युनानका धर्मगुरुले घोषणा गरे कि पूरा युनानमा सुकरात सवभन्दा ज्ञानी व्यक्ति हुन् । धर्मगुरुको यो घोषणा सुनेका कतिपय व्यक्तिहरू बधाई दिन सुकरातको घर पुगे । उनीहरूको कुरा सुनेर सुकरातले भने, धर्मगुरुले यो घोषणा धेरै पहिले गर्नुपर्दथ्यो । त्यसो भएको भए मलाई खुसी लाग्ने थियो । अब त धेरै ढिलो भयो । त्यतिखेर म घमण्डले चुर थिएँ र अहिले धर्मगुरुलाई लागे जस्तै मलाई पनि म सवभन्दा ज्ञानी व्यक्ति हुँ भन्ने लाग्दथ्यो । त्यो समयमा ममा अहंकार पनि प्रभावशाली थियो कि ज्ञानको बारेमा म सोच्दा पनि सोच्दिन थिएँ । किनभने म आफूलाई महाज्ञानी सम्झन्थें । तर समयसँगै जव मेरो ज्ञान बढ्यो, समझ बढ्यो तव ममा भएको अज्ञानताको महसुस गर्न थालें । त्यसकारण तपाईंहरू धर्मगुरुसमक्ष जानुहोस् र भन्नुहोस्– सुकरात त आफूलाई अज्ञानी मान्दछ भनेर । त्यसपछि उनीहरू धर्मगुरुसमक्ष गएर सुकरातको कुरा दोहो¥याउँदै भने– ऊ त आफूलाई अज्ञानी मान्दछ र आफूलाई ज्ञानी मान्न अस्वीकार गर्दछ । उनीहरूको कुरा सुनेर धर्मगुरुले हाँस्तै भने– त्यसैले गर्दा नै मैले सुकरातलाई सवभन्दा ज्ञानी भनेर घोषणा गरेको हुँ किनभने ज्ञानी मानिसले जान्दछ कि आफूमा कति अज्ञानता छ भनेर ।




