किन कुन अमेरिकन गुप्तचर एजेन्सी सीआईएले आम निर्वाचनको केही महिना अघिमात्र नेपाली कांग्रेसका सभापति बीपी कोइरालालाई प्रतिनिधिसभामा बहुमत जित्न र प्रधानमन्त्री हुन गुप्त आर्थिक मद्दत गरेको थियो । त्यही सीआईए नेपालमा संघीय प्रजातन्त्र समाप्त पार्न बीपी कोइरालालाई थुन्न र जनताको मौलिक स्वतन्त्रताको अन्त गर्न राजा महेन्द्रलाई तुरुन्तातुरुन्तै गुप्तरुपले उचाल्न र प्रेरित गर्न थालेको थियो ।
बीपी कोइराला र राजा महेन्द्र दुवैले विसं २०१५ को सर्वप्रथम संसदीय आम निर्वाचनका लागि पैसा लिएको कुरा नपत्याए स्वयं अमेरिकामा प्रकाशित सीआइएको काठमाडौंमा गुप्त काम गरेका एजेन्ट Duane Claridge को A spy for all seasons : my life in CIA नामक पुस्तक काठमाडौंमा उपलब्ध छ ।
तर, के कुरा चाहिं अमेरिका र नेपाललगायत कहीँ स्पष्टरूपले आजसम्म पनि २०१७ सालको ‘कू’ को ६४ वर्ष पनि नेपालको राजनीतिक इतिहासको यो अँध्यारो अध्याय कतै प्रकाशित छैन । हामी नेपालीहरू र सञ्चार समक्ष केवल यति भने बडो स्पष्ट रुपले २०१७ साल पुस १ गते (डिसेम्बर १५ सन् १९६०) देखि प्रकाशित छ कि त्यो दिन दिउँसो राजा महेन्द्रले शाही सेनाको बलमा सर्वप्रथम जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभामा दुई तिहाई १०९ मा ७४ स्थानको बहुमत प्राप्त प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, प्रमुख प्रतिपक्षी दल दक्षिणपन्थी राष्ट्रवादी गोरखा परिषद्का नेता भरत शमशेर, वामपन्थी नेपाल कम्युनिस्ट पार्टीका नेता मनमोहन अधिकारीलगायत फेला परेसम्मका सबै राजनीतिक दलका नेताहरूलाई पक्राउ गरेर जेल हालियो ।
सबै राजनीतिक दलहरू प्रतिबन्धित भए काठमाडौं नेपालमा यत्रो ठूलो सत्ता र शासन व्यवस्था उलटपुलट हेरफेर हुँदा म भारतको इलाहाबादमा एमए पढिरहेको थिएँ । त्यस समय दुई हप्ताको लागि Winter School for Foreign Students परराष्ट्र मन्त्रालयको खर्चमा इलाहावाद युनिभर्सिटीको हिस्ट्री डिपार्टमेन्टमा हिन्दी भाषा पढ्न आएका चीनका लीउ शाउलान, इलाहावाद युनिभर्सिटीमा भिजिटिङ प्रोफेसर रहेका
अमेरिकन याले युनिभर्सिटीका प्रोफेसर बिची, उनको छोरी, कलकत्तामा पढिरहेकी टेक्सासकी ग्रोटा सार्टलसहित २१ अमेरिकन विद्यार्थी भारतभरिबाट आएका थिए । त्यस समयको कम्युनिष्ट सोभियत रुसका एलेकसी काकतानोभ, ओलेग पेसाभ र मरिना पेसोभ (दम्पत्ति), ताशकन्दीक रानो ग्यालीमोमा, जापानका मोतो यामिगामा र अरु विभिन्न देशहरु क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, मौरिसस, ट्रिनिडाड इत्यादिका विद्यार्थी र कूटनीतिक कर्मचारीसमेत आएका थिए ।
राजा महेन्द्रले सेनाको बलमा २०१७ साल पुस १ गते नेपालमा यत्रो ठूलो काण्ड कू गरी शासनसत्ता सम्पूर्णरुपले कब्जा गरेको भनि घट्ना भोलिपल्ट बिहान पुस २ गते इलाहावादका दैनिक अखबारहरु पढेर मात्रा थाहा पाएँ । त्यस समय आजको जस्तो हातमा मोबाइल चौबिसै घण्टा टेलिभिजन प्रसारणहरु थिएनन् । अखबारहरू बिहानै प्रकाशित भइसक्थे । तर, २०१७ पुस १ गते काठमाडौंमा सेनाको बलमा दिउँसो थापाथलीस्थित तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री बीपी कोइराला र अरुहरुलाई पक्राउ गरिएको थियो । उपप्रधानमन्त्री सुवर्ण शमशेर पुस १ गतेको अघिल्लो दिन कलकत्ता जानुभएकोले पक्राउ पर्नु भएन । विराटनगरमा पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र कम्युनिस्ट नेता मनमोहन अधिकारी पनि त्यसै दिन पक्राउ गरिनुभएको थियो । उता पुस २ गते विन्टर स्कुल फर फरेन स्टुडेन्टस्हरुलाई बसहरुमा लगेर बुद्धले सर्वप्रथम आफ्नो धर्म प्रचार थालेको ठाउँ काशी, वाराणसी नजिक सारनाथमा अवलोकन भ्रमण गराइने कार्यक्रम थियो । सारनाथ जाने बस चढ्न म युनिभर्सिटीको गेटमा पुग्दा सबै हुत्तिँदै मेरो नजिक आए । नेपालका बारेमा कसैले के सोध्यो, कसैले के ।
कम्युनिष्ट सोभियत रुसको एलेक्सी कातनेभले सोधे, ‘मार्न त मार्दैनन् होला नि ?’ मैले हाँस्दै भने ‘मार्दैनन्’ ।
बीपीका गृहमन्त्री सूर्यप्रसाद उपाध्यायका भाई जगदीश उपाध्याय पनि इलाहावादमा पढ्दै हुनुहुन्थ्यो । उहाँले चीनको विद्यार्थी ली साउ लानलाई भन्दै हुनुहुन्थ्यो कि, ‘यो सबै भारतले गराएको हो ।’ तर लिउ साउलानले बडो सोझो भोलाभाला मान्छे बन्दै भने, ‘खोई तपाईंको देशमा के भएको हो ? म राजनीति र अन्तर्राष्ट्रिय कूटनीति केही जान्दिन, बुझ्दिन ।’
हत्तपत्त मेरो छेउमा आएर अमेरिकन भिजिटिङ प्रोफेसर बिचीले भने, ‘के म बसमा तपाईंको बगलको सिटमा बस्न सक्छु ?’
शिष्टाचारबस मैले हाँसेर सहर्ष भनेँ, ‘मलाई खुसी लाग्नेछ ।’ बस हिंडेपछि प्रोफेसर बिचीले मलाई सोधे, ‘अब के होला नेपालमा ?’
मैले भनेँ, बीपी कोइराला धेरै लोकप्रिय हुनुहुन्छ । हिजै साँझदेखि बीपी कोइरालाको पक्राउ र प्रजातन्त्र समाप्त पारेकोविरुद्ध प्रदर्शनहरु भइसक्यो होला ।’ पछि र आजसम्म सोच्दछु कि मैले कति गलत र अवास्तविक मूल्यांकन गरेर प्रोफेसर बिचीलाई त्यसो भन्न पुगेको रहेछु । त्यससमय मेरो यस्तो कुरा सुनेपछि अमेरिकन भिजिटिङ प्रोफेसर बिचीले फेरि अर्काे प्रश्न गरे, Can it not go like Iran? (के नेपालमा इरानको जस्तै नहोला ?) जुन समय नेपालमा २०१७ पुस १ (डिसेम्बर १५, १९६०) मा राजा महेन्द्रले ‘कू’ गरी संसदीय प्रजातन्त्र समाप्त पारेर जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई थुनेर राजनीतिक दलहरु प्रतिबन्धित गरेका थिए, त्यसको सात वर्ष अमेरिकन CIA र ब्रिटिश गुप्तचर एजेन्सी MI–16 मिली इरानका राजा शहनशाह रेजा शाह पहलवीलाई सेनाको बलमा कू गरी इरानको जननिर्वाचित प्रधानमन्त्री मोसाहेग र मन्त्रीहरुलाई थुनेर संसदीय प्रजातन्त्र समाप्त पारे । शहनशाह रेजा शाहले ७ वर्षदेखि निर्विघ्न तानाशाही शासन चलाइरहेका थिए ।
अमेरिका र ब्रिटेन मिलेर इरानको संसदीय प्रजातन्त्र समाप्त पार्न लगाउनुको कारण के थियो भने प्रधानमन्त्री मोसाहेगको सरकारले ब्रिटिश स्वामित्वमा रहेको एङ्गलो–पर्सियन आयल कम्पनीको राष्ट्रियकरण गरेको थियो । ब्रिटेन र अमेरिका प्रधानमन्त्री मोसाहेगको यो राष्ट्रियकरण उल्टाएर पहिलेकै झैं पश्चिमा पेट्रोलियम कम्पनीको नाफा शोषण स्वार्थको निरन्तरता चाहन्थे । प्रधानमन्त्री मोसाहेगलाई थुनियो । तर, उनको मन्त्रिमण्डलका परराष्ट्रमन्त्री डा.होसेन फातेमीलाई पक्राउ गरेको केही दिनपछि सेनाको फायरिङ स्क्वाडद्वारा पिठ्युँमा गोली हानेर मारियो । र, निर्विघ्नरुपले सातवर्षदेखि इरानमा राजाको शासन चलिरहेको बखत नेपालमा राजा महेन्द्रले सेनाको बलमा संसदीय प्रजातन्त्र समाप्त पारेको घटना घटेको थियो ।
नेपालमा पनि हामीहरुले प्रत्यक्ष देख्यौ कि राजा महेन्द्रको तानाशाही शासन उनी बाचुञ्जेल मात्र होइन उनीपछि पनि तीन दशक (३० वर्ष) चलिरह्यो । पछि मैले बुझ्दै गएँ र धेरै पछि बडो स्पष्ट भएँ कि वि.सं. २०१७ (सन् १९६०) मा किन, कसरी र के कारण अमेरिकन सीआईए र ब्रिटिश एम–१६ अमेरिकन राष्ट्रपति आइशन हावर, ब्रिटिश प्रधानमन्त्री ह्यारोल्ड म्याकमिलनसँग २०१७ साल वैशाख (२७–३० अप्रिल १९६०) र अक्टोबर १७, १९६० (कात्तिक १ गते) देखि ४ दिने ब्रिटेन भ्रमणमा के के मन्त्रणा भयो ? जुन समय नेपालमा संसदीय प्रधानमन्त्री बीपी कोइराला हुनुहुन्थ्यो ? आजसम अज्ञात राखिएको छ ।
(कुन नयाँ सामरिक स्वार्थको परिपूर्ति गर्न नेपालमा १६ महिनामै प्रजातन्त्र समाप्त पार्न महाशक्ति राष्ट्र अमेरिका र ब्रिटेनलाई आवश्यकता परेको थियो ? पढ्नुहोस् साँघुको आगामी अंकमा ‘कू’, प्रतिगमन र प्रोक्सीवारका ७५ वर्ष–३) (साँघु साप्ताहिक, २०८१ फागुन १९)
प्रतिकृया दिनुहोस