गण्डकी, २६ फागुन : बिहानैदेखि मौसम धुम्मिएपछि हिमाल नखुल्ने पक्कापक्कीजस्तै थियो । टोड्केबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्ने रहर अधूरै रहेपनि यहाँको लेकाली हावापानी र न्यानो आतिथ्यताले सबैजना रमाएका थिए । गत शुक्रबार समुद्री सतहदेखि दुई हजार ४३० मिटर उचाइको टोड्के पुग्दा वरपरका बस्ती र डाँडापाखा बादलभित्र लुकामारी खेलिरहेका थिए ।
नौरङ्गी गुराँस फुल्ने टोड्केका स्थानीयले गुराँसका थुङ्गा हातमा टक्राए र टीका लगाएर स्वागत गरे । धवलागिरि क्षेत्रको पहिलो सञ्चार सहकारी आदर्श सञ्चार सहकारी संस्थाको प्रकाशन ‘धवलागिरि जागरण’ दैनिकको १८औँ वार्षिकोत्सव मनाउन सञ्चार उद्यमी, पत्रकारलगायतको टोली टोड्के पुगेका थिए । पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको टोड्केको पर्यटन प्रवर्द्धनमा थप टेवा पु-याउने उद्देश्यले पत्रिकाको वार्षिकोत्सव यहाँ मनाइएको थियो ।
म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सङ्गमस्थलका रूपमा रहेको टोड्के कुनैबेला खर्कका रूपमा चिनिन्थ्यो । भौगोलिक कठिनाइका कारण जोकोही आउजाउ गर्न सक्दैनथे । रघुगङ्गाको झिँ र मङ्गलाको पूर्ण गाउँका किसान गोठ राख्न र घाँसदाउरा गर्न जान्थे । विकासका पूर्वाधार धेरैपछि मात्र टोड्केमा पुग्यो । प्राकृतिक र धार्मिक महत्व बोकेको टोड्केलाई गाउँका अगुवाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना ल्याए । पाँच वर्षअघि ‘टोड्के हिल रिसोर्ट’ खुल्यो ।
विस्तारै टोड्केमा पर्यटकीय गतिविधि सुरु हुन थाले । आन्तरिक पर्यटकको रोजाइमा टोड्के पर्न थाल्यो । ३३ जना व्यववसायी मिलेर रु. तीन करोडको लागतमा रिसार्ट सञ्चालनमा ल्याएको पर्यटन व्यवसायी भीम शेरचनले बताउनुभयो । रिसोर्टमा पुग्ने पाहुना यहाँको प्राकृतिक सुन्दरतामा जति रमाउँछन् उति नै यहाँको आतिथ्यताले लोभिन्छन् । यहाँ आउने पाहुनालाई सिस्नो, सिन्की, फापरको साग, मकै, भटमास, मुलालगायत स्थानीय खानाका परिकार ख्वाउने गरेको रिसोर्ट सञ्चालक शेरचनले बताउनुभयो ।
“यहाँको मुख्य उत्पादन भनेको आलु र मुला हो, रिसोर्टमा आउने पाहुनलाई यहीँको उत्पादन ख्वाउने गर्छौँ, मासुजन्य परिकारका लागि कुुखुरा पनि रिसोर्टमै पालेका छौँ,” उहाँले भन्नुभयो । रिसोर्टमा एकदिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ ।
टोड्केको जङ्गलमा भएको सुरुङ (टोड्को)मा पहिलेपहिले गाईवस्तु अड्किने र तिनलाई बाघभालुले खाइदिने हुनाले यस ठाउँको नाम टोड्के रहन गएको किम्बदन्ती छ । सडक, सञ्चार, विद्युत्् आदिको सुविधाले पछिल्लो समय टोड्केको जनजीवन फेरिएको छ । टोड्के विकास कोषमार्फत पर्यटन पूर्वाधार निर्माण भइरहेका छन् ।
शान्त र मनोरम वातावरणमा रमाउन चाहने पर्यटकका लागि टोड्के उपयुक्त गन्तव्य रहेको रघुगङ्गा गाउँपालिका–५ झिँका वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताउनुभयो । टोड्केबाट एकसाथ गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने उहाँको भनाइ छ ।
स्वर्गद्वारी महाप्रभुलगायत सन्तमहात्माले तपस्या गरेको टोड्केको धार्मिक महत्व उत्तिकै रहेको शिवालय मन्दिरका पूजारी जनक सुवेदीले बताउनुभयो । टोड्केमा शिवालय मन्दिर र आश्रम छ, जसलाई स्वर्गद्वारी आश्रम, प्युठानको शाखाको रूपमा लिइन्छ ।
मगर जातिको बाहुल्य रहेको टोड्केमा सोरठी, सालैजो, यानीमाया, भजनकीर्तन, पञ्जेबाजाजस्ता मौलिक संस्कृति संरक्षित छन् । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको वडाध्यक्ष शेरमञ्जाले बताउनुभयो । वनभोजस्थललगायत अन्य पर्यटकीय पूर्वाधार निर्माणाधीन छन् ।
म्याग्दी सदरमुकाम बेनीदेखि टोड्के पुग्न पाँच सडकमार्ग छन् । बेनी–अर्थुङ्गे–झिँ हुँदै टोड्के १९ किमि, बेनी–अर्थुङ्गे–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के १५ किमि र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के १४ किमि दुरीमा छ । त्यसैगरी बेनी–सिम–कुहँ–पूर्णगाउँ हुँदै २९ किमि दुरीमा टोड्के पुग्न सकिन्छ । बेनी–गलेश्वर–पात्लेखत–वाखेत हुँदै १९ किमि दुरीको अर्को सडकले टोड्केलाई जोड्छ ।
पदयात्राका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार हुँदै टोड्के पुगिने पुरानो घोडेटो बाटो पनि छ । झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग छ । झिँ र पूर्णगाउँबाट एक घण्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा घरबास (होमस्टे) सुविधा छ ।
टोड्केदेखि मालिका धुरी–ठाडाखानी–कुइनेखानी– झिङखानी– चौरखानी– घ्याँसीखर्क हुँदै धवलागिरि हिमालको आधारशिविर र आइसफल हुँदै मुस्ताङको थासाङ गाउँपालिका निस्कने टोड्के–धवलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अवधारणा अगाडि सारिएको छ । म्याग्दी र मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकले परम्परागत पदमार्ग पूर्णरूपमा विस्थापित भएको अवस्थामा टोड्के–धवलागिरि पानोरमा सांस्कृतिक र धवलागिरि सेञ्चुरी पदमार्ग महत्त्वपूर्ण वैकल्पिक मार्गमा रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।
---
प्रतिकृया दिनुहोस