काठमाडौं । काठमाडौंका सडकमा पछिल्ला महिना राजतन्त्र पक्षको पाइला निकै बलियो देखिएका छन् । उनीहरुको समूह र एकताबद्धता हेर्दा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने मनसायको सडक लडार्इंमा देखिन्छन् । राजतन्त्रको पक्षमा लागेकाहरु विगतमा एकताबद्धताभन्दा पनि छिन्नभिन्न भएर आन्दोलित हुने गरेका थिए । तर, अचेल काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र त्यसमा एकता देखाउन थालेका छन् । राप्रपा, राप्रपा नेपाल र दुुर्गा प्रसाईंको अभियान तुलनात्मक रुपमा शक्ति प्रदर्शनमा बलियो देखिंदैछ । उनीहरु मास परिचनालमा बढी नै बलियो देखिने गरेका छन् ।
यस अघि मिलेर शक्ति प्रदर्शन भने गर्ने गरेका थिएनन् । तर, अहिले उनीहरुवीच अप्रत्याशित एकता देखिएको छ । संयुक्त प्रदर्शनमा जोड दिएका छन् । केही दिनअघि काठमाडौंमा भएका प्रदर्शनमा होस् वा पूर्व राजा ज्ञानेन्द्रलाई पोखराबाट काठमाडौं आउँदा २०८१ फागुन २५ गते आइतबार देखिएको प्रदर्शनमा होस्, उनीहरु मिलेर नै प्रदर्शन गरिरहेका थिए ।
राजतन्त्रको पक्षमा देखिएका शक्तिहरुको अघोषित एकताबद्धता र प्रमुख दलहरुमा देखिएको रक्षात्मक मनस्थितिले राजतन्त्र फर्किने त होइन् ? भन्ने भ्रम भने धेरैलाई सिर्जना गरेको छ । राजतन्त्रको पक्षमा पहिलाभन्दा आममानिसहरुको रुची भने अलिक बढेको देखिन्छ । त्यो रुची बुुढापाकामात्र होइन, युवा पुस्तामा पनि देखिएको छ । त्यसैले, पनि राजतन्त्रवादीहरुलाई फुर्काएको हुन सक्छ । यसबाट राजतन्त्रपक्षधरहरु हौसिन थालेका छन् ।
काठमाडौंमा राजतन्त्रका पक्षधरहरु शक्ति प्रदर्शन गर्ने काममा सक्रिय रहेका छन् । अनि प्रमुख दलहरुलाई दबाबमा राख्न पनि खोजिरहेका छन् । त्यो रणनीतिमा भने राजतन्त्र पक्षधरहरु हौसिएको देखिन्छ । प्रमुख दलहरु ती प्रदर्शन र हुलबाट उत्तेजित हुन खोेजेको देखिन्छ । अनि, काउन्टरमा अभिव्यक्ति दिंदैछन् । त्यसबाहेक माओवादी केन्द्रले आफ्नो पूर्वपश्चिम(हुलाकी राजमार्ग) जागरण अभियान नै रोकेको छ । बीचमै छोडेर काठमाडौं निस्केको माओवादी गणतन्त्रवादीहरुको प्रदर्शन गर्न खोजिरहेको स्रोत बताउछ । गणतान्त्रिक दलहरुले १८ वर्षसम्म गरेको कुशासनले पनि राजतन्त्र पक्षधरको पक्षमा प्रदर्शन गर्नेहरुको संख्या वृद्धि गरेको छ । यो गणतान्त्रिक कुशासनले नागरिकहरुमा असन्तुुष्टि बढ्दै गएको अवस्था छ ।
पछिल्लो समय भारतको आन्तरिक राजनीतिका कारणले पनि नेपालमा राजतन्त्र पक्षधर उत्साहित भएको हुनसक्छन् । भारतीय संस्थापन पक्ष नेपालमा राजतन्त्रको पक्षमा रहेको छ भन्ने मनोविज्ञान नेपालमा बनेको छ । पूर्वराजा ज्ञानेन्द्रको भारत बसाई र छलफलपछि यस्तो चर्चा भइरहेको छ । यद्यपि भारतको संस्थापन लाइन अर्थात् विजेपी पनि राजतन्त्रप्रति प्रष्ट भने देखिएको छैन । विजेपीको एउटा लाइन राजतन्त्र फिर्ता गराउने पक्षमा रहेको बताइन्छ भने अर्को समूह हिन्दु राष्ट्र मात्रै पुनस्र्थापित गराउने पक्षमा रहेको बताइन्छ । त्यसैले, भारत अहिले नै हिन्दु राष्ट्रको पक्षमा पनि खुलेर आउने संभावना देखिएको छैन । तर, राजतन्त्रपक्षधरहरु भने भारत आफ्नो पक्षमा भएको हुनाले नेपालमा राजतन्त्र छिट्टै फिर्ता हुने भन्दै नारा जुलुस गर्दै हिंडेकाछन् । यद्यपि भारतको कुनै पनि निकायले अहिलेसम्म राजतन्त्रको पक्षमा संकेतसम्म पनि दिएको छैन ।
भारतीय लाइनको प्रष्टताको खोजीमा राजतन्त्र पक्षधरहरु रहेका छन् । अर्कातिर नेपालमा भारतप्रति तुलनात्मक रुपमा नकारात्मक धारणा रहेको पाइन्छ । भारतको साथ खोजेर राजतन्त्र ल्याउने कोसिस भयो भन्ने सन्देश प्रवाहित भएमा पूर्व राजा ज्ञानेन्द्र शाह र उनका पक्षधरहरुको आन्दोलन नै समस्या पर्ने देखिन्छ । राजनीतिक दलहरु दबाबमा परे पनि नागरिक तहमा त्यस्तो बेला राजाप्रति सहानुभूति नहुने देखिन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस