एकजना न्यायाधीश थिए भगवानका अनन्य भक्त । एकपटक उनको इजलाशमा एउटा चोरलाई ल्याइयो । बयान दिने क्रममा चोरले भन्यो– न्यायाधीशज्यू, तपाईंजस्तो धर्मात्मा व्यक्तिको सामुन्ने उभिएर बयान दिन पाउँदा म खुसीले गदगद् भएको छु । यो सत्य हो कि मैले चोरी गरें । तर यसमा मेरो दोष छैन । किनभने चोरीका निम्ति प्रेरणा भगवानबाट प्राप्त भएको थियो र भगवानकै आदेशबाट मैले चोरी गरेको हुँ । यसमा मेरा दुवै हातहरूको र मेरो कुनै दोष छैन ।
चोरको यस्तो बयान सुनेर त्यहाँ उपस्थित अन्य व्यक्तिहरू छक्क परेर धर्मभिरु न्यायाधीशले कस्तो फैसला गर्छन् भनेर प्रतीक्षा गर्न थाले । तर न्यायाधीश जसरी भगवानको पक्का भक्त थिए, त्यसैगरी आफ्नो सिद्धान्त र कर्तव्यप्रति पनि प्रतिवद्ध । त्यसपछि न्यायाधीशले फैसला सुनाए–चोरको भनाइ पूर्णतया मननयोग्य छ । तर जुन भगवानले उनलाई चोरी गर्न प्रेरणा दिए, तिनै भगवानको प्रेरणाबाट यो चोरलाई म दण्ड दिन्छु ।



