेपाल प्रहरीमा डेढ वर्ष सिनियर एआईजी विश्वराज पोखरेललाई पछि पार्दै धिरजप्रताप सिंह आईजीपी नियुक्त भएको इतिहासले गर्दा यसै भन्न सकिने अवस्था भने छैन । (साँघु साप्ताहिक, २०८२ वैशाख १) 
 

प्रतिकृया दिनुहोस