• बुधबार-माघ-२३-२०८१

बौद्धनाथ क्षेत्रका अध्यक्षलगायतलाई हटाइँदै

 

काठमाडौं । विश्व सम्पदामा सूचीकृत बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष, सदस्यहरु र कार्यकारी निर्देशकलाई हटाउने तयारी भइरहेको चर्चा छ । समितिका पदाधिकारीलाई हटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई नेपाली कांग्रेसका स्थानीय नेताहरूले दबाब दिंदै आएका छन् । समितिमा हाल नेकपा माओवादी केन्द्रले नियुक्त गरेका राजकुमार लामा अध्यक्ष रहेका छन् । जानुका भण्डारी श्रेष्ठ, रग्वा शेर्पा र पशुपतिनाथ खतिवडा सदस्य रहेका छन् । शान्तिमाया तामाङ भने समितिको कार्यकारी निर्देशक रहेकी छिन ।


नेपाली कांग्रेसका स्थानीय नेताहरूले मन्त्री पाण्डे र कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै तत्कालीन मन्त्री सुदन किरातीले समितिमा  नियुक्ति गरेका पदाधिकारीलाई हटाउन दवाव दिएको बताइएको छ । उनीहरुले अध्यक्ष लामा, कार्यकारी निर्देशक तामाङलगायत सदस्यहरु भण्डारी, शेर्पा र खतिवडालाई हटाएर स्थानीय कांग्रेसका नेताहरूलाई नियुक्ति गर्न माग गरेको खबर छ । सभापति देउवाले पनि मन्त्री पाण्डेलाई समितिका सदस्य, अध्यक्ष र कार्यकारी निर्देशकहरूलाई हटाएर नयाँ नियुक्ति गर्न निर्देशन दिइसकेको देउवा निवास बुढानीलकण्ठ स्रोतले जानकारी दिएको छ ।


केही साताअघि मात्र मन्त्रालयमा कार्यरत सचिव डा. गणेश पाण्डेयलाई हटाएर मन्त्री पाण्डेले महालेखा नियन्त्रक कार्यालयमा नियन्त्रक रहेका सचिव विनोद प्रकाश सिंहलाई भित्र्याएका थिए । मन्त्री पाण्डेले पनि समितिका हालका सदस्य, अध्यक्ष र कार्यकारी निर्देशकहरूलाई हटाएर नयाँ नियुक्ति गर्ने प्रक्रियाया अगाडि बढाउन सचिव सिंहलाई निर्देशन दिइसकेको स्रोतले जनाएको छ । मन्त्री पाण्डेको आदेश तत्काल कार्यान्वयन गर्दै पदाधिकारीलाई हटाएर नयाँलाई नियुक्ति गर्दा अदालतमा मुद्दा पर्नसक्ने अडकलबाजी गरेर सचिव सिंहले अलमल गरिरहेको अनुमान मन्त्रालय स्रोतले गरेको छ ।


यही कारण मन्त्री पाण्डेको आदेश तत्काल कार्यान्वयन हुन नसकेको बताइएको छ । तरपनि, बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र कार्यकारी निर्देशक छिट्टै हटाइने र नयाँलाई नियुक्ति गर्ने तयारी भने भित्रभित्रै भइरहेको जानकारी स्रोतले दिएको छ । बौद्धनाथ क्षेत्रको पूर्वाधार विकास तथा संरक्षणका लागि मन्त्रालयले अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक रहेको पाँच सदस्यीय समिति गठन गर्दै आएको छ । उक्त बौद्धनाथले गुम्बाको विकास र संरक्षणको कार्य गर्दै आएको र पुजाआज भने बौद्वनाथ घ्याङ गुठीले गर्दै आएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ माघ २१) 
 

प्रतिकृया दिनुहोस