• शनिबार-बैशाख-६-२०८२

प्रमुख आयुक्त थपलियाको बिदाइ

 

काठमाडौँ, ५ वैशाख : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज बिदाइ गरिएको छ । आयोगले यहाँ आज एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो । आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी यही वैशाख ६ गतेदेखि निवृत्त हुनुहुँदैछ ।

 

बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ ।”

 

साथै उहाँले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले झन्डै छ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ ।”

 

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबीचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको उल्लेख गर्नुभयो ।  बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७६ साल वैशाखदेखि २०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका छ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गर्नुभएको थियो ।---

 

 

प्रतिकृया दिनुहोस