काठमाडौं । भक्तपुर जिल्लामा राम्रो राजनीतिक प्रभाव रहेको नेपालको पुरानो कम्युनिष्ट पार्टी हो नेपाल मजदुर किसान पार्टी । सो राजनीतिक दलको आठौं महाधिवेशन २०८१ फागुन १६ देखि २० गतेसम्म चलेर सम्पन्न भएको थियो । भक्तपुरमा सम्पन्न भएको महाधिवेशनले सर्वसम्मत रुपमा नारायणमान बिजुक्छे क. रोहितलाई अध्यक्षमा पुन निर्वाचित गरेको छ । २०३१ साल माघ १० गते नेमकिपा गठन भएको थियो । संस्थापक अध्यक्ष रहेका क. रोहितलाई आठौं महाधिवेशनले फेरि पनि अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
उनी २०३१ सालयता ५० वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा रहँदै आएका छन् । मुलुकमा ०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन र २०६४ र २०७० को संविधानसभा निर्वाचनमा बिजुक्छे भक्तपुर क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । त्यसपछि भने उनले संसदीय निर्वाचनमा भाग लिएका छैनन् । सो पार्टीका नेता प्रेम सुवाल भक्तपुर क्षेत्र नं १ बाट २०७४ र २०७९ मा सांसद निर्वाचित हुँदै आएका छन् । महाधिवेशनले क. रोहितको अध्यक्षतामा चारजना बैकल्पिक सदस्यसहित ३३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई चयन गरेको छ । केन्द्रीय सदस्यहरूमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही र नारायण महर्जन चयन भएका छन् । सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ पनि केन्द्रीय सदस्य चयन भएका छन् । अन्य केन्द्रीय सदस्यहरुमा रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजु र सरोजकुमार साह चुनिएका छन् ।
कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि अधिवेशनमार्फत सर्वसम्मत रूपमा निर्वाचित भएका छन । महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको सो पार्टीले जानकारी दिएको छ । (साँघु साप्ताहिक, २८१ फागुन २६)
प्रतिकृया दिनुहोस