काठमाडौं । एमालेको मोरङ जिल्ला अधिवेशनको चुनावी प्रतिस्पर्धा र नतिजाले एमालेको आन्तरिक राजनीतिक जीवनमा केही रोचक दृश्य संकेत गरेको छ । एमालेको आन्तरिक राजनीतिमा केही दिनयता निकै रोचक परिदृश्य देखिएका छन् अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सन्दर्भमा । विगतमा एमालेभित्र एउटै गुटमा रहेर ओली र भण्डारीले सहकार्य गरेका थिए । महासचिव माधव नेपालको समयमा होस् वा अध्यक्ष झलनाथ खनालको समयमा ओली र भण्डारी एउटै गुटमा रहेका थिए ।
त्यही गुटको कारण ओलीमार्फत भण्डारीले पार्टीभित्र अवसर पनि पाउने गरेकी थिइन् । रक्षामन्त्री हुँदा होस् वा राष्ट्रपति हुँदा हरेक अवसरमा ओलीको विशेष भूमिका रहेको इन्कार गर्न सकिन्न । तर, पछिल्ला दिन जब माधव नेपाल र झलनाथ खनाल पार्टीबाट बाहिरिए त्यपछि एमालेमा भण्डारी र ओलीको दुुई धार देखिन थालेको हो । पार्टीभित्र एक कोषीय भूमिकाको अपेक्षामा रहेका ओलीका लागि तिनै भण्डारी चुनौती बनेर आइन जब ओली नेतृत्वमा थिए । त्यसैले, पछिल्ला दिनमा एमाले पार्टी भित्रको राजनीति रोचक मोडमा पुगेको देखिन्छ ।
कतिसम्म भने एमालेको सक्रिय राजनीतिमा आउनका लागि भण्डारीले चासो देखाएको भन्दै चर्चा केही वर्षदेखि चल्दै आइरहेको छ । राष्ट्रपतिको कार्यकाल रहँदै पनि यो विषय चर्चामा आउने गरेको थियो । त्यो चर्चा आजभोलि चाहिँ निकै बढेको देखिन्छ । एमाले अध्यक्ष हुने गरी भण्डारीको प्रवेश हुन लागेको चर्चा चलेको छ । त्यसैअनुसार पार्टीभित्र गुटहरुको निर्माण भइरहेका छन् । २०८१ फागुन २३ गते सम्पन्न मोरङ जिल्ला अधिवेशन अहिलेको सबैभन्दा ज्वलन्त उदाहरण हो ओली र भण्डारीका फरक दुुई गुट हुन भन्नका लागि ।
एमालेमा अध्यक्ष ओलीको लाइनबाट एउटा समूह र भण्डारीको लाइनबाट अर्को समूह चुनावी प्रतिस्पर्धामा थिए । कुनै बेला ओलीको दाहिने हात भनिएका विनोद ढकाल नै इतर समूहमा पुुगेर मोरङको जिल्ला अधिवेशनमा सक्रिय भए । इतर समूहले अजम्बर राईलाई उम्मेदवार बनाएको थियो भने संस्थापन पक्षले राजकुमार ओझालाई उम्मेदवार बनाएको थियो । ओझा स्थानीय स्तरमा लोकप्रिय नेता रहेको बताइन्छ । तर, पनि ओझालाई हराएर अध्यक्ष ओलीलाई सबक दिन ढकालले रणनीति बनाए अनुसार अजम्बर राई नै विजयी भए ।
ढकाललाई अध्यक्ष ओलीले नै गत वर्ष कोशी प्रदेश अध्यक्ष हुनबाट रोकेका थिए । ढकाललाई अध्यक्ष हुन नदिन ओलीले घनश्याम खतिवडालाई अध्यक्षमा अघि सारेका थिए । ढकालले हारे पनि चुनाव लड्ने भन्दै प्रदेश अध्यक्षको प्रतिस्पर्धामा आएका थिए । त्यस घटनाले ओलीसँग झन् धेरै दुरी बढाएको थियो । त्यसले गर्दा अहिले मोरङको जिल्ला अधिवेशनमा पनि त्यसरी नै चुनाव भएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ फागुन २६)
प्रतिकृया दिनुहोस