काठमाडौँ । ईमेज च्यानलले आफ्ना सबै पत्रकार र कर्मचारीलाई स्थायी र अस्थायीबाटसमेत हटाएको छ । ईमेजले पत्रकारहरुलाई राजीनामा गर्न बाध्य पारेर हटाएको हो । राजीनामा गर्नका लागि २०८१ चैत १५ गतेसम्मको समय दिइएको थियो । ईमेज च्यानल प्रालि (ईमेज ग्रुप अफ कम्पनिज्)अन्तर्गत ईमेज च्यानल टेलिभिजन, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३ र ईमेज खबर डट कम नामक अनलाइन रहेका छन् । यहाँ कार्यरत स्थायी, अस्थायी, फुलटाइम, पार्टटाइम गरी एक सय ३० जनाको हाराहारीमा रहेका पत्रकारसहितका श्रमजीवीलाई ईमेजले आफू सुहाउँदो कागजात गराएर निरीह पारेको गुनासो प्रँप्त भएको छ । तर पार्टटाइम काम गर्दै आएका पच्चिसौँ वर्षदेखिकाहरुको हकमा एक रुपैयाँ पनि दिइएन ।
श्रमजीवीले पाउने कुनै पनि सेवा सहुलियत नदिई ईमेजले ‘टोकन अफ हेट’ को शैलीमा पत्रकारहरुलाई रकम दिएको एक पीडित पत्रकारले बताए । उनले भने, ‘लड्न पनि सकिएन, यहाँ छाडेर अन्त जान पनि सकिएन, जे जे भन्छन् त्यही त्यही गरियो ।’ उनले अरुका हकका लागि लडियो अहिले आफ्नो हकका लागि आफूले नबोल्दा जे भन्छन् त्यसमै कागज गरियो ।’
उनका अनुसार, ३० वर्ष नै काम गरेको पत्रकार भए पनि २०६७ सालमा मात्रै स्थायी भएको आधारमा रकम दिइएको छ । त्यो रकम पनि ०६७ मा स्थायी भएकालाई मात्र १७ महिनाको तलब बराबरको रकम दिइएको छ भने त्यसपछि स्थायी हुनेलाई थोरै रकम दिइएको छ ।
कुनै कारणवश ०६७ सालमा स्थायी नगरिएकालाई जतिसुकै वर्ष काम गरेको भए पनि अस्थायीका रुपमा मात्र तीन महिनाको तलब दिइएको छ । पाँच वर्ष स्थायी भएकोलाई पनि तीन महिनाको तलब दिइएको छ । अस्थायी पत्रकारको हैसियतमा पाँच वर्ष नपुगेकाले एक रुपैयाँ पनि नपाइकनै राजीनामा पत्र बुझाएका छन् ।
पैसा दिँदा यतिसम्म गरियो
पैसा दिँदा भने ईमेज नपत्याउने तरिकाले नै पत्रकारहरुको अपमान गरेको गुनासो पीडितले गरेका छन् । त्यो हो रकम बुझ्दा तलमाथि ल्याप्चेका साथै दुई जना साक्षीसमेत राखेर पैसा बुझ्न लगाइएको छ । राजीनामासमेत ईमेजले वकिल लगाएर तयार पारेको पत्रमा नाम भरेर राजीनामा बुझाइएको छ । अर्थात् कसैले राजीनामा आफैँले लेखेर बुझाएका हैनन् ।
चैत १५ गतेसम्म राजीनामा बुझाएकाले पैसा पाएका छन् । ईमेज इलेक्ट्रोनिक मेशिनमार्फत हाजिरी हुँदै आएकामा व्यवस्थापनले बठ्याइँ गरेर चैत १६ गतेदेखि नै उक्त मेशिन निकालेर राखेको छ । २०८१ चैत १६ देखि रजिस्टरमा नाम लेखेर आएको र गएको समय लेखी हाजिर गराइएको छ । ताकि निरन्तर काम गरिरहेको भनेर नदेखियोस् ।
चैत १६ देखि बैशाख ३१ गतेसम्मको रकम छुट्टै दिने आश्वासन व्यवस्थापनले दिएको छ । त्यतिमात्रै हैन कार्यरत पत्रकारहरु अन्त कतै नजाउन् भनेर विभागीय प्रमुखहरुलाई बुझाएर थमौती गरेकोसमेत पाइएको छ । तर नयाँ सम्झौता भने गरिएको छैन ।
शोषणमा पत्रकार महासंघकै भूमिका
यो कदमका लागि नेपाल पत्रकार महासंघको ईमेज च्यानल शाखाले जिम्मेवारी लिएको थियो । यसरी आफूहरु ठगिँदासमेत चुइँक्क बोल्न नसकेर निरीह पारिनुका पछाडि के कारण छ बुझ्न नसकिएको पीडित पत्रकारहरु बताउछन् ।
नेपाल पत्रकार महासंघको केन्द्रले पत्रकारको हकहितका लागि भनेर महासंघ गठन गरेको भन्छ । तर पत्रकारहरु पीडित भएर ल्याप्चे लगाउन बाध्य पारिँदासमेत चुइँक्क बोलेको छैन । ईमेजमै काम गरेका रामप्रसाद दाहाल महासंघका महासचिव रहेका छन् ।
यतिसम्मकि उनै दाहाललाई बोलाएर भव्य कार्यक्रम गरी पत्रकारलाई व्यवस्थापन गरेको जश लिन ईमेज शाखाले खोजेको थियो । तर, अन्तिम समयमा महासचिव दाहाल आउन नमानेपछि कार्यक्रम रोकिएको ईमेजमा कार्यरत एक पत्रकारले जनाए । महासंघले कुनै प्रतिक्रिया जनाएको छैन । आन्तरिक रुपमा पत्रकार सन्तुष्ट भए भने आफूहरुले हस्तक्षेप गर्ने आधार नरहेको महासंघका एक पदाधिकारी भन्छन् ।
त्यति ठूलो संख्यामा रहेका श्रमजीवीमध्ये दुई जनाले मात्र ईमेजले तयार गरेको पत्रमा राजीनामा बुझाएका छैनन् । उनीहरुले आफ्नो शैलीले लेखेर श्रमजीवी पत्रकारको रुपमा पाउनु पर्ने सेवा सुविधा लिएरमात्र राजीनामा दिन राजी हुने पत्र दिएका छन् । उनीहरुको हकमा ईमेजले कस्तो रणनीति अपनाउला भन्ने यकिन छैन ।
रकम बुझेका एक पीडित पत्रकारका अनुसार अहिले थोरै भए पनि रकम दिँदासमेत ठूलो कर तिराइएको छ । एकमुष्ट रकम दिँदा तीस प्रतिशतसम्म कर काटेर दिइएको छ । जुन कानूनमा कतै पनि उल्लेख छैन । त्यो कर काटेको रकम सरकारलाई नभई ईमेज आफैँले राखेकोसमेत पाइएको छ । उनै पीडितले भने, ‘हाम्रो कर भनेर रकम काटियो तर सरकारको खातामा गएको पाइएन । अहिलेसम्म मोबाइलमा जानकारीसमेत आएको छैन । ईमेजले जताबाट पनि रकम असुलीमात्र गरिरहेको पाइयो ।’
बिक्री भयो ईमेज
ईमेज च्यानल प्रालि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पूर्व एरोनोटिकल इन्जिनियर रामकृष्ण मानन्धरको हो । उनी एक घोटालामा कारबाहीमा परेपछि जागिर छाडेर आफ्ना केही विमानस्थलमै कार्यरत सहकर्मीहरुलाई साथमा लिएर मिडिया खोलेका हुन् । पहिले नेपाल टेलिभजनबाट समय किनेर कार्यक्रम चलाउँदै आएका मानन्धरले पछि आफैँले ईमेज च्यानल खोले । एफएममा समय किनेर कार्यक्रम चलाउँदै आएका उनले आफ्नै एफएम खोले । जिल्लाहरुमा पनि छुट्टै टावर राखेर एफएमलाई देशभर बज्ने गराए । अर्को एफएम पनि किने । अनि अनलाइन पनि चलाए ।
दक्ष जनशक्ति नराख्ने, भएकालाई राम्रो दाम नदिने गर्दा संस्था विस्तारै धरासायी हुँदै गयो । पत्रकारको सुविधा बढाउन भन्दा आएको नाफाले जग्गा जमिन र सुविधायुक्त गाडीहरु किनेर शान र सौकत बढाउँदै जाँदा संस्थाले भने हावा खाँदै गयो ।
ईमेज च्यानललाई मानन्धरले आफ्नो परिवारबाट बाहिर जान दिएनन् । अहिले भने आफूले २० प्रतिशत शेयर राखेर बाँकी सबै बिक्री गरेका छन् । त्यसमा चार जना अन्य साझेदार जोडिएका छन् । जसमा नेपाल टेलिभिजनको थुप्रै रकम नतिरेका मिडिया हब सञ्चालक सोम धिताल र नेपाल समाचार पत्र सञ्चालन गरिरहेका दिरेकलाल श्रेष्ठ रहेका छन् । बाँकी दुई जना धिताल र श्रेष्ठका ‘हिडन पार्टनर’ रहेका छन् ।
स्रोतका अनुसार, नयाँ मिडिया कम्पनीको अध्यक्ष मानन्धर नै भएका छन् । श्रेष्ठ निर्देशक तथा धिताल सीईओ भएर आएका छन् । अब कम्पनी कसरी अगाडि बढ्छ भन्ने जानकारी त दिइएको छैन । तर, पत्रकारहरुलाई कसरी समेटिन्छ भन्ने कुराको पत्तो छैन । (साँघु साप्ताहिक, २०८२ वैशाख २)
प्रतिकृया दिनुहोस