म केटाकेटी (८ वर्ष)को उमेरमा एकदिन विराटनगरमा ‘इनकलाव जिन्दावाद’ (क्रान्ति अमर रहोस्) र अरु नाराहर लगाउँदै हिँडेको हजारौं जान मजदुर र अन्य नागरिकहरुको जुलुस देखेर तमाशा हेर्ने तमासे, कहिले नदेखे रमिताको रमिते भएर हिड्न पुगेको दिनलाई म आज पनि झल्झल्ली सम्झिन्छु । त्यस जुलुसको सबैभन्दा अगाडि मेरो काकाहरु विपी कोइराला, तारिणी प्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला, दाजु नाता पर्ने मनमोहन अधिकारी, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मा इत्यादि हुनुहुन्थ्यो ।
जुलुसमा हिड्नेहरुको हातमा अनेकथरीका झण्डाहरु थिए । रातोमा हलो र मेसिनको चक्का भएको भारतीय सोसलिष्ट पार्टीको झण्डा रातोमा हँसिया हथौडा भएको कम्युनिष्ट झण्डा, तीन रंगको भारतीय राष्ट्रिय कांग्रेसको बिचमा सेतोमा महात्मा गान्धीको चर्खा भएको झण्डा थियो । भारत स्वतन्त्र भइसकेको थिएन । केही महिना पछि ब्रिटिश राज्य समाप्त हुने तय थियो । अहिलेको विराटनगर आर्दश स्कुलको चौरमा नेपालको इतिहासको पहिलो खुला राजनीतिक आमसभा र नेताहरुको सम्बोधन पनि मैले मज्जाले सुनें । तर, कसले के बोल्यो, के भन्यो, त्यो भने अहिले याद छैन । घटना भने स्पष्ट सम्झिन्छु । त्यसपछिका कयौं स्वदेशी विदेशी राजनीतिक घटनाहरु सम्झिन्छु ।
तर, अहिले यो सानो लेखमा सबै अटाउन सम्भव छैन । पछि एउटा पुस्तक नै मैले लेखेर प्रकाशित गर्न प्रयास गर्नेछु । त्यसको ४ वर्षपछि २००७ साल फागुन ७ गते सम्पन्न नेपाली कांग्रेसको सशस्त्र क्रान्तिको पनि म प्रत्यक्ष साक्षीका रुपमा जीवित छु । म क्रान्ति हुँदा काशी वाराणसीमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा थिएँ । राजा त्रिभुवनलाई भारतीय प्रधानमन्त्री नेहरुले भारतीय वायुसेनाका विमानहरु काठमाडौंमा पठाई सपरिवार दिल्ली पु¥याए । नेपाली कांग्रेसका क्रान्तिकालीन सभापति मातृकाप्रसाद कोइराला (मेरो पिता), आमा, हजुर आमा, दाजु बहिनी, भाइहरुको साथ काशी वाराणसीमा थियौं । त्यहाँबाट म पटना आएर विपी कोइरालाको कोजीनूक, बैंकरोडको डेरामा बस्न थालें । केही दिन पछि काम गर्नेहरु साथ हजुर आमालाई विराटनगर पठाई मेरो आमा पनि सपरिवार पटना आउनु भयो ।
२००७ साल फागुन ४ गते म मेरो पिता र परिवारका साथ पटनाबाट प्लेनमा काठमाडौं आयौं । तीन दिन पछि फागुन ७ गते २००७ सालमा नारायणहिटी राजदरवारमा पुरानो जमानाको स्ट्याण्डवाला माइकबाट ‘औं हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरुले निर्वाचन गरेको गणतन्त्रात्मक विधानअनुसार होस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले हामीबाट यो घोषणाद्वारा हामी हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अति विश्वास पात्र र प्रिय श्री ३ महाराज मोहन शमशेर जंगबहादुर राणा हाम्रो प्रधानमन्त्री र परराष्ट्रमन्त्री (२) श्री मिनिस्टर बबर शमशेर जंगबहादुर राणा, रक्षामन्त्री (३) श्री विशेश्वरप्रसाद कोइराला, गृहमन्त्री (४) श्री सुवर्ण शमशेर, अर्थमन्त्री (५) श्री युवराज शमशेर वन विभागका मन्त्री (६), श्री गणेशमान सिंह उद्योग र वाणिज्यमन्त्री (७) श्री नृपजंग राणा, शिक्षामन्त्री (८) श्री भद्रकाली मिश्र, यातायातमन्त्री (९) श्री यज्ञबहादुर बस्न्यात, स्वास्थ्य, स्वायत्त शासनमन्त्री (१०) श्री भरतमणि शर्मा, खाद्य एवं कृषिमन्त्रीसमेत अरु मन्त्रीहरु सम्मिलित एक मन्त्रीमण्डल गठन र नियुक्त गरिबक्सेका छौं ।’
यो नेपालको पहिलो मन्त्रिमण्डलमा नेपाली कांग्रेसको कहिले पहिले सदस्य नरहेका क्रान्तिमा कुनै भूमिका नभएका भद्रकाली मिश्रलाई भारत सरकारका दबाबमा मन्त्री बनाइयो भनि नेपाली कांग्रेस कार्यकर्तामाझ चर्चा व्यापक भएको थियो । त्यसको धेरै अघि क्रान्तिको तयारी भइसकेपछि राजा त्रिभुवनलाई सपरिवार २००७ कात्तिक २२ गते राजा त्रिभुवनलाई भारतीय राजदूतावास (त्यस समय शीतल निवास, आजको राष्ट्रपति भवन)मा शरण लिएर बसे । २००७ कात्तिक २६ गते भारतीय वायुसेनाको विभागले नयाँदिल्ली लैजाने काम भएको थियो ।
यसरी के देखिन्छ भने २००७ साल क्रान्तिदेखि नै, त्यसपछि राजा त्रिभुवन र श्री ३ महाराज मोहन शमशेरको प्रतिनिधि भन्ने सम्झौता गर्न केशर शमशेर, विजय शमशेर, नरेन्द्रमणि दीक्षितहरुलाई नयाँ दिल्ली पठाउने र नयाँदिल्लीबाट राजा त्रिभुवनबाट मोहन शमशेरको वक्तव्यलाई स्वागत गर्ने सबै कामले के देखाउँछ भने २००७ सालको क्रान्तिमा त्यसपछि नेपाल आन्तरिक राजनीतिक शासन व्यवस्थामा भारतले स्पष्ट रुपले खुला र गुप्त भूमिका र हस्तक्षेप गर्दै आएको छ ।
मोहन शमशेर प्रधानमन्त्री र विपी कोइराला गृहमन्त्री रहेका राणा–कांग्रेस कोलिशन सरकार मात्र ९ महिना चल्यो । मंसिर १ गते २००८ मा त्यसबखत नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइरालालाई राजा त्रिभुवनद्वारा प्रधानमन्त्री बनाइनु भयो । त्यो सरकार बन्यो मंसिर २, २००८ मा रक्षा दलको जुनियर अफिरसरद्वारा रिभोल्ट गरी २००८ साल माघ ८ गतेको रात जेल तोडेर के.आई.सिंह र रामप्रसादलाई छुटाई लगी सिंहदरबार नै कब्जा गरियो ।
मध्यरातमै नारायणहिटी राजदरबार आई राजा त्रिभुवन र मन्त्रीहरुलाई भारतीय राजदूत सी.पी.एन.सिंहले बिहानै भारतीइ वायु सेनाका हवाई जहाजहरु त्रिभुवन एयरपोर्टमा विद्रोह दबाउन भगाउने सुझाव दिँदा प्रधानमन्त्री र मन्त्रीहरुले २४ घण्टा हेरौं किन भने रक्षा दलका सर्वाेच्च कमाण्डहरु जीबी याकथुम्बा र अन्य उच्च रक्षा दलका अफिसरहरु साथ दिए । उनीहरु पनि नारायणहिटी पुगिसकेका थिए । सेना र रक्षा दल मिली हनुमानढोका तोपखाना ठिमी गठ्ठाघर बिहान हुँदा नहुँदै सरकारको कब्जा भई विद्रोही सिपाहीहरुलाई पक्राउ गर्दै नारायणहिटी ल्याउन थालिसकेको थियो ।
केशरबहादुर केसी उहाँले लेखेका पुस्तक ‘NEPAL AFTER THE REVOLUTION OF 1950’ मा लेख्नुहुन्छ कि यो रक्षा दलका केही जुनियर अफिसरहरुको विद्रोह तत्कालीन भारतीय राजदूत सी.पी.एन सिंहको खुराफाती उपज थियो । जे होस् भारतीय वायुसेना काठमाडौंमा उत्रिन पाएन ।
(‘कू, प्रतिक्रान्ति, प्रतिगमन र प्रोक्सीवारका ७५ वर्ष लेखेको अरु अंशहरु साँघु साप्ताहिकको आगामी अंकमा क्रमशः ‘किन २०१७ सालमा अमेरिकन सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (CIA) नेपालमा संसदीय प्रजातन्त्र समाप्त पार्न कू गराउन लागि परेको थियो ?) (साँघु साप्ताहिक, २०८१ फागुन १२)
प्रतिकृया दिनुहोस