• शनिबार-बैशाख-६-२०८२

गृह मन्त्री लेखकको सुशासनको नमुना ? : सहसचिवलाई बरण्डा, उपसचिव बने हाकिम !

 

काठमाडौं । गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीको मनपरी कार्यसम्पादनका कारण सहसचिवहरु बरण्डामा तड्पिन बाध्य हुँदै आएका छन् । मन्त्री र सचिवको यो बेकाइदाको फाइदा भने केही शक्तिशाली चाकडीबाज उपसचिवहरुले उठाउँदै आएका छन् । सहसचिवको दरबन्दी रहेका केही जिल्लाहरुमा भने उपसचिवहरुलाई कामु प्रजिअको जिम्मेवारी दिएर सुशासनको खिल्ली उडाइएको छ । मन्त्रालयको बरण्डामा रहेका सहसचिवहरुलाई पनि किस्ताबन्दीमा जिम्मेवारीमा खटाएर मन्त्रालयको नेतृत्वले प्रथम श्रेणीका कर्मचारीहरुको हूर्मत लिने कार्य गरेको गुनासो कर्मचारीहरुले गरेका छन् ।


बैतडी जिल्लामा सहसचिवको दरवन्दी रहेपनि उपसचिव दीर्घराज उपाध्याय कामु प्रजिअ भएर काम गर्दै आएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पनि सहसचिव दरवन्दी कायम गरिएको छ । तर, उपसचिव चोमेन्द्र न्यौपानेले कामु प्रजिअको जिम्मेवारी पाएका छन् । डोटीमा पनि उपसचिव मोहनराज जोशी कामुको जिम्मेवारीमा रहेका छन् । रोचक विषय चाहिं के छ भने हाल गृह मन्त्रालयमा आधा दर्जन भन्दा बढी संख्यामा सहसचिव जिम्मेवारी नपाउँदा बरन्डामा हल्लिनु परेको स्रोत बताउँछ ।


सहसचिवको दरवन्दी रहेका रामेछाप, दैलेख, जुम्ला, सल्यान, बैतडी, डडेलधुरा, र डोटीलगायतका जिल्लाहरुमा उपसचिवस्तरका कर्मचारी कामु प्रजिअको जिम्मेवारीमा पठाएर मन्त्री लेखबले सुशासनको खिल्ली उडाएका  छन् । हाल रामेछापको कामु प्रजिअको जिम्मेवारीमा उपसचिव राजुप्रसाद पौडेल रहेका छन् । जबकि सो जिल्लामा सहसचिवको दरवन्दी रहेको छ । 
यसैगरी दैलेखमा सोही जिल्ला निवासी उपसचिव नवराज जैसीले जिल्ला हाँक्ने अवसर प्राप्त गर्दै आएका छन् । जुम्लामा उपसचिव रामबहादुर शाही र सल्यान जिल्लामा भने शम्भुप्रसाद रेग्मीले कामुको जिम्मेवारीमा रहेर हाँकीरहेका छन् ।


 गृहमन्त्री लेखक र सचिव दुवाडीले सहसचिवको दरबन्दीमा ती जिल्लाहरुमा कार्यरत उपसचिवहरुलाई जिम्मेवारी दिएर विश्वमै नभएको ‘लोकतान्त्रिक’ छवि  प्रस्तुत गरेका छन । उता, मन्त्रालयले अवधि नपुग्दै २०८१ चैत २५ गते सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका सात जना वरिष्ठ अध्यागमन अधिकृतसहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले कतिपय उपसचिवहरुको ६–८ महिना नपुग्दै विमानस्थल कार्यालयबाट सरुवा गरेकोमा असन्तुष्टि जाहेर गरेका छन् ।


विमानस्थल अध्यागमन कार्यालयबाट हटाइएका उपसचिवहरु निम्न रहेका छन् । गृह स्रोतले दिएको जानकारीअनुसार, नेपाली काँग्रेसका सहमहामन्त्री एवम् सांसद जीवन परियारको जीवन संगिनी सीता परियारलाई मन्त्रालयमा सरुवा गरिएको छ । स्याङ्जा निवासी उपसचिव बाबुलाल रेग्मीलाई पर्सा जिल्लाको सहायक प्रजिअमा सरुवा गरिएको छ । उनी प्राय मालदार निकायमा बसेर मस्ती गर्ने कर्मचारीमा पर्ने गर्छन् । प्राय यातायात कार्यालयमा बसेर नक्कली ड्राईभिङ लाइसेन्स बाँडेर सम्पत्ति आर्जन गरेको आरोप उनीमाथि लागेको थियो ।


अवैध ढंगले अतिरिक्त आम्दानीबाट सम्पत्ति जोडेको आरोपमा उनीप्रति लाग्ने गरेको छ । बैदेशिक रोजगार विभागमा कार्यरत रहँदा पनि मोजमस्ती गर्ने गरेको सहकर्मीहरु बताउँछन् । यस्तै, मन्त्रालयले अध्यागमन कार्यालयबाट उपसचिव सत्यराज जोशीलाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको बताइन्छ । मन्त्रालयले उपसचिवहरु तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणिन्द्र दाहाल र सूर्य प्रसाद उपाध्यायलाई भने मन्त्रालयमा तानेको खबर छ ।


मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयमा भने दररेट तोकेर नै नयाँ उपसचिवहरुलाई खटाएको आशंका गरिएको छ । होइन भने अवधि नपुग्दै  कार्यरतहरुलाई  हटाएर नयाँलाई किन खटाइयो भन्ने प्रश्न पनि उठेको छ । यातायात व्यवस्था विभागबाट मन्त्रालय हुँदै अध्यागमन विभागमा पुगेको केही महिना नबित्दै उपसचिव ईश्वरी दत्त पनेरु एयरपोर्ट पुगेका छन् । उनी डडेल्धुरा निवासी हुन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरका कारणले पटक पटक मालदार निकायमा सरुवा हुने अवसर पाउँदै आएको कर्मचारीहरु बताउछन् । गृह मन्त्री रमेश लेखकले ‘सुप’का कर्मचारीहरुलाई खोजीखोजी अवसरदिने गरेको कर्मचारी स्रोत बताउछ । 


कारागार कार्यालय डिल्ली बजारमा कार्यरत निर्देशक पूर्ण बहादुर खत्रीले पनि एयरपोर्टमा सरुवा हुने अवसर पाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य पनि विमानस्थल अध्यागमनमा पुगेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी फणिन्द्र प्रसाद पौडेल, जिल्ला प्रशासन कार्यालय अछामका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने पनि सोही कार्यालयमा सरुवा हुन सफल भएका छन् ।


मन्त्रालयबाट भन उपसचिव खेमराज उपाध्यायले सो कार्यालयमा जम्प हान्न सफल भए । एयरपोर्ट अध्यागमन कार्यालय कर्मचारीको लागि आम्दानीको हिसावले निकै आकर्षक मानिन्छ । अझ उपसचिवका लागि भन्दा पनि अधिकृतस्तरका कर्मचारीहरुका भने थप आकर्षक रहेको जानकार स्रोतको भनाई रहेको छ । त्यही भएर दररेट तोकैर मन्त्रालयले छिटोछिटो कर्मचारीको सरुवा गर्ने गरेको पीडित कर्मचारीहरु बताउँछन् । (साँघु साप्ताहिक, २०८२ वैशाख १)
 

प्रतिकृया दिनुहोस