• बुधबार-माघ-२३-२०८१

'म पशुपति कोषको मिडिया एड्भाईजर हुँ भन्दै हिंडेको छैन'

  साँघु न्यूज डटकम नामक अनलाईन सञ्चार माध्यमबाट मिति २०८१।१०।११ गते ‘पशुपति विकास कोषका नक्कली संचालक, भारतीय दूताबासलाई समेत झुक्याए’ शीर्षकमा प्रकाशित सामाग्री उपर मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

  पशुपति विकास कोषका नक्कली संचालक, भारतीय दूताबासलाई समेत झुक्याए


प्रकाशित समाचारमा पशुपति विकास कोषका नक्कली संञ्चालक, भारतीय राजदुतावासलाई समेत झुक्याए भन्ने शीर्षकमा मेरो फेसबुकमा अपलोड गरिएको फोटोलाई समाचारको मुख्य फोटोमा र आराध्यदेव पशुपति क्षेत्र विकास कोषको समेत नक्कली संचालक भनेर ‘एकजना व्यक्तिले धेरै ठाउँमा ढाँटेको तथ्य भेटिएको छ ।

 

ती व्यक्तिले कोषको संचालक भनेर धेरै सरकारी निकायदेखि संघ, संस्था र भारतीय दूताबासलाई समेत गुमराहमा पार्दैआएको पाइएको हो । कृष्णमुरारी पुडासैनी नामक एकजना ब्यक्तिले पशुपति क्षेत्र विकास कोषको संचालक हुँ भन्दै काठमाडौंस्थित भारतीय दूताबासलाई समेत भ्रममा पारेको प्रमाण फेला परेको छ ।

 

निजले विभिन्न निकायमा कहीँ कोषको संचालक त कहीँ कोषको मिडिया एडभाइजरको रुपमा चिनाउने गरेको स्रोत बताउछ ।’ भन्ने व्यहोरासहित अन्य मेरो नामसँग जोडिने गरी मिथ्या कुरा राखिएको रहेछ । जुन कुरा भ्रामक हो । मैले कही“कतै पशुपति कोषको मिडिया एड्भाईजर, सदस्य हुँ भन्दै हिंडेको छैन । त्यसो भन्ने रहर पनि कदापि छैन ।


विगतको समयमा पनि भारतीय राजदुतावास अन्तर्गतको कार्यक्रमहरुमा मलाई सञ्चारकर्मीको हैसियतले निमन्त्रणा गर्दै आएको छ । यसपटक पनि मलाई यसै कारण निमन्त्रणा दिएको छ । तर कसले कुन निमन्त्रणा पत्रको फोटो खिचेर, किर्ते गरेर बनावटी झुठो प्रमाण बनाई मलाई गलत बनाउने उद्देश्यले, मेरो इज्जतमा आँच आउने गरी मेरो मानहानी मेरो अपमान हुने गरी फौजदारी अपराध कानुन समेतले निषेध गरेको विषयलाई मेरो विरुद्धमा समाचार बनाउने गरी सूचना दिनु आपराधिक कार्य हो ।

 

जुन समाचारमा मेरो बारेमा उल्लेख भएका कुरालाई निश्चित नै नगरी, मलाई सुनुवाईको मौका नै नदिई एकोहोरो प्रसारित गरेको समाचारले प्राकृतिक न्यायको सिद्धान्त विपरीत र संविधान प्रदत्त मेरो मौलिक हकमा समेत आघात परेको छ । यस्तो समाचारलाई कुनै निश्चित नै नगरी प्रकाशन गर्नु पत्रकारिताको धर्म होईन, यो पत्रकार र सञ्चार माध्यमको आचार संहिता विपरीत छ ।


म कानुन र सुशासन, विधिको शासनको पक्षमा बोल्ने र लेख्ने व्यक्ति हुँ । उक्त समाचारमा उल्लेख गरिएको प्रमाण कागज झुठा हो । कसैले पनि झुठा प्रमाण बनाउन नहुने र उक्त झुठा प्रमाणलाई सञ्चारमाध्यमले समेत निश्चित नगरी प्रकाशन गर्न हुँदैन । झुठा प्रमाण बनाउन नहुने र यसलाई प्रयोग गर्न नहुने सार्वजनिक न्याय विरुद्धको कसुर हो ।

 

मुलुकी अपराध संहिता, २०७४ ले यसलाई स्पष्ट पारेको छ । तसर्थः मेरो बारेमा लेखिएको समाचार झुठा र उक्त बनावटी प्रमाण दिने स्रोत मेरो व्यक्तिगत रिसिईवी हुनेहरुको कारण हुन सक्ने व्यहोरा उल्लेख गर्दै आदरणीय सञ्चारकर्मी सम्पादकज्यूले उक्त समाचारलाई सच्याई  खण्डनका लागि आग्रह गर्दछु ।
–कृष्णमुरारी पुडासैनी

 

प्रतिकृया दिनुहोस