• सोमबार-फाल्गुण-२६-२०८१

प्रतिगमन र प्रोक्सी वारका ७५ वर्ष (३)

 

अमेरिकन राजदूतावासको क्लर्कसँग नेपाली कांग्रेसका नेता विपी कोइरालाले विक्रम सम्वत २०१५ सालको पहिलो प्रतिनिधिसभा निर्वाचन जित्न पैसा मागेको र पाएको अत्यन्त गुप्त राखिएको कुरा राजा महेन्द्रलाई कसरी थाहा भयो ? यो कुरा सुवर्ण शमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय कसैलाई विपीले जानकारी दिनुभएको थिएन । यो कुरा विपी कोइराला छाडी अर्को एकजना नेपालीलाई मात्र थाहा थियो । 


त्यो अर्काे मान्छे को थियो ? अमेरिकन दूतावासको काठमाडौंस्थित मामुली क्लर्कको कूटनीतिक आवरणमा बसेको तर कूटनीतिक उन्मुक्ति प्राप्त सीआईएका एजेन्ट डुआने क्लारिजको विपी कोइराला र राजा महेन्द्र दुवैको मृत्युपश्चात प्रकाशित ‘A Spy For All Seasons’ मा पनि त्यो व्यक्तिको नाम छैन । तर क्लारिजको त्यो किताबमा उनले विपी कोइरालाको साथ उनको सेक्रेटरी भएको मात्र लेखेका छन् । र, उसले मलाई दिक्क लगाउँथ्यो भन्ने पनि लेखेका छन् । मैले आज यो लेख लेख्दा मेरो सहज अनुमान छ, त्यो व्यक्ति तत्कालीन नेपाली कांग्रेसका दुई मध्येका एक महामन्त्री र विपीको विश्वासप्राप्त डा.तुलसी गिरी नै थिए । 


विपी कोइरालालाई नागपोखरी नक्सालको रिमालहरुका घर भाडामा लिएर बस्दा डा.गिरी पनि त्यसै घरको अर्काे कोठामा आफ्नो त्यस समयकी कान्छी पत्नी बसन्त शमशेरको मितिनी पट्टीबाट जन्मेकी छोरीको साथ बस्दथे । एक पटक कुनै कांग्रेसी कार्यकताले डा.तुलसी गिरीको गाडी साँझतिर नारायणहिटी राजदरबारको गेटबाट भित्र छिरेको कुरा भनेछन् । विपीले डा.गिरीलाई त्यो कुराबारे प्रश्न गर्दा उनले भनेछन्, ‘राजालाई हिन्दी, उर्दु गाना, सेरसायरी सुन्न मन लाग्छ । कहिलेकाँही बोलाउँदा म गएको छु ।’ त्यस समय काठमाडौंमा अमेरिकाको आवासीय राजदूतावास थिएन । नयाँ दिल्लीस्थित अमेरिकन राजदूतावासले नै नेपालको सम्बन्धमा हेर्दथ्यो । त्यस समय नेपालका लागि पनि गैर आवासीय राजदूत जोन ग्रालबेथ थिए । उनले काठमाडौंमा भेट्दा राजा महेन्द्रले पनि भनेछन्, ‘मलाई पनि चुनावका लागि पैसा चाहियो ।’ 


 अमेरिकन राजदूत ग्रालवेथले त्यो अमेरिकन क्लर्कलाई राजालाई पनि पैसा दिन भनेछन् । त्यो क्लर्कको आवरणमा रहेको सीआईए एजेन्ट एक साँझ समय मिलाई पहेँलो लामो खाम लिएर नारायणहिटीमा राजा महेन्द्रलाई भेट्न पुग्दा त्यहाँ मधुरो बिजुलीको बत्ती रहेछ । त्यो समयमा उनलाई र राजा महेन्द्र दुबैलाई बडो असहज, असजिलो लागिरहेको थियो । त्यसैले मैले त्यो पहेँलो लामो चौडा मोटो खाम राजा समक्ष टेबलमा राखिदिएँ र साधारण शिष्टाचारमा कुराहरु मात्र गरेर विदा भएँ ।’


क्लारिजलाई अब चिन्ता भएछ कि हामीहरुले विपी कोइरालालाई चुनाव जित्न आर्थिक सहयोग गरेका छौं । तर अब राजाले हाम्रै पैसा विपी कोइरालाविरुद्ध प्रयोग गर्नेछन् । तर एकछिनपछि कलारिजले सोचेछन् कि विपी कोइरालालाई पैसा दिएको धेरे पहिले समय रहँदै बसेर हो तर अहिले राजालाई पैसा दिएको धेरै अबेर हो । नेपालको जुन यातायातको पछौटे अवस्था छ, त्यस्तो अवस्थामा यति अबेर राजाको हातमा परेको पैसा निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको हातमा पुग्नु धेरै गाह्रो हुनेछ ।’


तर, किन केही महिना अगाडि मात्र वि.सं.२०१५ प्रतिनिधिसभाको निर्वाचन नेपाली काग्रेसका नेता विपी कोइराला जित्नुहोस् र प्रधानमन्त्री हुनुहोस्, संसदीय प्रजातन्त्र बलियो होस् भनि गुप्त आर्थिक लगानीसमेत गरेको अमेरिकन सेन्ट्रल इन्टेलिजेन्स (सीआईए)लाई केही पछि नै किन नेपालमा प्रजातन्त्र आफ्नो नयाँ सामरिक रणनीतिको प्रतिकूल लाग्न थाल्यो ? घनघोर अन्तर्राष्ट्रिय शीतयुद्ध (कोल्ड वार) को त्यससमय के ठूलो परिवर्तनयुक्त घटनाक्रम अचानक भयो, जसको कारण सीआईलाई अब तुरन्तै आफ्नो नयाँ आवश्यकता पूरा गर्न नेपालको प्रजातन्त्र, प्रेस स्वतन्त्रता, खुला वातावरण सारै प्रतिकूल र प्रजातन्त्रको ठाउँ एउटा बन्द समाज भएको तानाशाह सारै अनुकूल हुने भयो ? 


नेपालको पहिलो संसदीय प्रतिनिधिसभाका लागि निर्वाचन फागुन ७ गते २०१५ (फेबु्रअरी १८, सन् १९५९) मा प्रारम्भ भएको थियो । त्यो निर्वाचनको मिति घोषित गर्नुअघि राजा महेन्द्रले नेपालका गुपतचर एजेन्सीहरु सेना र भुपालमान सिंह इत्यादिलाई पनि निर्वाचनको परिणाम के होला भनि गुप्त आंकलन गर्न लगाएका थिए । ती आंकलनहरुल एउटा त्रिशंकु संसद (Hung Parliament) बन्ने छ । जसमा नेपाली कांग्रेसलगायत कुनै पार्टीले बहुमत पाउन सक्दैन भनि गुप्त प्रतिवेदनहरु दिएका थिए । 


तर नेपालको इतिहासको पहिलोपल्ट जनताको प्रत्यक्ष मतदानले निर्वाचित प्रतिनिधिसभाको बनावट राजा महेन्द्र र दरबारियाहरुको आंकलनभन्दा धेरै ठूलो फरक भएको परिणाम आयो । विपी कोइरालाको पार्टी नेपाली कांग्रेसले बहुमत मात्र होइन स्पष्ट दुइतिहाई स्थानमा विजय प्राप्त ग¥यो । मनोमानी तजविजमा प्रधानमन्त्री नियुक्त गर्दै आएका राजाको हातबाट अब पुरानो विशेषाधिकार अब राजा महेन्द्रको अधिनमा रहेन । 


२०१५ को निर्वाचनको परिणाम घोषित भईसकेपछि पनि उल्लेखनीय लामो चर्चित विलम्ब पछि मात्र राजा महेन्द्रले विपी कोइरालार्ला वि.सं. २०१६ जेठ १३ गते (२७ मे १९५९ मा बल्ल प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका थिए । जुन बेला १८ फरवरी सन् १९५९ (फागुन २०१५ मा नेपालमा निर्वाचन प्रारम्भ भएको थियो त्यसको एक महिना पछि चैत २०१५ को पहिलो साता दलाई लामाले ल्हासा छाडेर भागेको चार दिनपछि मात्र १९ मार्च १९५९मा चिनिया सेनाले त्यो कुरा थाहा पाए । 


सीआईएका एजेन्टहरुले कुन कुन ठाउँ हुँदै जाँदा चाइनिज सेनासँग पूर्ण सुरक्षित हुँदै भारत पुग्न गुप्त रोडम्याप बनाएका थिए र स्कर्टहरुको बन्दोबस्त गरिएको थियो । सीआईएले दलाई लामालाई भगाएर भारत पुर्याउने योजना पहिले देखिनै अमेरिका र भारत बस्दै आएका उनका दाजुभाइ ग्यालो थोनडुप (Gyalo Thondup) र जिग्मे नोर्बु (Jigme Norbu) सामेल थिए । जब दलाई लामाले कयौं दिनहरु प्राय रातभर हिड्दै अप्रिल १८ सन् १९५९ (वि.सं.२०१६ साल वैशाख ५ गते शनिवार) भारत, आसमका तेजपुर जिल्लाको सीमाना पार गरेका थिए ।

 

अब सीआइएले शीतयुद्धको अर्काे नयाँ अखडा, नयाँ मोर्चा चीनलाई सीमित र संकुचित पार्ने (Containment of China) सामरिक रणनीति अन्तर्गत नेपालको मुस्ताङमा बढाउन प्लान कार्यान्वित गर्न थाल्यो । तर यसरी चीनसँग सीमा सम्झोता प्रोटोकलमा चीनका प्रधानमन्त्री चाउएनलाई सन्धिको  साथै शान्ति र मैत्रीको सन्धि पनि गरेका प्रधानमन्त्री, खुला संसदीय वातावरणमा कदापि सम्भव हुने थिएन । त्यसैले दलाई लामा हजारौं खम्पाहरुका साथ आइसकेपछि मुस्ताङमा चीन उपद्रो र विध्वसांत्मक अखडा, आधारशिविर र खम्पा लडाका क्याम्पहरु खडा गर्न बडो गुप्त तरफरता र मुस्तैदीकासाथ लागिप¥यो । 


राजा महेन्द्रले २०१७ साल पुस १ गते काण्ड गर्नुभन्दा नौ महिना अघि नै वैशाख २०१७ साल मै (अप्रिल १९६०) का गुप्त मेसोले Possibility of Royal Takeover भनेको कुरा अब डिक्लासिफाइड छ । (साँघुको आगामी अंकमा ‘प्रतिगमन र प्रोक्सीवारका ७५ वर्ष–४) (साँघु साप्ताहिक, २०८१ फागुन २६)

प्रतिकृया दिनुहोस