काठमाडौं । चितवनको सहारा बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले हिरासतमा पठाउन आदेश दिएको छ । २०८१ माघ २३ गते बुधबार जिल्ला अदालत चितवनले लामिछानेको मुद्दामा बहस नसकिएकाले न्यायिक हिरासतमा राख्न आदेश दिएको हो ।
न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक बहस नसकिएपछि २०८१ माघ २४ गते बिहीबार उपस्थित गराउने गरी अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीसँगै पठाएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए ।
सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा लामिछानेसहित ३२ जनाविरूद्ध माघ २२ गते मंगलबार मुद्दा दायर भएको थियो । चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले लामिछानेलाई माघ २४ गते बिहीबार बिहान १० बजे अदालत उपस्थित गराउने गरी न्यायिक हिरासतमा राखिएको बताए ।
'थुनछेक बहस नसकिएकाले अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएपछि प्रहरीले उहाँलाई हामीले हिरासत राखेका छौं,' महतोले भने ।
प्रतिकृया दिनुहोस